


डोल्पा, ४ साउन
अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी डोल्पाको एकै घरका १० जना बेपत्ता भएका छन् । बाढी र पहिरोले १५ घर बगाएका छन् । डोल्पाको ल्ह गाउँ बिकास समिति-५ स्थित कपरगाड गाउँमा पहिरोसँगै खहरे खोलामा आएको बाढीले बगाएर स्थानिय लालबहादुर रोकायसहित उहाँका श्रीमती, आमाबाबु, छोराछोरी, भाईबहिनीलगाएत १० जना बेपत्ता भएका हुन् ।
सोमबार राति १० वटा र मंगलबार बिहान ५ वटा गरी १५ वटा घर बगाएको हो ।
बाढीले गाउँमा रहेको इलाका प्रहरी कार्यालयको भवन समेत बगाएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी नयाव उपरिक्षक नरेशमान श्रेष्ठले बताए । अन्य स्थानियबासी र प्रहरी भने बाँच्न सफल भएको बताइएको छ ।
बाढीले बगाएका १५ वटा घरका सयौँ पशुचौपाया र लाखौँ मुल्यको भौतिक सम्पत्ती क्षति भएको बताईएको छ । घटनास्थलमा उद्धारका लागि खटाङबाट नेपाली सेना र नेपाल प्रहरीको टोली पुगेको जनाईएको छ ।