चितवन, २६ असोज :
स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले चितवन लगायतका आसपासका जिल्लामा
फैलिएको डेङ्गु रोग नियन्त्रणका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने
प्रतिवद्धता जनाएका छन् । चितवनमा डेङ्गु रोगले महामारीको रुप लिँदै गएपछि
त्यसको विषयमा स्थलगत निरीक्षणका लागि मंगलबार चितवन आइपुगेका मन्त्री
चौधरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले उक्त प्रतिवद्धता जनाएका हुन्
।चितवनमा फैलिएको डेङ्गु रोग विस्तारै नियन्त्रण हुँदै गएको दाबी गर्दै
मन्त्री चौधरीले महामारी नियन्त्रणका लागि निजीक्षेत्रलाई सहकार्यका लागि
आह्वान गरे ।
चितवन, २५ असोज : विगत केहि समयदेखि डेङ्गु रोगले महामारीको रुप लिएपछि सो रोगको विषयमा स्थलगत जानकारी लिन संसदको महिला बालबालिका र समाज कल्याण समितिका सभासद्हरुको एक टोली सोमबार चितवन आइपुगेको छ । टोलीमा सभासद्हरु चित्रबहादुर श्रेष्ठ, उमा रेग्मी र शारदादेवी कुमाल रहेका छन् । टोलीले जनस्वास्थ्य कार्यालयमा पुगी डेङ्गु रोगको सुरुआत, रोग लाग्ने कारण, हाल यसको अवस्था, सरकारी तबरबाट भएका कार्यहरु, कठिनाइ लगायतका विषयमा जानकारी लिएको छ ।
चितवन, २२ असोज : चितवनका विभिन्न अस्पतालमा एक हजार १४१ जनाको रगत परीक्षण गरिएकामध्ये २०२ जनामा डेङ्गु रोग देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार भाइरल ज्वरोका बिरामीहरु यहाँ अझै घटेका छैनन् । ‘केही दिन घटेको जस्तो हुन्छ, अर्काे दिन बढेर आउँछ,’ भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले भने, ‘अब मौसम अलि चिसो हुन थालेको छ, त्यसैले घट्छ कि भन्ने आशा गरेका छौं ।’ फेला परेका डेङ्गुका बिरामीहरु उपचारका लागि चितवन मेडिकल कलेजमा सबैभन्दा बढी पुगेका छन् ।
चितवन, २० असोज : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) समर्थित विद्यार्थीहरुले आफ्ना साथीहरुमाथि आक्रमण गरेको विरोधमा नेपाल विद्यार्थी सङ्घले यहाँका सम्पूर्ण शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । बन्दका कारण यहाँका सम्पूर्ण शैक्षिक प्रतिष्ठानको अध्ययन अध्यापन ठप्प भएको छ । कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा गत सोमबार अनेरास्ववियु र नेविसङ्घबीच भएको दोहोरो झडपमा सातजना घाइते भएका थिए ।
चितवन, १९ असोज : एकीकृत नेकपा
(माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सभामुखले आफ्नो विशेषाधिकार
प्रयोग गर्न नसेकेको बताएका छन् । दिवाबर स्मृति रनिङ शिल्ड फुटबल
प्रतियोगिताको उद्घाटन गर्नका लागि चितवन आएका उपाध्यक्ष श्रेष्ठले
मंगलबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुरा गदैँ संविधान सभाका सभामुखले
देश जटिल मोडमा रहेको बेला आफूमा निहित अधिकार प्रयोग नगरेर सङ्कटमाथि झन
सङ्कट थपेको आरोप लगाएका छन् ।