


दार्चुला, २० भदौ
विगत एक हप्तादेखि लगातार परिरहेको वर्षाका कारण दार्चुलाका विभिन्न ठाउँमा पहिरो जाँदा ३६ परिवार विस्थापित भएका छन् । दार्चुला सदरमुकामबाट २३ कोश उत्तरपूर्वमा पर्ने खण्डेश्वरी गाविसका १९ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । विगत एक हप्तादेखि लगातार परिरहेको वर्षाका कारण खण्डेश्वरी गाविस–३ खिर्सामा पहिरो जाँदा ती घरपरिवार विस्थापित भएका हुन् । खण्डेश्वरीको सो बस्तीमाथिबाट पहिरो गइरहेको छ भने तलबाट क्षतिगाड खोलाले दैनिक कटान गरिरहेको छ ।
यसरी बस्तीको तल र माथिबाट पहिरो जान थालेपछि सो बस्ती खतरामा परेको गाविस सचिव लक्ष्मणसिह धामीले बताए । उक्त बस्तीका ती घरपरिवार अहिले सोही गाविस–४ मेलढुङ्गामा सरेका छन् । ‘बस्तीपुरै भाँसिदैछ, जमिन बचाउन नसकिए पनि ज्यान त बचाउनु प¥यो’ स्थानीय धनसिह धामी बताउँछन् ।
सो बस्तीलाई सार्न स्थानीय क्लबहरु, समाजसेवी, प्रहरी चौकी र उद्धार समितिले सहयोग गरिरहेका छन् । सोही गाविस–२ राताभिटाका करिब १५ परिवार पनि विस्थापित भएका छन् ।
सो बस्तीको वरपरबाट पहिरो गइरहेको छ । बस्ती पहिरोको बीचमा परेकाले कुनै पनि बेला भासिनसक्ने अवस्थामा रहेको स्थानीय कपुरसिह धामी बताउँछन् ।
विगत एक हप्ताअघिबाट यी दुवै बस्ती कटानको चपेटामा परेका छन् । सरकारी स्तरबाट कुनै किसिमको सहयोग नभएको स्थानीय बासिन्दाहरुको गुनासो रहेको छ । त्यसैगरी दार्चुला सदरमुकामबाट २६ कोष उत्तरपूर्वमै पर्ने घुसा गाविसका दइवटा वडाहरु पहिरोको चपेटामा परेका छन् ।
घुसा गविस–७ लिथिबाट आएको पहिरोले सो वडा र वडा नं ८ पाटुलाई क्षति पु¥याइरहेको छ । गत शुक्रबार आएको पहिरो हालसम्म रोकिएको छैन । लगातार आइरहेको पहिरोका कारण वडा नं ८ का स्थानीय बासिन्दा हरकसिह कार्कीको परिवार पहिरोका कारण विस्थापित भइसकेको छ भने अन्य बासिन्दा पनि विस्थापित हुनसक्ने सम्भावना रहेको स्थानीय पत्रकार नरेन्द्रसिह कार्की बताउँछन् ।
त्यसैगरी सदरमुकाम खलङ्गाबाट १० कोष उत्तरमा पर्ने सुन्सेरा गाविसका चार वडामा पहिरो गएको छ । सुन्सेरा गाविसको वडा नं १, २, ३ र ९ मा पहिरो गएको छ । पहिरोका कारण वडा नं १ मा अमरसिह कुँबर र गगनसिंह कुँबरको परिवार विस्थापित भएका छन् ।