मुगु, ३० जेठ : मुगु र डोल्फुको वनक्षेत्रमा यार्चागुम्बु टिप्न यही जेठ २३ गतेबाट खुल्ला भएपछि यार्चा टिप्न जान लागेका एकै गाउँका चारजना कर्णाली नदीको फलामे तुइन चुँडिएर बेपत्ता भएका छन् । डोल्फु गाविसका सचिव मकर रावलले दिएको जानकारीअनुसार डोरी चुँडिएर नदीमा खसेर बेपत्ता हुनेहरूमा डोल्फु गाविस–२ निवासी २१ वर्षीय छेवाङ तामाङ र वडा नं. ३ निवासी ३५ वर्षीय फुटिक लामा तथा दुईजना नाम खुल्न नसकेका व्यक्ति छन् ।
मुगु, १९ चैत : मुगु जिल्लास्थित श्रीकोट गाविसको चिमाढुङग्री खोला शुत्रबार राति माओवादी कार्यकर्ताले आक्रमण गरी ५ जना घाईते भएको र २ जना वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माओवादी आक्रमण बाट घाइते हुनेहरुमा नेपाली कांग्रेस महासमितिका सदस्य नवराज जैसी शिक्षक संघका अध्यक्ष जयबहादुर डाँगर गाउँ कार्यसमितिका सदस्य अमरबहादुर डाँगर पूर्णबहादुर सञ्ज्याल चन्द्रबहादुर बुढथापा रहेको प्रहरी नायब उपरीक्षक बिष्णुबहादुर कार्कीले बताए ।
मुगु, २३ माघ : पन्ध्र शय्याको जिल्ला अस्पताल मुगु विगत सात महिनादेखि डाक्टरविहीन बनेको छ । सो अस्पतालमा कार्यरत डाक्टर बद्री चापागाईं गत भदौ महिनामा एमडी अध्ययनका लागि काठमाडौँको वीर अस्पताल गएदेखि नै स्वास्थ्य मन्त्रालयले यहाँ अर्को डाक्टर पठाएको छैन । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख चक्रबहादुर मल्लका अनुसार अस्पतालमा दुईजना डाक्टरको दरबन्दी भए पनि मन्त्रालयले कार्यरतलाई समेत अध्ययनमा राखेको छ भने अर्को रिक्त पदमा कसैलाई पठाएको छैन ।
मुगु, २१ माघ : मुगु जिल्लामा द्वन्द्वको समयमा राज्य तथा माओवादी दुवै पक्षबाट सम्पत्ति क्षति भएको भनी अनियमित ढङ्गबाट राहत प्राप्त गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार द्वन्द्वका समयमा विभिन्न पक्षबाट पीडित भई आन्तरिक विस्थापित तथा पीडित भएका मानिसको सङ्ख्या मुगु जिल्लामा बढी छ । जिल्लाका विभिन्न गाविसमा द्वन्द्वको समयमा प्रभावित भएका मानिसको तथ्याङ्क सङ्कलन नभएको र अनियमित ढङ्गबाट राज्य, माओवादी तथा दुवैपक्षलाई आरोप लगाई नक्कली पीडित बनी क्षतिपूर्तिस्वरुप रकम असुली गर्ने क्रम बढेको उनले बताए ।
मुगु, ४ असोज : यही भदौ २८ गते परेको अविरल वर्षाका कारण मुगु जिल्लाको उत्तरपूर्वी करान भेगका पाँच गाविसको सदरमुकामसम्म जोड्ने एकमात्र बाटोमा पहिरो झरेर आवतजावत ठप्प भएको छ । नाङ्ग्री गाविसअन्तर्गत पर्ने सिमखोला नजिकै भाले भन्ने स्थानमा सो पहिरो गएको हो । पहिरोको कारण उक्त भेगमा पर्ने पाँच गाविसका बासिन्दाको सदरमुकामसँग सम्पर्क छुट्न गई दैनिक उपभोग्य वस्तु, औषधि उपचारलगायत कार्यालयसम्बन्धी कामकाज बन्द भएको छ ।