


हुम्ला, २७ चैत : गत साउनदेखि तलब नपाएको भन्दै हुम्लाका शिक्षक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले चैत २५ देखि बैशाख १४ सम्म विरोध कार्यक्रम तय गरेका छन् । आर्थिक वर्ष ०६६/०६७ देखि १८ नम्बरको खातामा रहेको तलब भत्ता पाउनुपर्ने माग राखी सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति हुम्लाका अध्यक्ष गङ्गाप्रसाद भट्टले जानकारी दिए ।
सङ्घर्षका कार्यक्रमहरूमा ०६७ चैत २५ देखि ०६८ वैशाख १४ गतेसम्मका लागि विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ । आन्दोलनका घोषित कार्यक्रममध्ये गत चैत २५ जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन, शिक्षा मन्त्रालय, विभाग, अर्थमन्त्रालयलगायत निकायहरुमा ज्ञापनपत्रसमेत पठाइएको छ ।
शिक्षकहरूले सार्वजनिक गरेको आन्दोलनले हुम्लाका सबै सरकारी विद्यालयहरू बन्द भई विद्यार्थीको पठनपाठन ठप्प हुने र जिल्लामा भर्खरै सुरु हुन लागेको जनगणना कार्यसमेत प्रभावित हुने भएको छ ।