सल्यान, २९ फागुन : सल्यानका एक युवकले आगामि जेठ १४ गते भित्र नयाँ संविधान जारी नभए जिवनभर विहे नगर्ने घोषणा गरेका छन् । बाँझकाँडा गाविस ४ उपल्लो बाँझकाँडाका १८ वर्षीय खेमबहादुर बुढाथोकीले यस्तो घोषणा गरेका हुन् । दलहरुले तोकिएको मिति २०६८ साल जेठ १४ गते संविधान जारी गरुन् भनेर दवाव दिन आफूले यस्तो घोषणा गरेको बुढाथोकीले बताए । नयाँ संविधान निर्माणभन्दा सत्तालिप्सामा लागेका राजनीतिक दलहरुलाई आफ्नो यो घोषणाले नैतिक दवाव पर्ने बुढाथोकीको विश्वास छ ।
सल्यान, २७ पुस : नेपालमै
रेशाविहीन अदुवा उत्पादन हुने सल्यान जिल्लाका किसानहरू अदुवाखेतीतिर
आर्कषित हुनथालेका छन् । यो वर्ष समयमै पर्याप्त पानी परेको र बजार
मूल्यसमेत बढेपछि यस क्षेत्रका किसान अदुवाखेतीतिर आर्कषित हुन थालेका हुन्
। कृषि विकास कार्यालय सल्यानले दिएको जानकारी अनुसार यो वर्ष जिल्लामा
करिब ५६ करोड मूल्य बराबरको अदुवा उत्पादन भएको छ । बीउ तथा जिल्लामै ४०
प्रतिशतसम्म खपत भए पनि ६० प्रतिशत अर्थात रु ३४ करोड पाँच लाख बराबरको
अदुवा जिल्लाबाहिर निकासी भइसकेको कृषि विकास कार्यालय सल्यानका बागबानी
अधिकृत भास्कर पौडेलले जानकारी दिए ।
सल्यान, १९ पुस : सल्यानको दार्माकोटमा स्थानीयको गोली प्रहारबाट एकीकृत नेकपा (माओवादी)का एक कार्यकर्ता घाइते भएका छन् । गएराति छिमेकी जितबहादुर सुनारले हानेको गोली प्रहारबाट दार्माकोट गाविस वडा नं १ दैटाकुराका ५५ वर्षीय परशुराम सुनार (बालाराम) घाइते भएका हुन् । सुनारको दाहिने काधबाट घाँटीमा गोली छिरेको इलाका प्रहरी कार्यालय सिमखोलीले जनाएको छ । स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारका लागि श्रीनगरमा रहेको कान्तिपुर फार्मेसीमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
सल्यान, ८ पुस : नेकपा एमालेका कार्यकर्ताहरुले सल्यान माझकाँडाका एकीकृत नेकपा माओवादीका एक कार्यकर्ताहरुलाई सिस्नोपानी लगाएर यातना दिएका छन् । माझकाँडा गाविस ५ का ठगे घर्तीलाई स्थानीय एमाले कार्यकर्ता राजेन्द्र घर्तीलगायत ६ जनाको समुहले अपहरण गरी तीन दिनसम्म बन्दी बनाएर सिस्नोपानी लगाएको पीडित परिवारले बताएका छन् । एमाले कार्यकर्ताहरुले ३ वटा बाख्रा, २ वटा भैंसी र गाग्री ताउला पनि लुटेको पीडितको आरोप छ ।
सल्यान, ९ मंसिर : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन सल्यानमा विहीबार बिहान १२ वर्षीया बालिका बलात्कृत भएकी छिन् । रिम गाबिसकी बालिका धनबाङ-१ कपुरकोटमा बलात्कृत भएकी हुन् । बालिकालाई बलात्कार गरिरहेको अवस्थामा दाङको हलवार गाविस-१ निबासि २२ वर्षीय पदम बिकलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । बिक र पीडित बालिकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको कपुरकोट प्रहरीले जनाएको छ ।