गोरखा, २७ साउन
गोरखाको खोलखोलेमा बुधबार राति बिरामी बोकेको एम्बुलेन्स
दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। दुर्घटनामा परि ४ जना गम्भिर
घाइते भएका छन्। बुङकोट स्वास्थ्य चौकीको ग १ ज ५५१३ नम्बरको एम्वुलेन्स
गोरखा नगरपालिका-८ ढल्लाभिरस्थित खोलखोलेमा दुर्घटनामा परेको थियो।
एम्बुलेन्स सडकबाट करिब १ सय मिटर तल खसेको गोरखा प्रहरीले जनाएको छ। बुङकोटमा
कुलोमा लडेर बेहोस भएका पोखरा पार्दीका विष्णु श्रेष्ठलाई गोरखा अस्पतालमा
उपचार गरी थप उपचारको लागी पोखरा लैजाने क्रममा एम्बुलेन्स दुर्घटनामा
परेको थियो।
दमौली, २१ साउन
गोरखा जिल्लाको च्याङलिङ गाउँ विकास समिति–८ का कुमाल समुदायले बायोडिजेल
उत्पादन गरी लाखौँ आम्दानी गर्ने उद्देश्यले व्यावसायिक रूपमा सजीवनखेती
सुरु गरेका छन् । हाई हिमालयन इनर्जी एन्ड एग्रो नेपाल प्रा.लि. को
सक्रियतामा कुमाल समुदायले सोह्र हेक्टर जमिनमा ३० हजार सजीवनको बिरुवा
लगाई व्यावसायिकखेती सुरु गरेका हुन् । ऊर्जाको सुरक्षा, वातावरण संरक्षण,
रोजगारी प्रवर्दन , आर्थिक विकास र गरिबी निवारण गर्ने उद्देश्यले सजीवनको
खेती विस्तार गर्ने कार्य तीव्र गतिमा अघि बढाइएको एग्रो नेपाल प्रा.लि. ले
जनाएको छ ।
गोरखा, १७ साउन
अन्तरजातीय विवाह गर्ने चार जोडीले जिल्ला प्रशासन कार्यालय गोरखाबाट
प्रोत्साहन रकम बुझेका छन् । प्रोत्साहन रकम पाउनेमा आरूपोखरी वडा नं. ६
बस्ने विक्रम गुरुङ र सुनिता परियार, ताप्ले–८ का ठाकुरप्रसाद मग्राती र
सुमित्रा भट्टराई, धुवाँकोट वडा नं. १ का मणिचन्द्र कँडेल र धनकुमारी
सुनार, हंसपुर–४ का दीपक विक र छोप्राक–३ का विनिता बरामले सरकारले प्रदान
गरेको प्रोत्साहन बापतको एक÷एक लाख रुपैँया प्रदान गरेको प्रमुख जिल्ला
अधिकारी कमलमणि काफ्लले बताए ।
गोरखा, ११ साउन
गोरखाको दुर्गम मान्बुमा सोमबार राती परेको चट्याङबाट स्थानिय लक्ष्मी परियारको मृत्यु भएको छ।चट्याङमा परी गम्भीर घाइते भएकी परियारलाई उपचारका लागि प्राथमिक स्वास्थ सेवा केन्द्र, आरुघाट लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।