बर्दिवास, २ मंसिर : महोत्तरी जिल्लाको बिजलपुरा– ९ मा जङ्गली माहुरीले टोकर आठजना बिरामी भएका छन् । खेतमा काम गर्न गएका बेला जङ्गली माहुरीले टोकेका १५ जनामध्ये आठजना गम्भीर बिरामी भएको सोही बस्तीका राजवीर महतोले जानकारी दिए । जङ्गली माहुरीको टोकाइबाट गम्भीर भएकालाई बिजलपुरा उपस्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी थप उपचारका लागि बर्दिवास अस्पताल पु¥याइएको छ ।
बर्दिवास, २८ कात्तिक : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शान्ति र संविधानको पूर्णताको कुरा एकीकृत नेकपा (माओवादी) को काममा भर पर्ने बताउनुभएको छ । आइतबार साँझ नेपाली काँग्रेस, महोत्तरी जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै नेता देउवाले दलहरुबीच भएको पछिल्लो सातबुँदे सहमतिलाई एनेकपा (माओवादी) पालना गरे शान्ति र संविधान देशले पाउन सक्ने बताउनुभयो ।
बर्दिवास, २७ कात्तिक : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आपसी मतभेद बिर्सेर शान्ति र संविधानको काममा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । महोत्तरी जिल्लाको भ्रमणमा रहनुभएका नेता देउवाले आज बिहान बर्दिवासमा पार्टीको १ नम्बर क्षेत्रीय समितिद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शान्ति र संविधानका लागि सबै राजनीतिक दलले आ–आफ्ना असहमतिलाई थाँती राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।
गौशाला, ६ कात्तिक : विगत चार दिनदेखि तालाबन्द रहेको महोत्तरी जिल्ला विकास समितिको कार्यालय आजदेखि खुलेको छ । जिविस महोत्तरीमा व्यापक आर्थिक हिनामिना भएको आरोप लगाउँदै सोको पारदर्शिताको माग गर्दै जिल्लाका तीन दलले बुधबार तालाबन्दी गरेको थियो ।तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस र तमलोपा नेपालले जिविसमा आर्थिक पारदार्शिताको माग गर्दै गरेको तालाबन्दी शनिबार साँझ स्थानीय प्रशासनसँग सहमति भई आजदेखि खुलेको तमलोपा नेपालका नेता सुरेश पाण्डेले बताउनुभयो ।
गौशाला, १ कात्तिक : महोत्तरीको सदरमुकामस्थित जलेश्वर महादेव मन्दिरमा वास बसेका २० जना यात्रुलाई प्रहरीको एक समूहले गएराति निर्ममतापूर्वक कुटेको छ । जिल्लाको प्रसिद्ध धार्मिकस्थल पडौलको कारिकस्थान मन्दिरमा पूजा अर्चना गरेर फर्किंदा रात परेका कारण जलेश्वर महादेव मन्दिरमा वास बसेका धनुषा जिल्लाको मुसहरनियाँ बस्ने २० जना महिला तथा पुरुषलाई प्रहरीले निर्ममतापूर्वक कुटेका हुन् ।