नेपालगञ्ज, २ मंसिर : गएराति भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् । कोहलपुर नेपालगञ्ज सडकखण्डमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको ना २ ख ३३३२ नम्बरको ट्रकले कोहलपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको अन टेस्ट मोटरसाईकललाई ठक्कर दिँदा बाँके शमशेरगञ्ज ८ भिकरीपुरका २४ वर्षका विकासचन्द न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ठक्कर दिने चालक र ट्रकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके, २५ कात्तिक : मध्य तथा सुदूरपश्चिमकै ठूलो एवम् सुविधासम्पन्न अस्पतालको रुपमा परिचित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत इन्टर्न डाक्टरहरु सोमबारदेखि आन्दोलनमा उत्रिएका कारण टाढा टाढाबाट आउने बिरामी अलपत्र परेका छन् । आज बिहानदेखि अस्पतालभित्रै इन्टर्न डाक्टर र प्रहरीबीच झडप हुँदा यहाँ उपचार गर्न आएका सयौँ बिरामी अलपत्र परेका हुन् । अस्पतालमा कार्यरत इन्टर्न डाक्टरहरु पारिश्रमिक वृद्धि एवम् अस्पतालमा सुधार गर्नुपर्नेलगायतका १८ बुँदे मागसहित आन्दोलनमा उत्रिएपछि प्रहरीबाट हस्तक्षेप भएको थियो ।
बाँके, १५ कात्तिक : दुई विद्यार्थीलाई अपहरणपछि निर्मम ढङ्गले हत्या गरिएको अभियोगमा एकजना प्रहरी र एकजना अधिकारवादीसहित १६ जनामाथि प्रहरीले बाँके जिल्ला अदालतमा ज्यान मुद्दा दर्ता गराएको छ । हत्या काण्डका नाइके मेराजअहमद साईसहित ती १६ जनामाथि सरकारी वकिल कार्यालयले सर्वस्वसहित जन्मकैदको माग दावी गर्दै मुद्दा दर्ता गरेको हो । प्रहरीले प्रहरी हवल्दार साकिरअली बेहना र मानवअधिकार संरक्षण मञ्चका केन्द्रीय सदस्य तथा स्थानीय जिल्ला शान्ति समितिका सदस्य चन्द्रेश्वरप्रसाद सिंहमाथि पनि ज्यान मुद्दा चलाएको छ ।
नेपालगन्ज, १० कात्तिक : एक महिनाअघि यहाँका दुई बालकको अपहरणपछि हत्या गर्ने समूहका थप तीनजनालाई जिल्ला प्रहरी कार्यालय, बाँकेले पक्राउ गरेको छ । स्थानीय जयबागेश्वरी विद्यालय कक्षा नौ र १० मा अध्ययनरत लीलाधर भट्ट र कपिल द्विवेदीको अपहरणपछि जनतान्त्रिक तराई मधेश पार्टीका मेराज साईलगायतको समूहले रु १० लाख फिरौती लिई हत्या गरेका थिए । अभियुक्त मेराजसहित पाँचजनालाई हत्याको दोस्रो दिन नै प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ भने पक्राउ परेका थप तीनजना विरद्ध पनि मुद्दा दायर गरिने प्रहरी उपरीक्षक महेशविक्रम शाहले बताए ।
बाँके, ६ कात्तिक : सूचना तथा
सञ्चार मन्त्री शङ्कर पोखरेलले पेश्की बजेट सकिनुअघि सहमति नभए बहुमतका
आधारमा भएपनि सरकारले बजेट ल्याउने बताएका छन् । प्रेस चौतारी बाँकेले
शनिवार नेपालगन्ज विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री
पोखरेलले सरकारसँग बजेट पारित गर्नका लागि स्पष्ट बहुमत रहेको बताए ।
‘पेश्की बजेट सकिनुअघि कात्तिक मसान्तभित्रै सहमति नभए पनि सरकारले बजेट
ल्याउँछ’ उनले भने । तत्काल नयाँ सरकार बन्ने सम्भावना नदेखिएको बताउँदै
उनले कात्तिकभित्र बजेट नल्याए देशमा आर्थिक सङ्कट उत्पन्न हुनसक्ने
चेतावनी दिए ।