


नुवाकोट, २३ पुस : एकीकृत (माओवादी)का केन्द्रीय सचिव सिपी गजुरेलले जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड अल्पमतमा परिसकेको दाबी गर्नुभएको छ । पार्टी लाइनविपरीत आत्मसमर्पणवादी ढङ्गले अघि बढेकाले केन्द्रीय समितिमा मतदान भए संस्थापन पक्षकै सदस्यहरुले अध्यक्षको विरोधमा मतदान गर्नेसमेत गजुरेलले बताउनुभयो ।
नुवाकोटको बट्टारमा आयोजित पत्रकार भेटघाटमा सचिव गजुरेलले वर्तमान सरकार रहिरहे पार्टीको अस्तित्व समाप्त हँुदै जाने भएकाले आफ्नो समूह नयाँ सरकारको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।सञ्चारकर्मीहरुको एक जिज्ञासामा सचिव गजुरेलले आफ्नो समूहलाई शान्ति विरोधी बनाउने षड्यन्त्र भइरहेको बताउँदै आफ्नो समूहले जनविद्रोह भने पनि हतियार बोकेर जङ्गल नजाने स्पष्ट पार्नुभयो ।
दलहरुबीचको सहमतिबिना संविधान नबन्ने भए पनि पार्टी नेतृत्व सहमतिका नाममा आत्मसमर्पण गर्दै हिँडेका कारण नेतृत्वको विरोध गर्नुपरेको बताउँदै नेता गजुरेलले सातबुँदे र चारबुँदे सहमति गरेर अध्यक्ष र प्रधानमन्त्रीले क्रान्तिप्रति बेइमानी गरेको आरोपसमेत लगाउनुभयो ।