ब्लग : टेलिभिजन अनि म !


 Mechikali 

  • विनोद न्यौपाने

सामान्य परिवार, खान लाउन ठिक्क । टिभी त के रेडियो किन्न नि गाह्राे ?️

म सँगसँगै नेपालमा टेलिभिजन पनि जन्मियो, नेपाल टेलिभिजनको रुपमा । म हुर्कदै गर्दा पनि घरमा टिभी राख्नु सम्भ्रान्त वर्गको शोखको बिषय थियो, सम्पन्नताको सूचक। घरमा श्यामस्वेत टिभी हुने नै धनी मानिन्थ्यो, रंगीन टिभी त सपनाको कुरा ।

त्यसबेला टिभीमा दिउँसो दुई बजे हिन्दी फिलिम आउथ्यो, ट्वाक्क टुक्क, चन्द्रकान्ता, हिजोआजका कुरा, चित्रलहर आदि नेपाली र हिन्दी कार्यक्रम आकर्षणका कुरा थिए ।
घरमा टिभी नहुँदा लुकेर, भागेर कैयौंपटक अरुको घरमा गएर एकटकले सिरियल, फिलिम सक्काएपछिको फुर्ती सम्झदा अहिले पनि रोमान्चित हुन्छु ।?

टिभी हेर्न गएकै निहुँमा गाली त कति खाइयो कति । शनिबार दिउँसोको फिलिम हेर्न घरको काम हतारहतार सकेर रेडी भैन्थ्यो । ?

कक्षा सात पढ्दासम्म हाम्रो गाउँको तल्लो टोलमा मुस्किलले दुई-तीन घरमा टिभी थियो, सबैकोमा श्यामस्वेत टिभी । कहिले कसकोमा, कहिले कसकोमा गर्दै चन्द्रकान्ताको सबै भाग हेरिएनमात्रै, कन्ठैसम्म पारियो त्यो पनि सिन-बाई-सिन । ट्वाक्क टुक्क हेरेर नारायण त्रिपाठीको जस्तो मुख बिगार्न त्यहिबेला सिकेको हो । हरेक दशैं नारायण त्रिपाठीकै टेलिफिल्म हेरेर बिताइन्थ्यो । मह जोडीका लालपुर्जादेखी कुष्ठरोगबारेको अहो तथा ठगीबारेको लक्ष्मी अहिले पनि लगभग ९०% याद छ । १५ गते हेरेर कैयौंपटक मुर्छा पर्नेगरी हासेको हिजैजस्तो लाग्छ ।

धेरै संघर्ष पछि घरमा टिभी आयो । अब टिभी हुनुको सान ? फुर्तिफार्ती नै गजबको । तर, दिनको सातपटक छानामा राखेको एन्टेना घुमाउनुको सास्ती ओहो !

बिहान इमेज च्यानल, दिउँसो सांग्रीला च्यानल । दुबै नेपाल टेलिभिजनमा आउथे । पपगीतको फ्यान, आलोक नेम्बाङको फ्यान इमेज च्यानलबाटै भएको हो । अनि सांग्रीला च्यानलबाटै बासुदेवदेखी लोभीपापी फिलिमसम्म हेरियो । शुक्रबार राती मेट्रो च्यानलले दिने जाली रुमाल फिलिम हेर्दाहेर्दा ‘माछा पानीमा पौडिए सरी..’ गीत कन्ठ पारियो ।? रंगीन टिभी हेर्ने रहरले श्वामस्वेत टिभीलाई रातोरातो प्लास्टिक हालेर रंगीन पनि बनाइयो । डेक भाडामा ल्याएर कैयौं फिलिम हेरियो, राजेश दाईदेखी सुनिल सेठ्ठीसम्मको फ्यान त्यहिबेला भएको हो ।

टिभी हेर्नको कुदाकुद, टिभीमा आएका फिलिम र सिरियलका डाइलग बोल्दै साथीहरुसँग कुरा गर्दै ‘याक्सन’ देखाउनुको मज्जा, ओहो ! साँच्चै स्वर्ण युग थियो त्यो ?
एसएलसीसम्म टिभी हेर्न, त्यसमा आएका फिलिम कन्ठ पारेर साथीभाईलाई सुनाउन पाउँदा निकै गर्विलो महसुस हुन्थ्यो ।

जब आइए सकियो, जिन्दगीले मोड लियो, टेलिभिजन हेरेर फुर्ती गर्ने उमेर अनि समय कहाँ रह्यो र ! आफैं टेलिभिजनमा काम गर्ने पो भइयो । झन्डै दुई बर्ष एक टेलिभिजन च्यानलमा काभ्रे संवाददाताको काम गरियो, अहिलेजस्तो खिच्यो पठायो, एकछिनमा बज्यो भन्ने अवस्था थिएन । मागेको क्यामराले रिलवाला चक्कामा खिचेको भिजुअल काठमाडौ पठाउन बाह्रबिसेबाट आउने बस कुर्दा, अनि चक्का पुग्यो भनेपछि डेस्कटप गएर न्युज टाइप गराएर फ्याक्स पठाउँदा सिंगो दिन बित्थ्यो ।

अझै याद छ टिभीमा काम गरेर जम्मा भएको २४ हजार रुपैयाँ लिन ४८ पटक धाएको, क्यामरा किनेको पैसा तिर्न नसक्दा दाईको गाली खाएको अनि लु भएन भनेर झन्डै दुई बर्ष पत्रकारितामा ब्रेक समेत लगाएको । (यसको कथा कुनैदिन लेखिएला)

अनि आज,
अहिले त सबै कुरा हाइफाई भैसक्यो, टिभी आम मान्छेको पहुँचमा पुग्नेमात्रै होइन, मोबाइलमार्फत हातहातमा टिभी पुगिसक्यो । टिभी हेर्नमात्र होइन टेलिभिजन पत्रकारिता पनि पहिलेको तुलनामा निकै सहज बनिसक्यो । अहिलेका बच्चा जन्मेदेखी मोबाइल र टिभीसँगै पाइला चाल्छन् । न टिभी समृद्धिको सूचक रह्यो, न टिभीप्रती त्योबेलाको जस्तो मोह !

तर मलाई भने दुई दशकपछि पनि सम्झना आउँछ, दिनेश डिसीदेखि उषा खड्की र जिपी तिमल्सिना अनि सिवानीसिं थारुले चलाएका कार्यक्रम, महदेखी नारायण त्रिपाठी अनि सन्तोष पन्तका हसिला, रसिला र टेसिला हास्यव्यङ्ग्य शृङ्खलाहरू !

विश्व टेलिभिजन दिवसको सबैलाई शुभकामना !

प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !