


कञ्चनपुर, १० फागुन : कञ्चनपुर कारागारका १३ कैदी कैद मिनाहा नभएको भन्दै तीन दिनदेखि कारागारभित्रै आमरण अनसनमा बसेका छन् । कारागार र जिल्ला प्रशासन कार्यालयले कैद मिनाहाका लागि सिफारिस साथ कारागार व्यवस्थापन विभागमा पठाएका फाइल गायब गरेको आरोप लगाउँदै कैदीहरू आमरण अनसनमा बसेका हुन् ।
प्रजातन्त्र दिवसका अवसरमा आधा सजाय काटिसकेका र चालचलन राम्रो रहेका कैदीहरूको बाँकी कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभागमा सिफारिस गरिएको थियो ।
कैद मिनाहाका लागि सिफारिस भएकामध्ये सबै भन्दापछि फाइल पठाएका कर्तव्य ज्यान मुद्दाका नरबहादुर विष्ट मात्रै रिहा भएपछि कैदीहरू कारागार व्यवस्थापन विभागप्रति आक्रोसित भएका हुन् ।
तेह्र जना कैदीले गरेको आमरण अनसनलाई कारागारका अन्य कैदीहरूले समेत समर्थन जनाएका छन् ।
कैदी अमरबहादुर सिंहले यहाँबाट कैद मिनाहाका लागि सिफारिस गरिएका सबै जना रिहा नहँुदासम्म र सरकारबाट स्पष्ट जवाफ नआउँदासम्म आमरण अनसन कार्यलाई जारी राखिने बताउनुभयो ।
कारागारका प्रमुख धनबहादुर चन्दले यसबारे कारागार व्यवस्थापन विभागलाई जानकारी गराइसकेको बताउनुभयो ।
अनसनमा बसेका कैदीहरूको स्वास्थ्य अवस्थासमेत नाजुक बन्दै गएको बताइएको छ ।