प्युठान- ऐतिहासिक पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीमा यस वर्षको सुरुआतसँगै दर्शन गर्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । यतिबेला पर्यटन वर्ष सन् २०११ को चर्चा र वैशाखेपूर्णिमा नजिकिँदै गर्दा स्वर्गद्वारीमा धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएको स्वर्गद्वारी आश्रमले जनाएको छ । दैनिक तीर्थालु पर्यटकको सङ्ख्या वृद्धि हुँदै जाँदा पर्यटकलाई राति बास बसाल्न आश्रमलाई धौ–धौ पर्न थालेको छ । एक रातमा दुई सयभन्दा बढी पाहुना राख्न नसकिने भएकाले दर्शननार्थी पर्यटकलाई राख्न आश्रमलाई समस्या परेको हो ।
प्युठान, १४ फागुन : प्युठानको माझकोट खलिगाउँमा एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ । फोप्ली–२ निवासी ४० वर्षीय बालाराम भण्डारीको साँझ माझकोटबाट घर फर्कंदै गर्दा लडेर मृत्यु भएको हो । समूहका लागि खसी लिएर फर्कंदै गरेका भण्डारी खसी बाँधेको डोरीमा अल्झिएर झन्डै पाँच सय मिटर तल खसेको स्थानीय विनोद भण्डारीले बताए ।
प्युठान, ९ फागुन : प्युठानको देवीस्थानबाट तिरामतर्फ जाँदै गरेको ना२ख ५८३० नं बसको ढोकाबाट खसेर घाइते भएका एकजनाको गएराति मृत्यु भएको छ । तिरामको दमारेमा बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका बिजुवार–४ निवासी ४० वर्षीय काली घर्तीको उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको देवीस्थान ट्राफिकले जनाएको छ । बसमा अत्यधिक मात्रामा यात्रुहरु रहेका कारण भित्रबाट पेलापेला हुँदा घर्ती ढोकाबाट खसेको प्रहरीले जनाएको छ ।
प्यूठान, २ फागुन : यतिबेला बिहान बेलुका १४ घण्टा लोडसेडिङबाट हैरान हुनुभएको छ भने त्यसबाट मुक्त हुनको लागि त्यो अन्धकारलाई बिर्साउन तपाई मध्यपश्चिमको पहाडी जिल्ला प्युठान आउन सक्नुहुन्छ । धार्मिक स्थल स्वर्गद्वारीका कारण प्रख्यात र प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर प्युठान एउटा मात्र लोडसेडिङ मुक्त जिल्ला हो । जिल्लाकै ठूलो स्थानीय झिमरुक नदीबाट उत्पादन गरिएको १२ मेघावाट बिजुलीले प्युठानवासीलाई के रात के दिन सधैँ एकैनास छ, सधैँ झिलिमिली छ । पावर हाउसमा आउने सिस्टमको खराबी बाहेक कहिल्यै पनि लोडसेडिङ हुँदैन यहाँ ।
प्युठान, २३ कात्तिक : गाउँका युवतीलाई नियन्त्रणमा लिई बलात्कार गर्न खोज्ने दुईजनालाई प्युठान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान तुषाराका जितेन्द्र जिसी र ओखरकोट आरूपाटाका सुभाष खड्का रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नारिकोट रातामाटामा घर पोत्ने माटो लिन आएका खुङ्गका दुईजना युवतीलाई जिसी र खड्काले आफ्नो नियन्त्रणमा लिई जङ्गलमा लगेर जबरजस्ती बलात्कार गर्न खोजेको पीडितले प्रहरीसमक्ष बताएका छन् ।