काभ्रेमा प्रदेश सरकारले पाँच खेल मैदान बनाउने


 Mechikali 

काभ्रे – काभ्रेका पाँच स्थानीय तहमा पाँच वटा खेलमैदान निर्माण हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७७÷०७८ मा काभ्रेका पाँच स्थानीय तहमा खेल मैदान निर्माण गर्न लागेको हो । प्रदेश सरकारले काभ्रेको मण्डनदेउपुर नगरपालिका–५ मा तपेश्वर खेल मैदान, पाँचखाल नगरपालिका–४ मा पाँचखालस्तरीय खेलमैदान निर्माण गर्ने भएको हो ।
यसैगरी नमोबुद्ध नगरपालिका–८ मा दारिमबाट खेल मैदान, महाभारत गाउँपालिका–६ मा देविटार खेल मैदान र चौरीदेउराली गाउँपालिका–५ मा शहीद तीर्थ स्मृति खेलमैदान निर्माण हुन लागेको सार्वजनिक निर्माण कार्यान्वयन इकाइ काभ्रेका इकाइ प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो । उहाँले तपेश्वर खेल मैदानका लागि २० लाख, पाँचखाल नगरस्तरिय खेलमैदानका लागि ३० लाख, दारिमबोट खेल मैदानका लागि २० लाख, देविटार खेलमैदानका लागि २० लाख र शहीद तीर्थ स्मृति खेलमैदान निर्माणका लागि ३० लाख रुपिँया बजेट विनियोजन भएको बताउनुभयो ।
इकाइ प्रमुख दर्जीले खेल मैदान निर्माण हुने स्थानका स्थानीयबासीहरुको माग र स्थानको आवश्यकता अनुसार कार्यक्रम अघि बढाइने बताउनुभयो । उहाँले कतिपय स्थानमा जग्गा सम्याउनुपर्ने, कतै पर्खाल लगाउनुपर्ने र कतै निर्माण भएको खेल मैदानमा भलिबल, फुटबल खेल्नका लागि पोलहरु समेत निर्माण गर्ने बताउनुभयो । दर्जीले कुन खेल मैदानको लागि के काम गर्दा उपयुक्त हुन्छ त्यहि अनुसार कार्यक्रम अघि बढाइने बताउनुभयो । उहाँले पालिकामार्फत वडा कार्यालयमा वडा अध्यक्षको रोहवरमा समिति निर्माण गर्नका लागि स्थानीय तहलाई पत्राचार गरिएको बताउनुभयो ।
इकाइ प्रमुख दर्जीले खेल मैदान निर्माण गर्ने स्थानको स्थलगत अनुगमन तथा डिजाईन र स्टमेटका लागि कर्मचारीहरु फिल्डमा समेत खटिएको बताउनभुयो । उहाँले दशैँ अघि सम्भव भएका खेल मैदानको निर्माणको सम्झौता गर्ने र दशैँपछि खेल मैदान निर्माणको काम अघि बढाइने बताउनुभयो ।

 

प्रतिक्रिया



थप समाचारहरु