सोलुखुम्बु, २५ असोज : नेपालका लागि भारतीय राजदूत राकेश सूदको सुरक्षामा खटिएका प्रहरी जवान राजन राउतको लेक लागेर आज बिहान ४ बजे मृत्यु भएको छ । उनी चौरीखर्क इलाका प्रहरी कार्यालयबाट लुक्लामा खटिएर आएका थिए । प्रहरी नायब उपरीक्षक सुदामकुमार सिजापतिका अनुसार टाउको दुख्ने, बान्ता हुने, पेट दुख्नेलगायतका लक्षण देखापरेपछि उनलाई स्थानीय पासाङ ल्हामु निकोल निकी अस्पताल लुक्लामा भर्ना गरिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
सोलुखुम्बु, २१ असोज : भारतीय राजदूत राकेश सुदले भारतमा रहेका ५० लाख नेपालीलाई फर्काउने धम्की दिएका छन् । हिजो जुत्ता र ढुंगा खाएपछि आक्रोशिल सुदले यस्तो बताएका छुन् । ओवादीका पोलिटब्युरो सदस्य तथा सभासद गोपाल किराँतीले आफूलाई भारतीय राजदूतले भारतमा रहेका ५० लाख नेपालीलाई फिर्ता गर्ने धम्की दिएको दाबी गरेका छन्। जुत्ता प्रहारपछि किराँती र राजदूत राकेश सुदबीच भएको गोप्य कुराकानीमा यस्तो धम्की दिएको उनले बताए।
सोलुखुम्बु, २० असोज : भारतीय राजदूत राकेश सुदमाथि जुत्ता प्रहार भएको छ । सुदलाई माओवादी कार्यकर्ताले सोलुखुम्बुको एक कार्यक्रममा सहभागी हुन गएका बेला आज दिउँसो जुत्ता प्रहार गरेका हुन् । माओवादी नेता गोपाल किराँतीको नेतृत्वमाउनीमाथि जुत्ता प्रहार गरिएको बताइएको छ । सुदमाथि माओवादी कार्यकर्ताले ८ जोर जुत्ता प्रहार गरेका थिए । माओवादी कार्यकर्ताले सुदलाई कालोझण्डा देखाउँदै उनीविरुद्ध कडा नाराबाजीसमेत गरेका थिए । बिबिसीका अनुसार सुदलाई माओवादी कार्यकर्ताले ढुंगासमेत हानेका थिए ।
सोलुखुम्बु, ९ असोज : भारतीय दूतावास र जिल्ला विकास समिति सोलुखुम्बुबीच जिल्लास्थित खुम्जुङ गाविसको खुम्जुङ र कुँडे गाउँमा खानेपानी परियोजनाका लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत रु तीन करोड ९५ लाख भारतीय अनुदान सहयोग प्रदान गर्ने सहमति भएको छ ।