विराटनगर, १८ माघ : राजस्व चुहावट नियन्त्रण गर्र्न भन्सार विभागले विराटनगर भन्सार कार्यालय परिसरमा इन्टरनेट प्रोटोकल क्यामरा जडान गरिएको छ । भन्सार क्षेत्रमा ११ थान आइपी क्यामेरा जडान गरी सञ्चालनमा ल्याएको हो । इन्टरनेट प्रोटोकल क्यामराले चोरी पैठारी नियन्त्रण गर्नुका साथै भन्सार कर्मचारीहरुको अनियमिताको नियन्त्रण गर्ने र शङ्कास्पद क्रियाकलापको रेकर्डसमेत भएकाले सो क्यामरा जडान गरिएको बताइएको छ ।
उर्लाबारी, १७ माघ : बेश्यावृत्ति गर्ने, गराउने आरोप लागेका यहाँका होटल व्यवसायीहरूले नै बेश्यावृत्तिको विरोध गरेका छन् । होटल तथा पेय पदार्थ व्यवसायी सङ्घ उर्लाबारीको १३ आँैं स्थापना दिवसको अवसरमा आज मोरङको उर्लाबारीमा आयोजित कार्यक्रमका वक्ताहरूले होटललाई स्वच्छ व्यवसायका रूपमा सञ्चालन गर्न सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याए ।
विराटनगर, १४ माघ : लोडसेडिङका कारणले यहाँका फलामे रड उद्योगहरुको उत्पादनमा ५० प्रतिशतले कटौती भएको छ । लोडसेडिङले उत्पादित फलाम रडको मूल्यमा समेत वृद्धि भएको सम्बन्धित उद्योगबाट थाहा भएको छ । अहिले बजारमा प्रति क्विन्टल रु सात हजार ५०० देखि रु आठ हजारमा फलामे रड बिक्री भइरहेको छ ।
विराटनगर, १० माघ : पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धिको विरोधमा सोमबार विराटनगरमा ‘सभासदहरुको श्राद्ध’ गर्ने युवा आज पक्राउ परेका छन् । धरान रोडस्थित पिपलचोकमा सडक जाम गरेर बसेका स्थानीयवासीलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको हो ।
विराटनगर, २७ पुस : विराटनगर भन्सारबाट आर्थिक वर्ष २०६७/०६८ मा ३० हजार ३२९ मेट्रिक टन सुपारी आयात भएकोमा चालु आर्थिक वर्ष ६ महिनामा आठ हजार १९८ मेट्रिक टन मात्र सुपारी आयात भएको छ । चालु आर्थिक वर्षमा आयात भएको सुपारीको परिमाण हेर्दा आर्थिक वर्ष पूरा हुँदासम्म १५ हजार मेट्रिक टन ननाघ्ने देखिन्छ ।