फूटबल र विवादका पर्याय थिए माराडोना


 Mechikali 

लागूऔषध कुलतका कारण फूटबल मैदानबाट अपमानित भएर निस्किएपछि पनि उनले दुर्व्यसन छाड्न सकेनन्। दुर्व्यसन छाड्ने उनका हरेक प्रयास असफल भए। जीवनको अन्तिम समयमा पनि उनी रक्सीको कुलत छाड्न प्रयासरत थिए। तर, हृदयघातका कारण उनको निधन भयो।

सन् १९९४ को विश्वकप फूटबल खेल्दाखेल्दै ‘डोपिङ’मा परेपछि उनले बीचैमा घर फर्कनु परेको थियो। अन्तिम विश्वकपमा उनले लिग चरणका दुई खेल मात्र खेल्न पाए। उनले दुई खेलमा एक गोल मात्र गरे पनि दुवैमा अर्जेन्टिना विजयी भएको थियो। तर, त्यसपछि उनको अनुपस्थितिमा खेलिएका दुवै खेलमा अर्जेन्टिना पराजित भयो।

उनी अर्जेन्टिनाका लागि प्रेरणा थिए। उक्त विश्वकपको पहिलो खेलमा ग्रिसलाई ४–० ले पराजित गर्दा गाब्रियल बाटिस्टुटाले ह्याट्रिक गरेका थिए। थप एक गोल माराडोनाले नै गरेका थिए। दोस्रो खेलमा नाइजेरियालाई २–१ ले हराउँदा दुवै गोल क्लाउडिओ क्यानेजियाले गरे पनि उनी मैदानमा छाएका थिए।

तर, त्यसपछि उनी घर फर्किए र लिग चरणको तेस्रो खेलमा अर्जेन्टिना बुल्गेरियासँग २–० ले पराजित भयो। अन्तिम–१६ मा रोमानियासँग ३–२ गोलले पराजित भएर विश्वकपबाटै बाहिरियो।

यो विश्वकपमा अमेरिकाले षडयन्त्रपूर्वक माराडोनालाई विश्वकपबाट निकालेको आरोप पनि लाग्यो। उनको कम्युनिष्ट नेताहरुसँगको सम्बन्धका कारण यसो भएको बताउनेहरु पनि थिए। तर, उनी लागूऔषध दुर्व्यसनी रहेको स्पष्ट मात्र भएन कि सार्वजनिक रुपमा नै उनका हर्कत देखिन थाल्यो। त्यसपछि अमेरिकाविरुद्धको आरोप पनि मत्थर भयो।

यसपछि उनी आफैँ पनि अमेरिकाका कट्टर विरोधी भएर निस्किए। उनले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुस ‘युद्ध अपराधी’ भएको बताए। अमेरिकाविरोधी गतिविधिमा सामेल भए। सन् २००५ मा अर्जेन्टिनामा भएको ‘समिट अफ द अमेरिकाज’मा यदि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुस उपस्थित भए आफैंले उनीविरुद्धको प्रदर्शनको नेतृत्व गर्ने धम्की दिए।

पछि बुस विरोधी भनिएको सो र्‍यालीमा हजारौंको सहभागिता भयो। तर, उनी र्‍यालीमा सहभागी भएनन्। र्‍याली रंगशालामा पुगेपछि भने भेनेजुएलाका तत्कालीन नेता ह्युगो चाभेजसँगै उनी पनि उपस्थित भए। त्यतिवेला उनले बुसको फोटोमा ‘युद्ध अपराधी’ लेखिएको टि–सर्ट लगाएका थिए।

सो समिटविरुद्धमा माराडोना, बोलिभियाली राष्ट्रपति पदका तत्कालीन उम्मेद्वार इभो मोराल्सलगायतले छुट्टै ‘पिपल्स समिट’को नेतृत्व गरेका थिए। जसलाई ‘अमेरिकन एन्टी समिट’ समेत भनिन्छ ।

माराडोना क्युबाका तत्कालीन राष्ट्रपति फिडेल क्यास्ट्रो र क्युबाली क्रान्तिका नायक चे ग्वेभाराको फ्यान थिए। दाहिने पाखुरामा चे ग्वेभारा र बायाँ पिडुलामा क्यास्ट्रोको टाटु खोपेका थिए। उनी निर्वाचनबाट सत्तामा पुगेका भेनेजुएलाका तत्कालीन राष्ट्रपति ह्युगो चाभेज र बोलिभियाली राष्ट्रपति इभा मोराल्ससम्मका समर्थक थिए। उनको यही छविका कारण पनि पटक पटक चर्चा र विवादमा आए।

सन् २००२ मा लागूपदार्थबाट टाढा हुन उपचारको सिलसिलामा उनी क्युवा पुगे। यसभन्दा अगाडि सक्रिय खेल जीवनमा पनि सन् १९८७ र १९९४ मा क्युबा भ्रमण गरेका थिए। त्यतिबेला नै उनको राष्ट्रपति फिडेल क्यास्ट्रोसँग गतिलो सम्बन्ध जोडिएको थियो। सन् १९८७ मा पहिलो पटक क्यास्ट्रोलाई भेट्दा उनले आफ्नो १० नम्बरको राष्ट्रिय टोलीको जर्सी उपहार दिएका थिए। क्यास्ट्रोले पनि उनलाई हरियो सैनिक क्याप दिएका थिए।

माराडोना एकपटक भारत पनि आएका थिए। उनले सन् २००८ मा कोलकाता भ्रमण गरेर पश्चिम बंगालका पूर्व मुख्यमन्त्री तथा भेट्रान कम्युनिष्ट नेता ज्योति वसुसँग भेट गरेका थिए। तत्कालीन क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोले सन् १९७३ मा भारत भ्रमणका वेला वसुसँग खिचेको फोटो आफ्नो कार्यालयमा राखेका थिए। त्यही फोटोका कारण माराडोना वसुसँग भेट गर्न पुगेका थिए।

‘हाते गोल’ र विश्वकप उपाधि

अर्जेन्टिनाले अहिलेसम्म दुई पटक विश्वकप फूटबल जितेको छ। दोस्रोपटक सन् १९८६ मा विश्वकप जित्दा अर्जेन्टिनासँगै माराडोनाको पनि चर्चा चुलियो। वास्तवमा उनी अर्जेन्टिनाले फाइनल नजित्दै क्वाटरफाइनलको खेलबाटै चर्चाको शिखरमा पुगेका थिए।

क्वाटरफाइनमा अर्जेन्टिनाले इङ्ल्याण्डविरुद्ध २–१ को जित निकालेको थियो। दुवै गोल माराडोनाले गरेका थिए र ती दुवै गोलले इतिहास कायम गरेका थिए। उनले ५१औँ मिनेटमा हातले गोल गरेका थिए।

रेफ्रीले गोल भएको संकेत गरेपछि इङ्ल्याण्डका खेलाडीले विरोध पनि जनाएका थिए। वास्तवमा माराडोनालाई पहेँलो कार्ड दिनुपर्ने थियो। तर, रेफ्रीले हात देखेनन् र टाउकाबाट गोल गरेको ठानेर आफ्नो निर्णयमा अडिग भए। खेल सकिएपछि माराडोनाले भने, “त्यो ईश्वरको हात थियो।”

त्यसपछि उनले ५५औँ मिनेटमा अर्को गोल गरे। उक्त गोल विश्वकप फूटबल प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्टमध्येको एक मानिन्छ। उनले अर्जेन्टिनी क्षेत्रबाट बल बढाएर एक्लै इङ्ल्याण्डका खेलाडीलाई छलाउँदै एक्लै पोष्टसम्म लगेर गोल गरेका थिए। यसलाई कतिपय फूटबल पण्डितले ‘शताब्दीकै उत्कृष्ट गोल’ पनि भन्छन्।

इङ्ल्याण्डविरुद्धको जित अर्जेन्टिनाका लागि किन पनि महत्वपूर्ण थियो भने चार वर्षअघि मात्र फोकल्याडको टापुको विषयलाई लिएर यी दुई देशबीच युद्ध भएको थियो। युद्धमा अर्जेन्टिनाले हारेको थियो। उसका करीब ६५० सेना मारिएका थिए। इङ्ल्याण्डका भने २५५ सेना मात्र मारिएका थिए।

यो खेलपछि माराडोनाले दिएको अभिव्यक्तिले पनि विवाद सिर्जना गरेको थियो। उनले यो खेल युद्धको बदला भएको बताएका थिए। उनले सन् २००० मा प्रकाशन गरेको ‘आई एम एल डिएगो’ आत्मकथामा पनि ‘त्यो खेल मात्र नभएर त्योभन्दा बढी थियो’ लेखेका छन्।

उक्त विश्वकपमा अर्जेन्टिनाले सेमिफाइनलमा बेल्जियमलाई २–० ले, फाइनलमा पश्चिम जर्मनीलाई ३–२ गोलले पराजित गरेको थियो। बेल्जियमविरुद्धका दुवै गोल माराडोनाले नै गरेका थिए। फाइनलमा भने उनले गोल गर्न सकेनन्। तर, मैदानमा उनको उपस्थिति हेर्न लायक थियो।

त्यसपछि सन् १९९० को विश्वकप फूटबलमा पनि माराडोनाले आफ्नो देशलाई फाइनलसम्म पुर्‍याएका थिए। फाइनलमा पुनः एकपटक पश्चिम जर्मनी र अर्जेन्टिना नै प्रतिस्पर्धामा थिए। तर, अर्जेन्टिना १–० गोलले पराजित भएको थियो। पश्चिम जर्मनीका आन्ड्रेस ब्रेम्हेले विवादास्पद पेनाल्टीमा गोल गर्दै आफ्नो देशलाई विश्वकपको उपाधि दिलाएका थिए।

-हिमाल खबरबाट साभार

 

प्रतिक्रिया



थप समाचारहरु