‘गर्भवती र सुत्केरीमा कोभिड–१९ को जोखिम कम’


 Mechikali 

काठमाडौँ — गर्भवती र सुत्केरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमण फैलिएको पाँच महिनामा तीन सुत्केरी र पाँच जना गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ २० मा एकै दिन एक सुत्केरी र दुई गर्भवतीमा संक्रमण रहेको पाइएको थियो ।उनीहरू सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र थापाथलीको प्रसूति गृहमा स्वास्थ्य जाँचका लागि पुगेका थिए । शनिबार भक्तपुरमा पनि एक सुत्केरीमा कोरोना पुष्टि भयो । मध्यपुर अस्तपालका शल्यक्रिया भएको ३० बर्षिया सुत्केरीमा कोरोना देखिएको हो ।
यसअघि ग्वार्कोको किस्ट मेडिकल कलेज र धुलिखेलमा उपचाररत १/१ जना सुत्केरी, हेटौंडाकी २५ वर्षीया र तेह्रथुमकी २० वर्षीया गर्भवतीसमेत संक्रमित भएका थिए । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भई धुलिखेलमा २९ वर्षीया सुत्केरीको संक्रमण जटिलताकै कारण मृत्युसमेत भएको थियो । उनमा मृत्युपश्चात् कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये आठ जना गर्भवती र सुत्केरीमा मात्रै कोभिड संक्रमण देखिएकाले आत्तिनुपर्ने स्थिति नभएको विज्ञहरु बताउछन् ।

संक्रमण फैलिन थालेलगत्तै अस्पतालमा नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्यासमेत घटेको छ । संक्रमण हुने डरका कारण उनीहरू अस्पताल आउन छाडे या लकडाउनले यातायातमा कठिनाइ भएर यस्तो भएको हो, अहिले कुनै निष्कर्षमा पुग्न नसकिने प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतम बताउँछन् । उनका अनुसार लकडाउनअघि यहाँ दैनिक ८० जनासम्म सुत्केरी हुन्थे, अहिले ५० देखि ६० जनासम्म सुत्केरी हुन आउँछन् । ओपीडी खुलै भए पनि निकै कम मात्रै गर्भ जाँचका लागि आउने गरेको उनले बताए । ‘डराएरै नआएको हो भने त्यस्तो त्रसित हुनुपर्ने केही छैन,’ उनले भने, ‘सामान्यभन्दा गर्भवतीमा रोगसँग लड्ने क्षमता धेरै हुन्छ, उनीहरूमा कोभिड संक्रमणको जोखिम निकै कम हुन्छ ।’

प्रतिक्रिया



थप समाचारहरु