राजविराज, ८ मंसिर : शिक्षक सरुवा सम्वन्धी विवादले उग्ररुप लिए पश्चात सप्तरीको तरही गाविसस्थित जनता मावि तरहीमा स्थानिय केहि व्यक्तिहरुले विद्यालयका प्रअ तथा एक जना शिक्षकलाई कुटपिट गर्नुको साथै विद्यालय कार्यालयको भवनमा समेत तोडफोड गरेका छन् । कुटपिटवाट घाइते भएका विद्यालयका प्रधानाध्यापक विजयकुमार राय र शिक्षक कुमरलाल रायको हाल राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भईरहेको छ । विद्यालयका निलम्वीत व्यवस्थापन समिति अध्यक्ष शोभानन्द रायको नेतृत्वमा आएकाहरुले आफुहरुमाथि कुटपिट गरेको प्रअ रायको आरोप रहेको छ ।
सप्तरी, ८ मंसिर : माओवादी सशस्त्र द्वन्दको क्रममा विस्थापित भएका सप्तरीको विभिन्न छवटा छोटी भन्सार कार्यालय अझै पुनर्स्थापित हुननसक्दा राजस्व असुलीमा कमी आएको छ । सशस्त्र द्वन्दको क्रममा विस्थापित भएको जिल्लाको बनैनियाँ, छिन्नमस्ता, रामनगर कोदरकट्टी, गोविन्दपुर, नर्घो र रम्पुरा मल्हनियाँस्थित नाकामा रहेका छोटी भन्सार कार्यालयहरू पुर्नःस्थापना नहुँदा राजस्व असुलीमा झन्डै ७५ प्रतिशत कमी आएको छ । भन्सार कार्यालय पुर्नःस्थापना हुननसक्दा दैनिक उक्त नाकाबाट लाखाँैंको मालसमान आयात—निर्यात हुनेगरेको छ ।
राजविराज, ७ मंसिर : सप्तरी प्रहरीले राजविराजमा बालक अपहरण गर्ने एक गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको गोप्य सूचना र सुराकीका आधारमा पक्राउ परेका चारजनालाई मङ्गलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।पक्राउ पर्नेमा सप्तरीको अर्नाहा–१ का जयप्रकाश चौधरी र महिनारायण चौधरी तथा बनौली–७ का सुरेशकुमार चौधरी र लल्कु चौधरी रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले एकथान ल्यापटपसमेत बरामद गरेको छ ।
राजविराज, ५ मंसिर : प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका एकजना अपराधीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सामानसहित पक्राउ गरेको छ । सप्तरी जिल्लाको मयनाकडेरी गाविस–५ बस्ने २६ वर्षीय कासिन्द्र यादवलाई प्रहरीले सभासद् रमणिदेवी रामको घरबाट लगेको कम्युटरसहित राजविराज–९ स्थित तेतरीगाछी चोकमा आउँदै गर्दा पक्राउ गरेको हो । उनको साथबाट कम्प्युटरको एलसिडी मोनिटर एक थान, किबोर्ड एकथान, माउस एकथान तथा दुईथान सानो साउन्डबक्स ब्यागमा ल्याउँदै गर्दा पक्राउ गरिएको प्रहरी निरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।
राजविराज, २८ कात्तिक : राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा आज बिहान एकजना महिलाले अनौठो किसिमको बच्चा जन्माएकी छन् । सप्तरीको पकरी गाविस–४ बस्ने मोहम्मद बसिरकी २८ वर्षीया श्रीमती महिरून खातुनले आइतबार बिहान महिला वा पुरुष भनेर केही नछुट्टिने बच्चालाई जन्म दिएकी छन् । बच्चाको टाउको अनपेक्षितरूपमा ठूलो, नाक नभएको तथा आँखाको ठाउँमा दुईवटा सानो प्वालमात्र भएको बच्चालाई जन्म दिएकी छन् । बच्चाको शरीर पूर्णरूपले विकसितसमेत भएको छैन ।