रोल्पा, ७ माघ : रोल्पामा बोक्सीको आरोपमा एक महिला गाउँ छोड्न बाध्य भएकी छिन् । जिल्लाको घर्तीगाउँ ९ की ५१ वर्षीया कुमारी ओलीलाई स्थानीय हिरालाल बुढा र दीलबहादुर ओलीले बोक्सीको आरोप लगाउँदै मानसिक यातना दिने गरेको कारण उनले बाध्य भएर गाउँ छोड्नु परेको हो ।राजनीतिक संरक्षणले गर्दा आरोप लगाउनेहरुलाई कारबाही नभएको स्थानीयको भनाई छ । कुमारीलाई गाउँमा पुनःस्थापना गराउने बिषयमा प्रहरीले समेत कुनै चासो नदेखाएको घर्तीगाउँका टिकाराम थापाले जानकारी दिए ।
रोल्पा, २ माघ : रोल्पाको होलेरीमा मिनि ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । रोल्पाको सखी गाविसबाट होलेरीका लागि छुटेको रा १ ख ५० नम्बरको ट्रक गएराती ब्रेक फेल भई दुर्घटना हुँदा रोल्पाको सखी-१ का दीपक बोहोरा र सखि-२ का दलबहादुर बोहोराको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेहरुको दाङको घोराही र बाँकेको कोहलपुरमा उपचार भइरहेको छ ।
रोल्पा, २३ पुस : नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाका सदस्य धनिराम शर्मालाई अज्ञात व्यक्तिले हात खुट्टा भाचिदिने धम्की दिएको छ । हिजो साँझ ७ बजेदेखि ९७२८२५१७५३ नम्बरको मोबाईलबाट पटक पटक हात खुट्टा भाचिदिने धम्की आएको पत्रकार शर्माले बताए । क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा रोल्पाका सल्लाहकारसमेत रहेका शर्मा रेडियो जलजलामा आवद्ध आवद्ध छन् । जिल्ला प्रहरी कार्यालय रोल्पाले पत्रकार शर्मालाई धम्की दिने व्यक्ति बारेमा अनुसन्धान थालि छिट्टै कारवाही अगाडी बढाउने जानकारी दिएको छ ।
रोल्पा, २३ कात्तिक : एउटी महिलाको कोखबाट सामान्यत एक शिशुको जन्म हुने गर्छ । जुम्ल्याहा बच्चा पाउने समाचार पनि खासै नौलो भने हैन, यस्ता खबर हामीले सर्बत्र सुन्ने गरेका छौं । तर, रोल्पामा एक महिलाले ४ वटा बच्चालाई एकसाथ जन्म दिएर समाजलाई नै आश्चर्य चकित पारिदिएकी छन् । रोल्पाको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रोल्पा तेवाङ गाबिसकी ४० बर्षीया टिका विकले ४ वटा स्वस्थ बच्चा जन्माएकी छिन। सोमबार विहान ८ बजे सुरुमा एउटा छोरो जन्माएकि विकले त्यसको १० घण्टापछि बेलुकी ६ बजेतिर ३ वटि छोरी जन्माएकी छिन ।