


पाँचथर, २४ पुस : पाँचथरको याङनाम र नाङ्गीनमा निर्माण गरिने हेंवा खोला ‘ए’ जलविद्युत आयोजनाबाट २६ मेघावाट विद्युत उत्पादन गर्न सकिने पछिल्लो सर्वेक्षणले देखाएको छ । सो खोलामा सञ्चालन गर्न लागिएको परियोजनामा पाँचथर पावर कम्पनीले गरेको अघिल्लो सर्भेमा १२ मेघावाट मात्र विद्युत उत्पादन क्षमताको सर्भे गरे पनि योजनाको पछिल्लो डिटेल सर्भेले १४ मेघावाट क्षमता बढाएर २६ मेघावाट विद्युत उत्पादनको लागि अन्तिम प्राविधिक सर्भे निकालेको हो ।
योजना सञ्चालनको लागि पाँचथर हाइड्रोपावर कम्पनी प्रालिले स्थानीयस्तरबाट जम्मा लागत रकमको पाँच प्रतिशत रकम स्थानीयस्तरबाट अनिवार्य सेयर सङ्कलन गर्नुपर्ने र सो रकम सङ्कलनका लागि पूर्व सांसद वसान्तकुमार नेम्वाङको अध्यक्षतामा आगेजुङ विद्युत कम्पनी प्रालि स्थापना गरेको कम्पनीका प्रशासन अधिकृत कृष्ण अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार आयोजनाले याङनाम, भारपा र नङिन गाउँ विकास समितिका स्थानीयवासी सबैभन्दा बढी प्रभावित हुने भएकाले सो क्षेत्रका बासिन्दालाई सेयर बिक्रीको लागि सूचना जारी गरिएको भएपनि त्यहाँका बासिन्दाले लगानी डुब्ने भयले सेयर खरिदमा खासै चासो देखाएका छैनन् ।
कम्पनीले जम्मा लगानीको पाँच प्रतिशत सेयर सङ्कलनको लागि पूर्व सांसद वसन्तकुमार नेम्वाङको अध्यक्षतामा आगेजुङ विद्युत कम्पनी प्रालीको स्थापना गरेको छ । कम्पनीमा ४० जना सेयर होल्डर रहेका छन् ।
सेयर खरिद बिक्री सम्बन्धमा याङनाम गाविसका निवर्तमान गाविस अध्यक्ष पर्शुराम जवेगुले स्थानीयवासीबाट सेयर सङ्कलन गर्ने सम्बन्धमा कुनै पनि जानकारी नपाएको तर रु दुई लाखसम्म रकम उठाउने हल्लामात्र सुनेको बताए ।
कम्पनीका अनुसार सडक निर्माण कार्य सम्पन्नपछि यही आर्थिक वर्षबाट सुरुङ निर्माण कार्य सुरु गर्ने लक्ष्य छ ।