खोटाङ, १९ पुस : खोटाङको नेर्पा–६ स्थित स्थानीय जङ्गलको ओडारमा प्रहरीले आज बिहान हतियार फेला पारेको छ । जङ्गलमा लुकाएर राखिएको अवस्थामा विशेष सुराकीको आधारमा नुनथला प्रहरी चौकीबाट गएका प्रहरीको गस्ती टोलीले सर्ट मेसिनगन (एसएमजी) एक थान, सोको राउन्ड चार थान, म्यागजिन एक थान र नुनथला प्रहरी चौकीबाट लुटिएको थ्रीनटथ्रीको राउन्ड ५४ थान फेला पारेको हो । नुनथला चौकीबाट लुटिएको गोली फेला परेकाले किराँत जनवादी वकर्स पार्टीले सो हतियार लुकाएर राखेको हुनसक्ने अनुमान गरिएको छ ।
खोटाङ, १४ पुस : केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण खोटाङका अधिकांश विद्यालयमा विद्यार्थी कम हुन थालेका छन् । यहाँस्थित लेकाली क्षेत्र र हिमालको हावाले भेट्ने विद्यालयहरुमा विद्यार्थीको उपस्थिति न्यून हुन थालेका हुन् । उच्च भू–भागहरुमा तुषारो पर्न थालेपछि, विद्यार्थीहरु विद्यालयमा कम हुन थालेका सम्बन्धित विद्यालयले जनाएका छन् । 'भौतिक पूर्वाधारबाट पछि परेका अन्य प्राथमिक विद्यालयमा पनि विद्यार्थी कम उपस्थित हुने गरेको छ' सुर्के प्रावि रतन्छाका प्रअ हरिकुमार राईले भने ।
विमानमा १९ यात्रु र ३ चालकदलका सदस्य
खोटाङ, २९ मंसिर :लामिडाँडाबाट काठमाडौं उडेको तारा एअरको ९एन-एएफएक्स ट्विनअटर जहाज हराएको छ । दिउँसो तीन वजेर आठ मिनेट जाँदा उडेको जहाज हराएको हो । प्रहरी नायव उपरीक्षक टेकवहादुर तामाङका अनुसार एक विदेसीसहित १९ यात्रु सवार थिए । उनीहरु हलेसी आएका तीर्थालु हुन् । चार्टर गरिएको उक्त जहाजमा क्याप्टेन एआर शाक्य, पाइलट सचिन्द्र श्रेष्ठ र एअर होष्टेज एस गुरुङ थिए । यसैगरी टिआर तामाङ, जी शेर्पा, के शेर्पा, एस तामाङ, एस तामाङ, आरटी तामाङ टी जी लामा, के डव्लु लामा, पी तामाङ, के एन लामा, जेड डि सेर्पा, एल डव्दु सेर्पा, एस वि लामा, टी सेर्पा, मिस टी वाई शेर्पा, पी डव्लु तामाङ, टी वी तामाङ, टी डव्लु सेर्पा र राष्ट्रियता नखुलेका छोडेक केल्साङ्ग हराएका हुन् ।
खोटाङ, २८ मंसिर : पूर्वी पहाडी जिल्लाबाट भूमिगत सङ्गठन समाप्त भएको भनिए भूमिगत सङ्गठनको सक्रियता बढ्दै गएको छ । भूमिगत सङ्गठनको अस्तित्व समाप्त भएको खबर सञ्चारमाध्यममा आएलगत्तै ती सङ्गठनको सक्रियता बढेर गएको हो । नेपाल प्रहरीका क्षेत्रीय प्रमुख डिआइजी भीष्म प्रसाईंले केही समयअघि सञ्चार माध्यममार्फत पूर्वी पहाडी जिल्लाबाट भूमिगत सङ्गठन समाप्त भएको अभिव्यक्ति दिएका थिए । छुट्टै जातीय स्वायत्त राज्यको माग गर्दै पूर्वी पहाडी जिल्लाहरूमा भूमिगत सङ्घर्ष गर्दै आएको किराँत जनवादी वर्कर्स पार्टी पुनः सक्रिय हुँदै सरकारी निकाय र गाविस सचिवहरुलाई चन्दा माग गरी पत्र पठाउन थालेको छ ।
खोटाङ, १० मंसिर : खोटाङमा यो
वर्ष अलैँची उत्पादनमा कमी आएको छ । लामो समयको खडेरी र छिर्केफुर्के
भाइरसजन्य रोगले अलैँची उत्पादनमा कमी आएको हो । अलैँची उत्पादन सङ्घका
अध्यक्ष वीरबहादुर तामाङका अनुसार यसवर्ष अलैँचीको उत्पादनमा ८० प्रतिशतले
कमी आएको छ । जिल्लाको फेदी, पाथेका, खार्तम्छा, बाँस्पानी, बाक्सिला,
सुङ्देल, राखावाङदेल, बाकाचोल, खार्मी, जालपा, बाँझेच्यानडाँडा,
निर्मलीडाँडा, रतन्छा, टेम्मा, नेर्पा, खिदिमा, सावाकटहरे गाविसमा अलँैची
उत्पादनमा कमी आएको हो ।