भकुण्डेमा रहेको सैनिक ब्यारेकका अठार सैनिकमा कोरोना पुष्टि


 Mechikali 

काभ्रे– काभ्रेको भुकुण्डेमा रहेको नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डामा कार्यरत १८ जना सैनिकमा कोरोना पुष्टि भएको छ । मंगलबार १८ सैनिकसहित काभ्रेमा एकै दिन ५६ नयाँ संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार मंगलबार भकुण्डेमा रहेको २६ नम्बर बाहिनी अड्डामा कार्यरत १५ पुरुष र ३ महिला गरी १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । झा अनुसार मंगलबार काभ्रेको धुलिखेल नगरपालिकाबाट १२ महिला र पाँच पुरुष गरी १७ जना, पनौती नगरपालिकाबाट एक जना पुरुष र एक जना महिला गरी दुई जना, पाँचखाल नगरपालिकाबाट दुई पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी मण्डनदेउपुर नगरपालिकाबाट एक पुरुष, भुम्ल्ु गाउँपालिकाबाट एक पुरुष र बनेपा नगरपालिकाबाट १० जना पुरुष र पाँच महिला गरी कुल १५ जना नयाँ संक्रमित थपिएका हुन् । कार्यालयका अनुसार कोरोना संक्रमितमध्ये मंगलबार ६९ जना निको भई घर फर्केका छन् । काभ्रेमा हालसम्म ५ सय ३२ पुरुष र २ सय ९३ गरी संक्रमितको संख्या ८ सय २४ पुगेको छ । संक्रमितमध्ये हालसम्म ५ सय २४ जना कोरोना निको भई घर फर्केका छन् । यसअघि काभ्रेको पाँचखालमा रहेको बिरेन्द्र सैनिक कार्य तालिम केन्द्रमा रहेका सैनिकमा समेत पटक÷पटक कोरोना संक्रमण देखिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेमा अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९२ रहेको छ । जसमा १ सय ८६ पुरुष र १ सय ६ महिला रहेका छन् । जिल्लामा अस्पताल आइसोलेसनमा १ सय ३५ जना रहेका छन् भने होम आइसोलेसनमा १ सय ५७ जना रहेका छन् ।

प्रतिक्रिया



थप समाचारहरु