dashain
Wednesday, 17 October 2018 09:21 am, Nepal

“तपाई जीवितै हुनुहुन्छ ?”

मेचीकाली : 2015-05-20 17:16:53


-एकराज पाठक

‘तपाई जीवितै हुनुहुन्छ ?’ वैशाख १२ गतेको विनाशकारी भूकम्पको ३३ घन्टापछि जीवितै उद्धार गरिएकी सुनिता सिटौलाले पुनर्जीवन पाएको पक्का भएपछि आफ्ना पतिसँग बोलेको पहिलो वाक्य हो यो ।  “त्यसपछि त मैले पनि मन थाम्न सकिनँ अनि आपसमा अँगालो हालेर निकैबेर रोयौँ,” पति महेन्द्र सिटौलाले भने । आफू बसेको घरको भग्नावशेषमा पुरिएर ३३ घन्टापछि अर्कै संसारमा उक्लिएकी सुनितालाई आफू उद्धार भएको त थाहा भयो तर आफ्ना पति जीवितै नहोलान् कि भन्ने ठूलो त्रास थियो ।

    बाहिर निकालिएपछि उनले आफ्ना पतिलाई पनि जीवितै देखिन् र पहिलो वाक्य खुसीका साथ नै यसरी बोलिन् । सुनिताले भनिन् – “मलाई त आफूले नयाँ जीवन पाएको मात्र होइन कि अर्कै लोकमा बसाई सरेर आएको अनुभव भयो । त्यसमा पनि आफ्नो पतिलाई झन् हाँसीखुसी देख्दा त मैले झन् मन थाम्नै सकिनँ ।”

    तपाई ३३ घन्टापछि जीवितै बाहिर आउन सक्नुभयो, अनि आफ्ना श्रीमान्लाई देख्दा उहाँसँग पहिला के भनेर बोल्नुभयो भन्ने प्रश्नमा उनले भनिन् – बाहिर आउनासाथ मेरा श्रीमान्लाई देख्दा मेरो खुसीको सीमा नै रहेन र तपाई पनि जीवितै हुनुहुन्छ भनेर सोध्न पो पुगिछु ।

    तर सुनिता ३३ घन्टासम्म माटोमुनि बस्दा उनका श्रीमान् महेन्द्रले के कति गोता पाएभन्ने बारेमा भने उनले धेरैपछि मात्र थाहा पाइन् । उनी भित्र छिन् र बोलिरहेकी छिन् भन्ने महेन्द्रलाई थाहा थियो । उनी पाँचतले घरको भूईँतलामा पुरिएकी थिइन् र उनका पति महेन्द्रले बाहिरबाट सुनिता भन्दै बोलाउने गर्दथे ।

    महेन्द्र भन्छन् – “मैले बोलाउदा बुढीले दुरुस्तै बोलेको सुन्थेँ र जतिसक्यो चाँडो बाहिर निकाल्नका लागि म पनि ३३ घन्टा नै नखाई र नसुतिकनै लागिपरेँ । तरपनि निकै कठिनसाथ त्यो काम सम्भव भयो । शनिबार करिब १२ बजे भूकम्प गयो, पहिल्यै झट्कामा पाँचतले भवन गल्र्यामगुर्लुम भयो र उनी पाँचतले भवनको भूईतलामै पुरिइन् ।”

    “त्यसपछि कैयौं पटक उनले सुनिताको नामले बोलाए । भित्र आफ्नी सुनिता बोलेको सुनिएपछि उनी सशस्त्र प्रहरी र सेनासँग हारगुहार गर्न लागे । प्रहरी त्यहाँ आयो पनि तर पुरिएको ढलानको चप्रो काट्ने ब्लेड नभएकाले ऊ फर्कियो । एक्साभेटर चलाउन मैले दिइनँ तर हाम्रा उद्धारकर्मीसँग यस्तो साधन छैन, मलाई साह्रै आपत् प¥यो” – महेन्द्र भन्छन् ।

    त्यसपछि उनले भारतीय उद्धार टोलीसँग गई अनुरोध गरे र त्यहाँ ल्याए । सो उद्धार टोलीको लामो समयको प्रयासपछि भने उनलाई जीवितै बाहिर निकाल्न सफल भए । आइतबार राति ९ बजे उनले नयाँ जीवन पाएर बाहिर आइन् । यसअघि उनको उद्धारका लागि ल्याइएका सवारीमा तेल नभएकाले काम गर्न नसकेको, अर्काेमा चक्काको हावा खुस्किएकाले काम नगरेको र यति गर्दा पनि नभएपछि आफ्नी श्रीमतीलाई बाँच्न नलेखेकै रहेछ क्यारे भनेर निराश बनेको यथार्थलाई उनले बडो टिठ लाग्दो गरी एकादेशको कथाको शैलीमा सुनाउँदा जो कोहीलाई पनि मन थाम्न गाहै्र पर्छ ।

    सुनितालाई भूकम्प आएको थाहा थियो र भाग्न खोजिन् । तर भूईँ तलामै रहेकी उनलाई बाहिर निस्कन भने ढोकाले दिएन । भान्छामा रहेकी उनले भनिन् – “भाग्दै थिएँ तर मूल ढोकामा आएपछि भने ढोका नै खस्यो र मलाई छेक्यो । पछि ममाथि त्यही ढोकाको टाँड परेछ र म उत्तानो परेर लडेकै अवस्थामा थुनिएँ । यताउति चल्मलाउन पनि पाइनँ र त्यही अवस्थामा नै उद्धार भएर बाहिर आउन सकियो ।”

    उनका श्रीमान्ले आफ्नी सुनिता बोलेको सुनेको भएपनि तिनी भने भित्र इन्तु न चिन्तु थिइन् ।

    आफ्नो दुर्दशा सम्झिँदै सुनिताले भनिन् – “कोही गुन्गुनाएजस्तो त भित्रबाट सुन्थेँ तर आवाज बुझ्दैनथेँ । म उत्तानो परेर लडेकी थिएँ, सबैतिर भग्नावशेषले पुरेका थिए । हात चलाउन पनि पाउँदैनथेँ । शरीर भिजेको थियो । पानी रहेछ भन्ने त थाहा पाएँ निकै तिर्खा लागेको थियो तर पानी खान खोज्दा हात बाँधिएको थाहा पाउथेँ । मुखमा पानी कतैबाट आउला कि भन्ने प्रयास गरेँ तर सम्भवै भएन ।”

    तिनले भनिन् –    “कति समय भयो आफू थुनिएको केही थाहा थिएन । कहिले मर्छु या कसैले उद्धार पो गरिदेला कि भन्नेजस्ता कुराहरू दिमागमा आउँथे तर छिनछिनमा अचेत हुन्थेँ, केही थाहा पाउन्नथेँ । बाहिर कता कता आवाज आएजस्तो सुन्दा कोही त आउला कि बचाउन भन्ने चाहिँ लागेको थियो ।”

    अघिल्लो दिन सुनिताले सपनाका ठूल्ठूला सिरानी हालेर सुतेकी थिइन् । उनका श्रीमान महेन्द्रले पनि ४ महिनामात्र अघि सुरु गरेको व्यवसायले आफूलाई राम्रै कमाई देला भन्ने भरोसा राखेका थिए । तर बसुन्धराको नमूना टोलमा रहेको भाडाको घरसँगै यो दम्पतीको सपना पनि गल्र्यामगुर्लुम ढले । महेन्द्रले १३ वर्षसम्म विदेशमा बसेर कमाएको सारा सम्पत्ति नै घरको भग्नावशेषमा पुरिए । क्षणभरमै उनीहरूका सपना पुरिए र विनाशकारी भूकम्पले उनीहरूलाई सुकुम्बासीमा परिणत गरिदियो ।

    तेह्रथुम संक्रान्ति गाविसका उनीहरू साना दुई छोराका साथ चार महिनामात्र अघि काठमाडौँ आएका हुन् । महेन्द्र भन्छन् – “मैले १३ वर्षसम्म खाइ नखाई कमाएको र गाउँको सारा घरजग्गा बेचेर जम्मा पारेको २५ लाख रुपैयाँ लगानी गरेर सोही घरमा मासु पसल खोलेको थिएँ ।” तर उनीसँग अहिले त्यो पसलको कुनैपनि संरचना र सामान बाँकी छैन, भग्नावशेषमा पुरिएका छन् ।

    उनले भने – “अब गाउँ जाउँ भने सबै बेचेर यहाँ आयौँ, यहाँ केही छैन, भूकम्पले हामीलाई सुकुम्बासी बनायो ।”

    सुनिता भन्छिन् – “मैले अर्काे जीवन पाएको खुसियाली धेरै समयसम्म रहेन । जब हाम्रो पसल पुरिएको भन्ने थाहा पाएँ त्यसपछि मलाई त्यो भूईँमा पुरिएको जत्तिकै पीडा सुरु भएको छ । चार महिनाअघिमात्र त्यत्रो सम्पत्ति लगाएको व्यवसाय अब हामीसँग छैन, अन्त जाने ठाउँ छैन । अबको जीवन कस्तो हुने हो, हाम्रा अगाडि पूरै अँध्यारो छ ।”

    सुनिताको जस्तै पीडा खेप्ने यो देशमा यतिखेर धेरै नेपाली दाजुभाइ दिदी बहिनीहरू छन् । तर यो प्रकृतिको क्रुरता मात्र हो । यसका विरुद्ध अबका दिनमा सबैजना एक भएर शोकलाई शक्तिमा बदल्नुको अर्काे विकल्प छैन । संसारका नागरिकले त सात समुद्रपारिबाट हामीलाई अरबौँ रुपैयाँ सहयोग गरेका छन् । हामी नेपालीले पनि एकले अर्काेलाई मन र धनले सहयोग गर्नसक्नु पर्छ । क्रुरताले दिएको यो नियतिमा हामी सबैले पसिना सिंचेर यो देशलाई हराभरा बनाउन प्रण गर्नुपर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु