dashain
Saturday, 20 October 2018 06:12 pm, Nepal

अमेरिकी सर्वोच्च अदालतमा क्याभाना नियुक्त

एजेन्सी : 2018-10-07 14:39:05


वासिङ्टन, २१ असोज : विरोधका बीच अमेरिकी सर्वोच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभाना नियुक्त हुनुभएको छ । अमेरिकी संसदमा भएको मतदानमा क्याभानाको नियुक्तिको पक्षमा ५० र विपक्षमा ४८ मत परेको थियो ।न्यायाधीश क्याभानाको संसदीय अनुमोदन लगत्तै सर्वोच्च अदालतमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ गराइएको छ ।

सर्वोच्च अदालतमा उक्त समारोह चलिरहँदा बाहिर क्याभानाको विपक्षमा रहेकाहरुले नाराबाजी गरेका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । न्यायाधीश क्याभानाले आफूमाथि स्कुले जीवनमा यौनशोषण गरेको भन्दै प्राध्यापक क्रिस्टिन ब्लासी फोर्डले संसदको न्यायिक समितिमा स्वयं उपस्थित भएर बयान दिनुभएको थियो । तर क्याभानाले उक्त आरोप असत्य रहेको र त्यो आफ्नो चरित्र हत्या गर्ने कुत्सित मनसायबाट प्रेरित रहेको बताउँदै आउनुभएको थियो ।

सिनेट न्यायिक समितिमा भएको सुनुवाइमा सहमति नभएपछि विपक्षी डेमोक्रेटिक पार्टीका सांसदको अनुरोधमा क्याभानामाथि लागेका आरोप बारे छानबिन गर्न अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई) लाई जिम्मा दिइएको थियो ।

न्यायाधीश क्याभानाको विषयमा अमेरिकी समाज नै दुई कित्तामा बाँडिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायाधीश क्याभानालाई सर्वोच्च अदालतमा नियुक्तिका लागि मनोनयन गर्नुभएको थियो । उहाँले क्याभाना एक इमान्दार र सक्षम व्यक्ति रहेको बताउँदै आउनुभएको थियो । राष्ट्रपति ट्रम्पले क्याभानाको अनुमोदन लगत्तै चुनावी सभामा सम्बोधन गर्दैै “यो अमेरिकी जनताको जीत भएको” बताउनुभयो ।

अनुदारवादी भनेर चिनिएका क्याभानाको नियुक्तिसँगै अमेरिकी सर्वोच्च अदालतमा अनुदारवादी न्यायाधीशको बहुमत पुगेको छ । अमेरिकी सर्वोच्च अदालतमा नियुक्त हुने न्यायाधीशहरु आजीवन सो पदमा रहन पाउँछन् ।

न्यायाधीश क्याभानाको पक्षमा भएको यो मतदानले आगामी नोभेम्बरमा हुने अमेरिकी सिनेटको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई थप मद्दत पुग्ने अपेक्षा समेत गरिएको छ ।

केन्टुकी राज्यबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन सिनेटर मिच म्याककोनेलले यो विजयले रिपब्लिकनको मत बढेको दाबी गर्नुभयो । तर डेमोक्रेटिक पार्टीका नेता चुक शुमरले न्यूयोर्कमा भन्नुभयोः “जनताले परिवर्तन चाहेका छन्, र त्यो मतदानका दिन देखिने छ ।”

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु