dashain
Friday, 19 October 2018 02:29 pm, Nepal

दर्शकबीच लोकप्रिय बन्दै ‘छमछमी’

मेचीकाली : 2018-09-20 16:21:46


–कालिका खड्का
  ‘नेपाल टेलिभिजन’को नृत्यमा आधारित पहिलो रियालिटी शो टेलिभिजन कार्यक्रम ‘छमछमी’ नेपाली मौलिक संस्कृतिको संरक्षणमा ध्यान दिएर लोकप्रिय बन्न सफल भएको छ ।छमछमी नेपाली माटोसुहाउँदो मौलिक नृत्य कार्यक्रम हो । ‘नेपाली मनको, नेपालीपनको’ मौलिक कार्यक्रम छमछमीमा आउने दर्शकको मतको मात्राले पनि यो कार्यक्रमप्रतिको आकर्षणलाई देखाउँछ ।

मेचीदेखि महाकालीसम्म करीब दुई हजार पाँच सय नृत्यप्रेमीले छलछमी–३ सम्म नाचेर गइसकेका छन् । संविधान दिवसका अवसरमा नेपाल टेलिभिजनले आजदेखि ‘छमछमी–४’ को ‘काठमाडौँ अडिशन’(जाँच) शुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले छमछमी–४ को उद्घाटन गर्दै देशको आर्थिक समृद्धिका लागि कला, संस्कृति र सभ्यताले ठूलो सहयोग गर्न सक्ने बताउनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “ देउडा, तामाङ सेलो, चण्डी नाच, सोरठी आदि हाम्रा मौलिक संस्कृति हुन् ।”

सबल राष्ट्र निर्माणको आधार कला र संस्कृति बन्न सक्ने बताउँदै उहाँले नेपालका सबै संस्कार र संस्कृतिलाई व्यापक प्रचारप्रसार गरेर त्यसलाई पर्यटनमा रुपान्तरण गर्न सके अर्थाेपार्जन हुनाका साथै संस्कृतिको पनि संरक्षण हुने स्पष्ट गर्नुभयो । मन्त्री बाँस्कोटाले छमछमी कार्यक्रमले देशमा छरिएर रहेका प्रतिभाहरुको पहिचान तथा कला र संस्कृतिको संरक्षण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल टेलिभिजनका अध्यक्ष डा महेन्द्र विष्टले नेपाली प्रतिभाको प्रष्फुटन गर्ने उद्देश्यले शुरु गरिएको सो कार्यक्रममा नेपालीको मौलिक पहिचान झल्कने तथा मुलुकभित्रका १२५ जातजाति र १२३ भाषाभाषीको वेशभूषा देखिने बताउनुभयो ।

‘छमछमी’ नृत्य कार्यक्रममा १४ वर्षमाथिका नेपाली नागरिकले भाग लिन पाउनेछन् । नेपाल टेलिभिजनको रजत महोत्सवका उपलक्ष्यमा २०६६ सालदेखि सो कार्यक्रमको शुरुआत भएको हो ।

छमछमी–४ का निर्णायकमा नृत्याङ्गाना मिथिला शर्मा हुनुहुन्छ । उहाँ पहिलो शृङ्खलादेखि नै निर्णायकको भूमिकामा रहनुभएको छ । त्यस्तै राष्ट्रियदेखि अन्तर्राष्ट्रियस्तरमा समेत नृत्य मञ्चमा स्थापित महेश गोदार र नेपाली सिने जगत्की नायिका सञ्चिता लुइँटेल हुनुहुन्छ ।

छमछमी–४ मा २०० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । काठमाडाँैपछि बिर्तामोड, इटहरी, जनकपुर, हेटाँैडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढी अडिशन हुनेछ । कार्यक्रम प्रस्तोतामा नारायण कडरिया र रोशनी खत्री रहनुभएको छ ।

आगामी कात्तिक ४ गतेदेखि साँझ ८ः५० बजे प्रसारण गरिने छमछमी–४ पनि दर्शकमाझ लोकप्रिय हुने विश्वास आयोजकले गरेको छ । छलछमी सिजन–१ मा झापाकी अजुजा अग्रवाल, छलछमी सिजन–२ मा पूर्वकै साजन तामाङ र छलछमी सिजन–३ मा हेटाँैडाका सरोज प्रजा विजेता बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु