


फाइजावाद (अफगानिस्तान), १० फागुन : अफगानिस्तानको राजधानी काबुलदेखि ३१५ किलोमिटर उत्तरपूर्वमा पर्ने बादाक्षान प्रान्तमा चिसोसँगै सम्बन्धित रोगका कारण थप २४ जना बालबालिकाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।
रागहिस्तान र यावान जिल्लामा कठाङ्ग्रिने जाडो र हिमपातका कारण सुरु भएको रोगबाट निर्दोष बालबालिकाको ज्यान गएको प्रान्तीय परिषद्का प्रमुख आटिकले सिन्ह्वा समाचार समितिलाई जनाएका छन् ।
यस प्रकारको हिमपातबाट मर्ने बालबालिकामा रागहिस्तान जिल्लाको बाशान गाउँको १३ जना र यावान जिल्लाको दाराङ्ग गाउँको एघारजना बालबालिका रहेका छन् ।
यस क्षेत्रमा गत चार दिनदेखिको चिसो मौसम र स्वास्थ्य उपचारमा कमीको कारण ती बालबालिकाले ज्यान गुमाउनु परेको समाचारमा उल्लेख छ । हिमपात भएको सो इलाकामा २.५ मिटरसम्म हिउँ भएको र त्यहाँबाट स्वास्थ्य केन्द्रमा पुग्नको लागि हिँडेर दुईघण्टा लाग्ने बताइएको छ ।
प्रान्तीय राजधानी फाइजावादमा बुधबार पनि लगातार हिमपात हुनुको साथै त्यस प्रान्तको अन्य जिल्लामा पनि हिमपात भइरहेको समाचारमा उल्लेख छ ।