dashain
Thursday, 18 October 2018 01:51 am, Nepal

गाउँ छिचोल्दै हिमाल हेर्दै !

मेचीकाली : 2016-05-09 14:22:18


कास्की-

कहिले आफ्नो उचाइभन्दा पहाड होचोजस्तो, कहिले खोँचमा हराउँदा आफ्नै उचाइ घटेजस्तो । कहिले आँखामा टाँसिने हिमाल आफ्नो कुमसम्म मात्र आउँदा संसार जितेजस्तो । अनि कहिले हिमालतिर चियाउँदा टोपी नै खस्ला जस्तो !“हिमाली क्षेत्रको पदयात्रामा निस्कँदा सधैँजसो यस्तै लाग्छ”, नेपाल टे«ेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चलका अध्यक्ष रामचन्द्र शर्माले भन्नुभयो– “त्यसैले त पदयात्रा सधैँ हनिमुनजस्तो लाग्छ ।”

पर्वतको बनौँदेखि सुरु हुने नयाँ पदयात्रा मार्ग खोजीको क्रममा निस्किएका बेला आफूजस्तै हजारौँ पदयात्रा पथप्रदर्शकको मुखियासमेत रहनुभएका शर्मा पदयात्रा पथप्रदर्शकको परिचय भएको बताउनुहुन्छ ।

टान पश्चिमाञ्चको टोली पुराना पदयात्रा मार्ग मोटरबाटोले बिगारेपछि वैकल्पिक पदयात्रा मार्गको खोजीमा निस्किएको हो । पछिल्लो समय, एकोहोरो हिँडाइ र दृश्यावलोकन वाहेक हिमाली क्षेत्रको ग्रामीण संस्कृतिबारे पर्यटकलाई जानकारी दिने उद्देश्यले टानले गाउँ छिचोल्दै जङ्गल पस्ने अनि जङ्गल छिचोल्दै गाउँ पस्ने पदयात्रा मार्गको खोजी थालेको छ ।

उक्त मार्ग अन्नपूर्ण पदयात्रा क्षेत्रभित्रै पर्छ । पर्वतको बनौँ गाविसबाट सुरु हुने पदयात्रा मार्ग पोखराबाट एक घन्टाको मोटरयात्रा अनि दुई घन्टाको हिँडाइपछि पुगिन्छ । समुद्र सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको बनौ पुन मगरको बस्ती हो । पुन मगरको संस्कृति, घाँटु र ठाडो भाका, गाउँमै उत्पादन गरिएको लोकल रक्सीको स्वाद यहाँको विशेषता हो ।

पर्यटकलाई गाउँलेकै घरमा सुताउने यहाँको चलन छ । स्थानीयवासी तथा पर्यटक पथप्रदर्शक अर्जुन पुनका अनुसार पर्वतको नयाँपुल हुँदै पुनहिल पुग्ने वैकल्पिक मार्गसमेत यही नै हो । “पर्यटकको चहलपलहल बढ्न थालेपछि गाउँमा होमस्टेको व्यवस्था गरिएको छ,” उहाँले भन्नुभयो– “पर्यटक सधैँ नयाँ ठाउँ जान मन पराउँछन् त्यसैले यो मार्ग चल्ने सम्भावना धेरै छ ।”

गाउँ नजिकै दुई हजार ५९० मिटरको उचाइमा रहेको हल्जुरेको डाँडाबाट अन्नपूर्णदेखि लमजुङ हिमालसम्मको शृङ्खला देखाउँदै उहाँले भन्नुभयो, “यहाँ आएपछि पर्यटक त्यसै लोभिन्छन् ।” टान पश्चिमाञ्चलका कोषाध्यक्ष इन्द्रमान चौहान आवश्यकताअनुसार पदयात्राको दिन घटाउन तथा बढाउन सकिनु सो पदयात्रा मार्गको विशेषता भएको बताउनुहुन्छ । त्यहाँबाट पर्वतकै बनौँ, सालिजा, लेखाफाँट भएर म्याग्दीको राम्चे गाविसको नागीहुँदै पुनहिल जान सकिन्छ । नागी महावीर पुनको गाउँ हो । पुनले सामुदायिक पर्यटनको अवधारणा भित्र्याउँदै गाउँलाई बेतारे इन्टरनेटमार्फत संसारसँग जोड्नुभएको छ ।

पर्यटन उद्योगको लाभ गाउँका सबैले पाउनुपर्छ भन्ने मान्यताअनुसार गाउँमा समुदायकै पहलमा सामुदायिक होटल निर्माण गरिएको छ । त्यहाँ पुग्ने पर्यटकले खाना र बस्नका लागि खर्चेको पैसा समेत समुदायकै लागि खर्च गरिन्छ । “कहिले पसिना चुहाउँदै उकालो चढ्नु, कहिले हिमाल हेर्दै डाँडाडाँडै तेर्सिनु त कहिले समुदायसँग बसेर सांस्कृतिक कार्यक्रमको मज्जा लिनु, यो पदयात्राको विशेषता हो”, टान पश्चिमाञ्चलका अध्यक्ष शर्माले थप्नुभयो– “गाउँलेलाई पर्यटन उद्योगको लाभ चखाउन र उनीहरुको आर्थिक उन्नतिका लागि पदयात्रा मार्गको खोजी अभियान चलाएका हौँ ।”

नयाँ पदयात्रा मार्गलाई अहिलेदेखि नै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार थालिएको छ । टान पश्चिमाञ्चलले पोखरा आएका पर्यटकलाई अन्नपूर्ण क्षेत्रका विभिन्न भागमा पदयात्राका लागि पठाउने गर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु