


प्युठान, २५ माघ : तपाइँको घरमा चर्पी छ कि छैन ? घरवरिपरि सफासुग्घर छ कि छैन ? यदि तपाइँ प्युठान बस्दै आउनुभएको छ र घरमा चर्पी छैन भने अब तपाइँले सहजै रुपमा सरकारी सेवा पाउन सक्नु हुने छैन । जिल्लालाई सन् २०१३ सम्ममा खुला दिसामुक्त जिल्ला बनाउने समय नजिँकिदै गर्दा स्थानीय निकायले यस्तो उपाय अपनाएका हुन् ।
प्युठानमा अब घरमा शौचालय नबनाएकाले गाविसबाट उपलब्ध हुने सेवा सुविधा अब नपाउने भएका छन् ।
घरमा चर्पी बनाए–नबनाएको पहिचानका लागि स्थानीयलाई नागरिकताजस्तै छुट्टै परिचय–पत्र उपलब्ध गराउने अभियानसमेत थालिएको छ ।
गाविसस्तरीय सरसफाइ समन्वय समितिले गाविसका स्थानीय उपभोक्तालाई पहिचानका लागि दुई परिचय–पत्र वितरण कार्य सुरु गरेको हो । जिल्लामा यस्तो अभियान सबैभन्दा पहिले लुङ गाविसले सुरु गरेको हो ।
चर्पी बनाएकालाई रातो परिचयपत्र र नबनाएकालाई पहेँलो परिचयपत्र प्रदान गरिएको गाविस सचिव पुष्पराज थापाले बताउनुभयो ।
गाविसमा दुई थरी कार्ड वितरण सुरु भएदेखि गाउँलेहरु सबैले चर्पी बनाउन सक्रियता देखाएको गाविस प्राविधिक रुद्रविक्रम केकेले बताउनुभयो । ‘अब अधिकांश दलित बस्तीमा चर्पी बनाउन बाँकी रहेको छ ।’ उहाँले भन्नुभयो, ‘१८६ चर्पी निर्माणाधीन अवस्थामा छन् ।’
गाविस कार्यालयमा नागरिकता सिफारिस, जम्मदर्ता, विवाहदर्ता, विद्युत् जडान, जग्गा किनबेचलगायतका पञ्जिकरणका कामका लागि सिफारिस लिन आउँदा नागरिकताबाहेक गाविसले उपलब्ध गराएको छुट्टै परिचय–पत्र लिएर आउनुपर्दछ ।
रातो परिचय–पत्र लिएर आउनेहरुको मात्र सहजै रुपमा हुन्छ, तर पहेँलो कार्ड आउनेहरुको हँुदैन । गाविसका वडावडा र घरघरमा शौचालय बनाए–नबनाएको पहिचानका लागि गाविसस्तरीय सरसफाइ समन्वय समितिले वडास्तरीय सरसफाइ प्रज्वलक खटाउने गरेको छ ।
उनीहरुले गाउँका सबै घरमा गई चर्पी बनाएको भए रातो परिचय–पत्र र नबनाएको भए पहेँलो परिचय–पत्र वितरण गर्दै चर्पी बनाउन उत्प्रेरित गर्ने कार्य गर्दै आएका छन् । यसका लागि गाविसले सबै वडालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न घरैपिच्छे शौचालय बनाउन स्थानीयलाई तीन महिनासम्मको समय दिने गरिएको छ ।
यस्तै अभियान लुङबाहेक खलङ्गा, तोरवाङ र फोप्ली गाविस गाविसमा पनि आगामी फागुन १ गतेदेखि लागु गर्ने गरी रातो र पहेँलो कार्ड वितरण कार्र्य सुरु गरिँदैछ ।
समितिका सदस्यसचिव तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयप्रमुख फत्तबहादुर क्षेत्रीले भन्नुभयो, “हामी फोहरमुक्त जिल्ला बनाउने अभियानमा लागिपरेका छौँ, यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।
जमिनहीन गरिब नागरिकको बस्ती रहेको स्थानमा गाविसमा जाने गरेको गाउँ सरसफाइ कार्यक्रमअन्तर्गतको बजेट तथा जिल्ला विकास कार्यालयबाट समेत बजेट निकासा गराइ सामूहिक चर्पी निर्माण र प्रयोग गर्न लगाउने गरिएको छ ।
गाउँमा सबै घरमा चर्पी बनाएमा गाविसस्तरीय सरसफाइ समन्वय समितिले पुरस्कारस्वरुप रु एक हजार र आवश्यकताअनुसार अनुदान सहयोगसमेत गर्दै आएको छ ।
जिल्लालाई फोहरमुक्त बनाई सफा र स्वच्छ वातावरण बनाउने स्थानीय निकाय र प्रशासनको यो अभियानलाई सबै पक्षले सकारात्मक रूपमा हेरेका छन् र सबैले साथ दिने प्रतिबद्धतासमेत जाहेर गरेका छन् ।
सन् २००८ को सुरुदेखि थालिएको पञ्चवर्षीय सरसफाइ अभियानअनुसार जिल्लामा हालसम्ममा ८ गाविस, दुई दर्जनभन्दा बढी वडा र डेढ दर्जनभन्दा बढी गाउँ खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । जिल्लामा ४५ हजार ८०५ घरधुरी रहेकोमा झन्डै ६५ प्रतिशतले चर्पी बनाएको तथ्याङ्क रहेको छ ।