


काठमाडौँ, १० फागुन : अयोग्य लडाकुहरुको संगठन बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय सङ्घर्स समितिले आफूहरुलाई जीविकोपार्जनका लागि सरकारले उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको छ । समितिले आज पत्रकार सम्मेलन गरी मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न जीवनको प्रवाह नगरी योगदान पु¥याएका जनमुक्ति सेनामध्ये केही सेनालाई अयोग्य भन्दै बेवास्ता गरिएकाले अविलम्ब उचित व्यवस्थापन गर्नुपर्ने माग गरेको हो ।
समितिका महासचिव कृष्णप्रसाद दङ्गाल ‘किरण’ ले सहमति भएको एक महिना बितिसक्दा पनि नेपाल सरकार सहमति कार्यान्वयन गर्नुको सट्टा वार्तापछि आफूहरुलाई कमजोर दृष्टिले हेरेको भन्दै अनिश्चितकालीन फागुन २१ गतेदेखि नेपाल बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले सरकारले आफ्नो मागका बारेमा मन्त्रिपरिषद्बाटै ठोस निर्णय नगरेसम्म आगामी दिनमा वार्ता आह्वानको स्वीकार नगर्ने भन्दै अनिश्चितकालीन बन्दका क्रममा नेपाल सरकार आफ्नो मागप्रति गम्भीर भई सम्बोधन गर्नुको अलावा दमन गर्ने नीति अख्तियार गरेको खण्डमा पूर्णरुपमा भूमिगत भई त्यसको प्रतिकार गर्ने बताउनुभयो ।