दाङ, ७ जेठ : दाङको तुलसीपुरस्थित जंगलमा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटेले आफुहरुलाई पनि छुट्टै जंगल राज्यको माग गर्दै आज दाङ जिल्ला प्रशासनमा धर्ना दिएका छन् । आफुहरुले ७५ वटै जिल्लाका जंगलमा निर्धक्कसंग बस्न पाउनु पर्ने माग उनीहरुले गरेका छन् । राज्य जसरी बनाए पनि राउटेहरुका लागि जंगलमा एकलौटी राज हुनुपर्ने उनीहरुको माग रहेको छ ।
दाङ, ३ जेठ : पहिचानसहित जातिय राज्यको माग गर्दै संयुक्त संघर्ष समितिले आह्वान गरेको ५ दिने तराई बन्दको प्रभाव आज तेस्रो दिन जारी छ । जातीय पहिचानसहितको सङ्घीय राज्य स्थापितका लागि दवाव स्वरुप सङ्घीय पक्षधर संयुक्त सघर्ष समितिले बन्दको आह्वान गरेको हो ।
दाङ, १ जेठ : पौडी खेल्न गएका बेला राप्ति नदीमा डुवेर आज दिउसो देउखुरीमा दुई बालिकाको ज्यान गएको छ । लालमटिया—३ भालुवाङ पुल्चोकका रामु न्यौपानेकी ११ बर्षिया छोरी मधु न्यौपाने र टेकबहादुर खनालकी ९ बर्षिया छोरी सुविक्षा खनालको डुबेर मृत्यु गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जनाएको छ । नदीमा पौडी खेल्न गएका बेला दुवै बालिका डुवेका थिए ।
दाङ, ९ वैशाख : रेडियो सरयु गंगाका सम्पादक गणेश आचार्यलाई ज्यान मार्ने धम्की आएको छ । आचार्यका अनुसार नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका कार्यबहाक अध्यक्ष टीका घर्तीले ज्यान मार्ने धम्कि दिएका हुन् । गत बुधबार राति दाङको दमार याऊँमा ट्रक लुट्दा लुट्दै नेविसंघ र तरुण दलका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछी रेडियो सरयु गंगाले समाचार प्रशारण गरेको थियो ।
दाङ, ७ वैशाख : दाङमा मालबाहक ट्रक लुट्न खोज्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दाङ उरहरी गाविस बेलटाकुराका रमेश मल्ल, बसन्त शाह, रोहित न्यौपाने, तुलसीपुर नगरपालिका ५ बसपार्क निवासी जितेन्द्र ओली, प्रेम प्रकाश ओली, ओमकार ओली, अरुण लहरे र बनगाई निवासी तेजन हमाल रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।