लहान, २५ फागुन : अशिक्षा तथा जनचेतनाको अभावका कारण सिरहा जिल्लामा वर्षभरिमा १० जना महिला बोक्सीको आरोपमा प्रताडित भएकी छन् । ओरेक नेपालद्वारा आयोजित एक कार्यक्रममा वर्षभरिमा सिरहा जिल्लामा भएका १५१ महिला हिंसाका घटनामध्ये १० महिलाले बोक्सीको आरोपमा यातना खेपेका छन् । प्राप्त तथ्याङ्कअनुसार बोक्सीको आरोपमा १०, घरेलु हिंसा एक, बलात्कार चार, सामूहिक बलात्कार एक, बलात्कारको प्रयास दुई, यौन दुई, मानसिक यातना दुई, बहुविवाह १४, अन्य १४ वटा गरी १५१ वटा महिला हिंसाका घटना भएको छ ।
लहान, १९ फागुन : सिरहा जिल्लाको महनौर गाविसअन्तर्गत बुढियाचाप बस्ने रामप्रित महतोको श्रीमती मन्तुरियादेवी महतोको हत्यामा संलग्न रहेको आरोपमा निजकी देवर जलेश्वर महतोलाई पक्राउ गरी प्रहरीलाई बुझाइएको छ । रामप्रितका भाइ जलेश्वरलगायत पाँचजनाले रामप्रितको श्रीमती मन्तुरियालाई कुटपिट गरी हत्यापछि आँपको रुखमा झुन्डाई दिएका थिए । हत्यापछि फरार रहेकामध्ये जलेश्वरलाई मृतक मन्तुरियाका काका कुसुम महतो र बाबु शौडीलाल महतोले गागन खोलाबाट पक्राउ गरी प्रहरीलाई बुझाएका हुन् ।
सिरहा, १३ फागुन : सिरहाको हनुमाननगर-१ कुरबामा एक जना जग्गा व्यापारीको गोली हानी हत्या गरिएको छ। सशस्त्र समूहले गए राति भवानीपुर-१ निवासी ३८ वर्षीय अकबुल मियाँलाई गोली हानी हत्या गरेका हुन्। उनको छातीमा गोली लागेको प्रहरीले बताएको छ। लहानबाट स १ प २६८७ नम्बरको मोटरसाइकलमा घर भवानीपुर जाँदै गर्दा बाटोछेउकै गहुँ खेतमा ढुकेर बसेका सशस्त्र समूहले मियाँलाई नियन्त्रणमा लिएर हत्या गरेको प्रहरीले जनाएको छ।
लहान, ६ फागुन : प्रहरीको सर्वाधिक खोजीमा रहेका तराइमा सशस्त्र भूमिगत समूहका दुई कमान्डरलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गोइत नेतृत्वको अखिल तराइ मुक्तिमोर्चाका सप्तरी जिल्ला इन्चार्ज उमेश भनिने २२ वर्षीय अम्लेश यादव र मधेस राष्ट्र जनतान्त्रिक क्रान्तिकारी समूहका सिरहा जिल्ला कमिटी सदस्य अर्जुन भनिने ३८ वर्षीय अमरेन्द्र यादव रहेका छन् ।
सिराहा, १३ माघ : एउटै विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थीले सहपाठी छात्राको हत्या गरेको विषयलाई लिएर स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि सिरहा तनावग्रस्त बनेको छ । । सिरहाको चन्द्रलालपुरस्थित जनता उच्च माविकी छात्रा पुनमकुमारी सिंहको सोही विद्यालयमा अध्ययनरत सन्तोष चौधरीले हत्या गरेका थिए। विद्यालयको गेटमा उभिरहेकी कक्षा एघारमा अध्ययनरत पुनमलाई विहीबार विहान चौधरीले छुरा प्रहार गरेका थिए । हत्यापछि फरार रहेका चौधरीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।