तनहुँ, ३० फागुन : जिल्ला स्वास्थ्य कार्यालय, तनहुँले यस वर्ष तीन लाख ५० हजार जनालाई हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने लक्ष्य लिएको छ । कार्यालयले पत्रकार सम्मेलन आयोजना गर्दै आगामी चैत १२ र १३ गते सो रोगविरुद्धको औषधि खुवाइने जानकारी दिएको छ । जिल्लाको एक नगरपालिका र ४६ गाविसमा करिब दुई हजार स्वयम्सेवक खटाइ घरघरमै गएर औषधि खुवाइने जनस्वास्थ्य प्रमुख डा सुशीलनाथ प्याकुरेलले बताए ।
तनहुँ, ९ फागुन : खुर्पा प्रहारबाट सोमबार बिहान तनहुँमा ३ जनाको मृत्यु भएको छ। व्यास-१० मालपोत लाइन निवासी २३ बर्षिय देविङ राना मगरले दुई दम्पतिमाथी खुर्पा प्रहार गरेका हुन्। खुर्पा प्रहारबाट एक जना गम्भीर घाइते भएका छिन्। मृत्यु हुनेमा मालपोत लाइनकै दिलबहादुर सापकोटा, उनकी श्रीमती र व्यास-१०, देउरालीनगर निवासी टिकाराम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएकी टिकाराम श्रेष्ठकी श्रीमती पार्वती श्रेष्ठको पोखरास्थित पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ।
तनहुँ, ६ फागुन : आर्थिक, सामाजिक, साँस्कृतिक र खेलकुदको विकास गर्दै पर्यटन वर्ष–२०११ लाई सहयोग पुर्याउने मुख्य उद्देश्यले तनहुँमा फागुन १३ गतेदेखि १० दिने तेस्रो खैरनीटार महोत्सव हुने भएको छ । महोत्सव मूल आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी फागुन २२ गतेसम्म हुने सो महोत्सवमा विभिन्न कला, सीप, साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने जानकारी दिइयो ।
लोडसेडिङको विरोध गर्ने नयाँ शैलीतनहुँ, २ फागुन : तनहुँको सदरमुकाम दमौलीबाट प्रकाशित हुने सेतीमादी दैनिकले आइतबारदेखि मैनबत्ती सम्पादकीय प्रकाशित गर्न सुरु गरेको छ । दैनिक बढ्दो लोडसेडिङका कारण पत्रिका प्रकाशित गर्न कठिनाइ भएपछि विरोधस्वरुप सो अभियान थालिएको हो । लोडसेडिङका कारण सञ्चारमाध्यमले भोग्नुपरेको पीडाको विरोधस्वरुप एक हप्तासम्म मैनवत्ती बालेर सम्पादकीय लेखिने पत्रिकाका सम्पादक डम्बर अधिकारीले बताए । मुलुकमा पूर्णरुपमा लोडसेडिङ अन्त्य नभएसम्म सम्पादकीयको माथिल्लो भागमा मैनबत्तीको तस्विर राखेर विरोध जनाउने समेत सम्पादक अधिकारी जानकारी दिए ।
तनहुँ, २४ माघ : एमालेको युवा सङ्घका कार्यकर्ताले सोमबार आफ्नै पार्टी सचिवलाई कार्यालयमै कुटपिट गरेका छन्। खनाल पक्षधर युवा सङ्घका कार्यकर्ताले ओली पक्षधर पार्टी सचिव विद्या ढकालमाथि कुटिपट गरेका हुन्। दमौली बजारस्थित पार्टी कार्यालयमा काम गरिरहेको अवस्थामा कोठाभित्र प्रवेश गरेका दुई युवाले आफूमाथि कुटपिट गरेको पार्टी सचिव ढकालले बताए। कुटपिटबाट ढकालको आँखानजिकै चोट लागेको छ।