जनकपुरधाम, २२ मंसिर : सीताराम विवाह महोत्सवको उल्लास यहाँ छाएको छ । श्रद्धा, भक्ति र आस्थाको केन्द्र मानिने यो स्थल विवाहपञ्चमीमा दुलहीझैँ सिँगारिएको छ ।जनकपुरमा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार राम गुरु विश्वामित्रसँग जनकपुर आउनु र माता जानकीसँगको विवाह सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाइने गरेको छ । रामजानकी विवाह प्रसङ्गलाई विभिन्न पक्षद्वारा सजीव र मूर्तरूपमा प्रस्तुत गर्नु महोत्सवको विशेषता भएको छ ।
जनकपुर, ७ मंसिर : सर्वदलीय राजनीतिक संयन्त्रमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधित्व गरेका एकजना स्थानीय नेताले धनुषा जिल्ला विकास समिति आर्थिक अनियमितताको स्थल बनेको आरोप लगाएका छन् । संयन्त्रका सदस्य हरिदेव मण्डलले अधिकांश विकास योजना कागजमा नै सीमित रहने गरेका र विकास योजना पूरा नगरी भुक्तानी दिने पद्धति रहस्यमय बनेको आक्षेप पनि लगाएका छन् । संयन्त्रका सदस्यहरु आ–आफ्नो क्षेत्रमा विकासका योजनाहरु कसरी लैजाने भन्नेतर्फ मात्र केन्द्रित रहने गरेका तथा कर्मचारीहरुसँग नजिकिने गरेको उल्लेख गर्दै उनले स्थानीय विकास अधिकारीको कार्यशैली पनि अपारदर्शी भएको बताए ।
जनकपुर, ३ मंसिर : छठ पर्व मनाइरहेका बेला हत्या गरिएका मुकेश दत्तको घटनाका योजनाकार र निगरानी गर्ने दुईजनाको नाम शुक्रबार सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेश अमात्यले दत्तको हत्या घटनामा मुख्यरुपले डा नारायण भन्ने प्रमोद कर्ण र बिहारी भन्ने रतिशकुमार दत्तको संलग्नता रहेको बताए । कर्णले आपसी प्रतिस्पर्धा, द्वेष र दुश्मनीका कारण दत्तको हत्या गराएको सबुद प्रमाण अनुसन्धानबाट स्पष्ट भएको पनि उनले जानकारी दिए ।
जनकपुर, १ मंसिर : जनकपुरमा बुधबार दिउँसो गोली लागि एक महिला सख्त घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार जनकपुर नगरपालिका-४ मा बुधबार दिउँसो करिब साढे १२ बजे गोली प्रहारबाट २४ वर्षीया सुधीरा राय सख्त घाइते भएकी छिन् । पेटमा एक गोली लागेको रायको उपचार जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । घाइते महिलाले म आफैले चलाएको गोली आफै लागेको बताएकी छिन् ।
जनकपुर, २७ कात्तिक : छठ पर्व सकिनै लाग्दा धनुषाको जानकी मन्दिर नजिक हतियारधारी समूहले शनिबार विहान एक सर्बसाधारणको गोली हानी हत्या गरेको छ । दुई/तीन जनाको संख्यामा रहेको समूहले मन्दिर नजिकै छठ पर्व मनाइरहेका जनकपुर-९ साकेतनगर बस्ने ३२ वर्षीय मुकेश दत्तको विहान ३ बजे गोली हानी हत्या गरेको हो । व्यक्तिगत रिसिईवीका कारण दत्तको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । दत्तको घाँटीमा एउटा गोली लागेको जनकपुर अन्चल अस्पतालले पुष्टि गरेको छ । छठपर्वको चहलपहलको कारण निकै व्यस्त रहेको सो क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिए प्रहरी चौकीभन्दा ३ सय मिटरको दुरीमा गोली प्रहार भएको थियो ।