नगर र नगरवासीको मुहार परिवर्तन गर्न लागिपरेका छौं


 Mechikali 

सानै उमेरदेखिको राजनीतिक र पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तित्व हुन्– टंकप्रसाद शर्मा तिमल्सिना । काभ्रेको नमोबुद्ध नगरपालिकाका प्रमुख तिमल्सिना नगरमा कृषि र पर्यटनको विकासलाई प्राथमिकता दिएर अघि बढेका छन् । कृषि भूमिमा इँटा हैन, धान फलाउनुपर्छ भन्दै अघि बढेका तिमल्सिनाले नगरपालिकाको भकुन्डेबेसी फाँटमा रहेका इँटा उद्योग विस्थापन गरेर त्यसको सुरुवात गरेका थिए । अहिले नमोबुद्धलाई समृद्ध बनाउन उनीसहित सिंगो नगरपालिका कसरी लागेको छ ? निर्वाचित भएपछि केके गरे र के गर्न बाँकी छ भन्ने लगायतका विषयमा उनीसँग कपिल कोइरालाले गरेको कुराकानीको सार :

यतिखेर चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको चरणमा हुनुहुन्छ । कत्तिको व्यस्त हुनुहुन्छ ?
नगरको समग्र विकासका लागि चालू आर्थिक वर्षको नीति, कार्यक्रम, बजेट पारित भइसकेकाले त्यसलाई विकास–निर्माणका कार्यमा लगाउन छलफल तथा योजना बनाउन, जनताका समस्याहरूलाई सहज, सरल र पारदर्शी तरिकाले सेवा प्रवाह गर्न तथा हाल महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कामकाजमा व्यस्त रहेका छौं ।

चालू आवका मुख्य योजनाहरू केके हुन् ?
हरेक वर्षझंै विकास–निर्माणका कार्यहरूलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइलाई विशेष प्राथमिकतामा राखेका छौं । कोरोना भाइरस महामारीको चपेटामा परेको यस नगरपालिकामा सर्वप्रथम हामीले हाम्रा नगरवासीहरूको स्वास्थ्यमा विशेष ध्यान दिई नगरभित्र सञ्चालित सबै स्वास्थ्य संस्थाहरूलाई चौबीसै घण्टा सेवा प्रवाह गर्ने कार्ययोजना निर्माण गरी दक्ष जनशक्ति तयार गरेका छौं । सुलभ र सहज तरिकाबाट नगरवासीलाई स्वास्थ्य क्षेत्रमा पहुँच पु¥याउने योजना बनाएका छौं । त्यस्तै, लामो समय शिक्षाक्षेत्र ठप्प भएको अवस्थालाई सहज तरिकाले अध्यापन गराउन विशेष पहलको सुरुवात गरेका छौं । एक घर एक धारोको अवधारणालाई निरन्तरता दिँदै यो वर्ष करिब ९० प्रतिशत जनताको घरघरमा शुद्ध पिउने पानीको व्यवस्था बनाउन विभिन्न खानेपानीका योजनाहरू सञ्चालनमा ल्याउँदैछौं । कृषिमा आत्मनिर्भर गरी व्यावसायिक तरिकाले समेत आय आर्जन गर्न सकिने बनाउन डिपबोरिङ सञ्चालन क्रमशः वृद्धि गर्दै लैजाने; कुलो, नहरको निर्माण गर्ने; कृषिमा अनुदानका प्याकेज सार्वजनिक गर्ने; मल, बीउ, कृषि औजार, प्राविधिक सहयोग गरी उत्पादनलाई वृद्धि गर्ने; प्रत्येक टोलटोलबाट कृषि उपज वस्तुहरू संकलन गरी कृषि बालीहरूलाई नगरकोे संकलन केन्द्रसम्म ल्याई व्यवस्थित तरिकाले नगरको आफ्नै ब्रान्ड निर्माण गरी बजारीकरणको व्यवस्थासमेत मिलाउने कार्यलाई उच्च प्राथमिकतामा राखी नगर कृषि एम्बुलेन्ससमेत सञ्चालनको व्यवस्था गर्ने योजना निर्माण भइसकेको छ । प्रत्येक वडामा वडा कार्यालय भवन तथा स्वास्थ्य संस्थाको आफ्नै भवन निर्माण गर्ने, वडा कार्यालयदेखि नगरपालिका भवनसम्म पक्की सडक, प्रत्येक स्वास्थ्य संस्थाबाट वडा कार्यालयसम्म पक्की सडक निर्माण सम्पन्न गर्ने योजना छ । नगरबाट तथा वडाबाट हुने जनताका हरेक सेवालाई सुलभ तथा सरल तरिकामार्फत कार्य सम्पन्न गर्न लेस पेपर सिस्टम बनाउने, नगर र वडाबाट जनतालाई दिनुपर्ने सेवालाई डिजिटाइज गरी कार्य गर्ने मुख्य योजनाहरू रहेका छन् । यही वर्ष नगरपालिकाको समन्वयमा वडा नं. ८ मा राष्ट्रिय युवा परिषद्मार्फत युथ इनोभेसन सेन्टर निर्माणको कामसमेत सुरु गरिसकेका छौं ।

चुनावताका जनतालाई दिनुभएको आश्वासन के कति पूरा भए ? कति बाँकी छन् ?
मैले जनतासामु केही प्रतिबद्धता गरेको थिएँ । ती कतिपय त पूरा भएका छन्, कतिपय कार्यक्रम बाँकी नै छन् । तैपनि यो पाँच वर्षको कार्यकालको अन्त्यसम्म मैले नगरवासीहरूसँग गरेको प्रतिबद्धता पूरा गर्न हरेक पल अझै लागिरहेको छु । आशा छ, त्यो परिणाम देखिन अब नगरवासीले धेरै समय कुर्नु पर्दैन । जसमध्ये पाँच बेथितिको अन्त्य गरी पाँचवटा समृद्धिको उपयोग गराउने पहलमा लागिरहेको छु । समृद्धिका लागि मुहार परिवर्तन, खाद्य सुरक्षा, समृद्ध नगर, नगर उद्यम केन्द्र र कृषि पर्यटनको अवधारणाअनुसार काम भइरहेको छ । मुहार परिवर्तनको अवधारणाअनुसार नगरभित्र अव्यवस्थित रूपमा बनेका टहरा विस्थापनदेखि राजमार्ग फराकिलो बनाएर तथा बगैंचा, पार्कहरू निर्माणको योजना अघि सारिएको छ । यस्तै खाद्य सुरक्षाको अवधारणाअन्तर्गत स्थानीय उत्पादनको प्रयोगमा जोड दिने तथा तिनीहरूलाई प्रशोधन गर्दै व्यावसायिक रूपमा अगाडि बढ्न मद्दत गर्ने रहेको छ भने नगरलाई समृद्ध बनाउन एक घर एक रोजगारको योजना अघि सारिएको छ । त्यसका लागि युवाहरूलाई स्वरोजगार बनाउन घरेलु तथा साना उद्योगको स्थापनामा जोड दिई स्वरोजगार बनाउने अवधारणाअनुसार काम भइरहेको छ । यसैगरी नगर उद्यम केन्द्रको अवधारणाअनुसार स्थानीयस्तरमा उत्पादन हुने सामग्री प्रशोधनका लागि उद्योग स्थापनाको योजनाअनुसार काम भइरहेको छ भने कृषि र पर्यटनलाई सँगसँगै अघि बढाएर आयआर्जनमा वृद्धि गर्ने प्रतिबद्धताअनुसार काम भइरहेको छ ।

जनताले घरमै सिंहदरबार महसुस हुने केके काम गर्नुभयो ?
स्थानीय स्तरबाट नगरवासीले पाउनुपर्ने नियमानुसारको सेवा–सुविधामा नगरवासीलाई झन्झट नहुने गरी हरपल हरसमय सेवा प्रदान गरेका छौं । वडाबाट हुने सेवा सुविधा, सिफारिस वडा जनप्रतिनिधिहरूले छिटो–छरितो तरिका अपनाई कार्य गरिरहनुभएको छ । नगरबाट दिनुपर्ने सेवामा नियमले पाउनेसम्म हामीले दिनरात नभनी सेवा प्रदान गरेका छौं । नगरपालिकाबाट मात्र नभई प्रदेश तथा केन्द्र सरकारसँग समेत हामीले नगरवासीका सेवालाई सहजीकरण गरी छिटोभन्दा छिटो सम्पन्न गराउन विभिन्न सहयोग पु¥याएका छौं ।

शिक्षाका लागि केके गर्नुभयो ?
शिक्षाको विकास हाम्रो प्रमुख योजनामै समावेश भएको हुँदा हामीले विगतका वर्षहरूमा शिक्षालाई बालबालिकाको नैसर्गिक अधिकारभित्र राखेर अभिभावकहरूमा शिक्षासम्बन्धी चेतनाको विकास, आमा शिक्षा कार्यक्रम, घरदैलो कार्यक्रममार्फत जनचेतना जगाउने अभियान, विपन्न परिवारका नानीबाबुहरूलाई अभिभाकत्व ग्रहण गरी शिक्षा प्रदान, व्यवस्थापन समिति, विद्यालयका प्रअ, शिक्षकलगायत सरोकारवालाहरूलाई चेतनामूलक कार्यक्रम सञ्चालन गरी नगरका सबै विद्यालय उमेरका बालबालिकाहरूलाई शिक्षाको पहुँचमा पु-याउन सफल भएका छौं । विद्यालयको भौतिक पूर्वाधार विकास बालमैत्री बनाउँदै लगेका छौं । प्रत्येक विद्यालयमा पर्याप्त शुद्ध पिउने पानीको व्यवस्था तथा शौचालयको व्यवस्था गरेका छौं । किशोरीमैत्री शिक्षामा विशेष कार्यक्रम तथा सहयोग पुग्ने खालका कार्यक्रमहरू गरेका छौं । विद्यालयसम्म आवतजावत गर्ने सडकलाई स्तरोन्नति गर्दै विद्यार्थीहरू विद्यालयसम्म जान सहज वातावरण सिर्जना गरेका छौं । नगरमा व्यावसायिक शिक्षाका लागि श्री जनक माविमा पशुविज्ञान विज्ञान कक्षा सञ्चालन गरेका छौं । प्रत्येक माध्यमिक विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला, कम्प्युटर शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका छौं । समग्रमा भन्नुपर्दा अब नमोबुद्ध नगरपालिकाबाट माध्यमिक शिक्षा अवधिभरमा आफ्नो भविष्यको आधार निर्माण गरी अन्तर्राष्ट्रिय स्तरसम्ममा समेत प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रस्थानमा आउन सक्ने वातावरणको सिर्जना गर्ने वातावरण निर्माण गरेका छौं ।

तपाईंको निकायमा खानेपानी र स्वास्थ्यको अवस्था के छ ?
समग्र नगरवासीहरूलाई खानेपानीका लागि नगरमा पर्याप्त आफ्नै मूल नभएका कारण हाल ५० प्रतिशत नगरवासीलाई खानेपानीको समस्या छ । त्यसैले हामीले खानेपानी योजनाहरू सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्थामा यो नगरपालिका गुजे्रको छ । तैपनि हाम्रो दायित्व तथा नगरवासीको आशाको केन्द्रमा रहेको स्थानीय सरकार भएको हुनाले हामीले सम्पूर्ण नगरवासीलाई शुद्ध खानेपानीको व्यवस्था गर्न एक घर एक खानेपानी धारा सम्पन्न गराउन नगरभित्र विभिन्न खानेपानीका योजनाहरू कतिपय अन्तिम चरणमा र कतिपय मध्यचरणमा कार्य भइरहेका छन् । छिटै हामी यी योजनाहरू सम्पन्न गरी खानेपानी वितरण गर्नेछौं ।

कोरोना भाइरस व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?
आजको मितिमा भन्नुपर्दा नमोबुद्ध नगरपालिका, कोरोना भाइरस संक्रमणबाट यहाँका नागरिक, जो नगरपालिकाभित्रै स्थायी रूपमा बसोबास गर्नुभएको छ, नगरपालिकाभित्रै आफ्नो काम, व्यवसाय गरिरहनुभएको छ, उहाँहरू सुरक्षित रहनुभएको छ, नगरवासी जो आफ्नो कामको सिलसिलामा वा उपचारका क्रममा कतै अस्पतालमा जानुभएको छ, त्यस्ता केही व्यक्ति संक्रमित हुनुभएको छ । भारतलगायत अन्य मुलुकबाट आउने केही व्यक्ति संक्रमित हुनुभएको थियो । नगरले बनाएको क्वारेन्टाइन र आइसोलेसनमा स्वास्थ्यकर्मीको निरन्तर निगरानीमा पोजेटिभ केसहरू सबै नेगेटिभ भएर आआफ्नो घर फर्किसक्नुभएको छ । अहिले तपाईंलाई भनिरहँदा नगरको आइसोलेसनमा दुई जनामात्र कोरोना पोजेटिभ संक्रमित हुनुहुन्छ । हामीले यति सतर्कता अपनाउन सफल भयौं कि नगरभित्र कुनै पनि समुदाय वा परिवारमा संक्रमण फैलिएको अवस्था हामीले भोग्नुपरेन । यहाँका जनप्रतिनिधि साथीहरू, नागरिक समाज, शिक्षक, व्यवसायीलगायत सम्पूर्ण नगरवासीहरूले नेपाल सरकारको तथा नगरको स्वास्थ्य मापदण्डको निर्देशनलाई अलिकति पनि अवज्ञा नगरी सुरक्षित तरिका अपनाएर एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्नुभयो, उहाँहरू सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । जब विश्वमा कोरोना भाइरस महामारीको अवस्था आयो, नेपाल पनि सुरक्षित रहन सकेन, तत्कालै हामीले नगरस्तरीय एउटा क्यारेन्टाइन स्थल छनोट गरी सुरुमा ६० बेडको स्थापना ग¥यौं । केही समयपछि हामीले १० बेडको आइसोलेसनसमेत स्थापना गरेका छौं । अन्य जिल्लालगायत विदेशबाट आउने नागरिकहरूको हकमा काठमाडौंसम्म नगरको एम्बुलेन्समार्फत हामीले सीधै क्वारेन्टाइन स्थलसम्म ल्याई क्वारेन्टाइनमा बस्ने व्यवस्था ग-यौं । स्वास्थ्यकर्मीको निगरानीमा क्वारेन्टाइनमा निश्चित दिन बसेपछि पीसीआर चेक गर्ने व्यवस्था मिलाएका छौं । परिणाम हेरेर क्वारेन्टाइन्मा बस्नुपर्ने वा घर जाने व्यवस्था मिलाएका छौं ।

गरिब र असहायका लागि गम्भीर प्रकृतिको रोग लाग्दा केही आर्थिक सहयोग दिने नीति छ ?
पक्कै पनि नगर भनेको सम्पूर्ण नगरवासीको अभिभावक भएको नाताले र हाम्रो जिम्मेवारी भएको हिसाबले पनि यस नगरपालिकाभित्रका आर्थिक विपन्नता खेप्नुभएका तथा असहायहरूका लागि नगरपालिकाको कार्यपालिकाले नै निर्णय गरी प्रत्येक व्यक्तिलाई गम्भीर प्रकृतिको रोग लाग्दा हामीले अस्पतालको कागजात हेरी गत आवसम्म रु. २० हजारका दरले प्रदान गरेको नगद सहयोगलार्ई नगरको आफ्नो बजेटको आकार सानो र अत्यधिक गम्भीर प्रकृतिको रोगका बिरामीको चापले गर्दा कोही नछुटून भन्ने उद्देश्यका साथ यो आर्थिक वर्षबाट १५ हजारका दरले नगद आर्थिक सहयोग गर्दै आइरहेका छौं । नेपाल सरकारले तोकेका अस्पतालहरूमा गम्भीर प्रकृतिको रोग लाग्दा पाउने विपन्न नागरिकको हिसाबमा अस्पताललाई १ लाखसम्मको सहुलियत दिन सिफारिससमेत दिने गरेका छौं । यस्तै नगरभित्र रहेका हरेक नागरिकका लागि मोतीबिन्दु न्यूनीकरण गर्न आँखा उपचारको निःशुल्क व्यवस्था गरेका छौं । श्रवणशक्ति कम भएका ज्येष्ठ नागरिकहरूलाई हेयर रिङ मेसिन उपलब्ध गराउने नीति लिएका छौं । प्रत्येक टोलटोलमा प्रत्येक महिना ज्येष्ठ नागरिकहरूको सामान्य स्वास्थ्य परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन गर्ने नीति लिएका छौं । सुत्केरी हुने महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने नीति लिएका छौं ।

कृषिलाई आधुनिकीकरण, यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने कार्यक्रम ल्याउनुभएको छ ?
‘कृषि, व्यापार र पर्यटन : हाम्रो सशक्त अभियान’
भन्ने मूल नारालाई हामीले सार्थक तुल्याउन कृषिमा विशेष योजनाहरू समावेश गरेका छौं । कृषिमा आत्मनिर्भरका साथै व्यावसायिकमूलक समेत गर्न सक्ने गरी हामी योजना कार्यान्वयनमा ल्याउन तयारी अवस्थामा रहेका छौं । परम्परागत कृषि प्रणालीलाई सुधार नगरेसम्म कृषिमा व्यवसायीकरण गर्न कठिनाइ भएको हुँदा नयाँ–नयाँ कृषि उपकरणहरू वितरण, उन्नत जातका बीउबिजन, प्राविधिक सहयोग, निरन्तरको अनुगमन तथा परामर्श कार्यक्रम, जहाँ कृषक आफैंले उत्पादन गरेको क्षेत्रमा गई सहयोग पु-याउने खालका योजना हामीसँग छन् । कृषिका लागि पकेट क्षेत्र अर्थात् पकेट जोन निर्धारण गरी कार्यक्रमहरू अघि बढाउन सिँचाइको व्यवस्थाका लागि आवश्यक ठाउँमा डिप बोरिङ गरिसकिएको छ । व्यक्तिगत तथा सामूहिक खेती प्रणालीको अवधारणा ल्याएका छौं । भौतिक रूपमा कृषि उपज उत्पादन बढाउन गर्नुपर्ने कार्यक्रमहरू हामीले तय गरिसकेका छौं । वैज्ञानिक तरिकाबाट कृषि कार्यलाई प्रभावकारी बनाउन हामीले डिजिटल कृषिको अवधारणा ल्याएका छौं । विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूको सहकार्यमा प्रत्येक कृषकले सजिलै चलाउन सक्ने सफ्टवेयरको विकास गरी आजको मौसम, पछि हुने मौसम अनुमान, आजको बजारीकरण तथा हामीले आज सुरु गरेको कृषि पछि उपयोग गर्ने बेलामा उत्पादित वस्तुको कस्तो अवस्थामा बजारीकरणको व्यवस्था हुनेछ भन्ने अनुमान गरी कार्य गर्न सक्ने अवधारणा ल्याएका छौं । कृषिबाट उत्पादित वस्तुलाई गाउँटोलबाट वडामा रहेको खाद्य तथा तरकारी संकलन केन्द्रमा संकलन, प्रत्येक वडाको संकलन केन्द्रबाट नगरको आफ्नै नगर कृषि एम्बुलेन्सबाट नगरको संकलन केन्द्रमा संकलनको व्यवस्था मिलाई नगरबाट आफ्नै ब्रान्ड बनाई अन्य सहरलगायत राजधानीसम्म लगी बजारीकरण व्यवस्था गर्ने कार्य अन्तिम चरणमै पुगिसकेको अवस्था छ ।

बेरोजगार युवायुवतीलाई कसरी रोजगारी सिर्जना गर्दै हुनुहुन्छ ?
बेरोजगारको समस्या एकै पटक समाधान हुने विषय होइन, तैपनि हामीले बेरोजगार युवायुवतीको तथ्यांक संकलन गरेका छौं, जसमध्ये दक्ष, अर्धदक्ष तथा अदक्ष जनशक्ति वर्गीकरण गरी उपयुक्त किसिमका तालिमहरू पनि प्रदान गर्दै आइरहेका छौं; जस्तै : वाइरिङसम्बन्धी तालिम, होटल कुकसम्बन्धी तालिम, प्लम्बिङसम्बन्धी तालिम, भेटेरिनरीसम्बन्धी तालिम, कृषिसम्बन्धी तालिम, सिलाइकटाइ तालिम, ड्राइभिङसम्बन्धी तालिम, कृषि तथा फलफूल खेतीसम्बन्धी तालिम सञ्चालन गरी आवश्यकताअनुसारको तालिम प्रदानको व्यवस्था गरेका थियौं । सहुलियतमा कृषि कर्जा, कृषि, पशुपालनको क्षेत्रमा अनुदानको व्यवस्था पनि गर्ने कार्यक्रम अगाडि सारेका छौं । आवश्यकताका आधारमा युवायुवतीको क्षमता, दक्षताका आधारमा पनि तालिमहरू सञ्चालन गरी स्वावलम्बी नागरिक बनाउने हाम्रो अभियान जारी छ । नगरपालिकाले आवश्यकताका आधारमा निःशुल्क तालिमको व्यवस्था गरी स्वरोजगारको क्षेत्र विस्तार गर्ने नीतिसमेत लिएको हुँदा हामी हाम्रो नगरपालिकाभित्रका सबै बेरोजगार युवायुवती जो नगर विकासका संवाहक हुन् उनीहरूको सम्पन्नता नै सिङ्गो नगरको विकास भएको हुँदा नगरपालिकाले रोजगार सिर्जना, वृद्धि गर्ने खालका कार्यक्रमहरूलाई विशेष प्राथमिकतामा लिएको छ । विभिन्न समयमा सञ्चालन भएको तालिमपश्चात् तालिममा सक्रिय सहभागी हुनुभएका कतिपय नगरवासी युवायुवतीहरू, जो बेरोजगार हुनुहुन्थ्यो, उहाँहरू कि त रोजगारीमा हुनुहुन्छ कि त तालिमपश्चात् आफैंले व्यवसाय गरेर बस्नुभएको छ । बेरोजगार युवायुवतीहरूको क्षमताको विकास गराई उहाँहरू नै अन्य बेरोजगारहरूलाई रोजगारी दिन सक्ने बनाउनु हाम्रो लक्ष्य छ ।

पालिकास्तरमा भू–उपयोग नीति तयार गरी बस्ती, खेती, औद्योगिक क्षेत्र तथा पार्क र वन क्षेत्र घोषणा भएको छ ?
नगरको विकास तथा वातावरणीय पक्षलाई ध्यानमा राखी हामीले हाम्रो नगरमा भूउपयोग नीति तयार गरेका छौं । भौगोलिक विविधताले जटिल रहेको यस नगरपालिकाका सबै क्षेत्रमा एकै किसिमको तरिकाले कार्य गर्दा त्यसको प्रतिफल पक्कै राम्रो आउँदैन, त्यसैले हामीले सुरक्षित स्थानमा बस्ती विकास, मलिलो क्षेत्रमा कृषि उत्पादन, वातावरणमैत्री उद्योग स्थापनाका लागि औद्योगिक ग्रामको स्थापना पनि गरेका छौं । प्रत्येक वडा एक नमुना पार्क स्थापना गर्ने नीति लिइसकेका छौं । वन क्षेत्रलाई संरक्षत तथा वन क्षेत्रभित्र पनि वातावरण सुहाउँदो जडीबुटी तथा फलफूलमय वन क्षेत्र बनाउनेसमेत कार्य अगाडि रहेको छ ।

महिला, दलित, अल्पसंख्यक र पछाडि पारिएका वर्गका लागि केके कार्यक्रमहरू छन् ?
सम्पूर्ण नागरिकको जीवनस्तर उकास्नका लागि नागरिकमैत्री नीति तथा कार्यक्रमहरूको निर्माण गरेका छौं । नगरबाट प्रभाव हुने हरेक अवसरहरूमा महिला, दलित तथा पछाडि परेका वर्गका लागि पहिलो अवसर सिर्जना गर्ने खालका कार्यक्रमहरू तय भएका छन् । महिलाहरूको आत्मसम्मानपूर्वक समाजमा जिउन सक्ने कार्यक्रमहरू तयार गरेका छौं । महिलाहरूको विभिन्न समयमा आवश्यक सहजीकरण तालिम, नेतृत्व विकास गर्ने कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । परापूर्वकालदेखि सञ्चालनमा रहेका आआफ्ना पेसा–व्यवसायहरूलाई सञ्चालनमा ल्याउने वर्ग, समुदायलाई अनुदानका कार्यक्रमहरू, वैज्ञानिक तरिकाबाट उत्पादन गर्न आधुनिक उपकरणहरूको व्यवस्थासमेतको व्यवस्था मिलाएका छौं ।

तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ?
लामो समयको अन्तरालपछि जनताले चाहेका हामी जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरू सबैको अथक प्रयासमा नगरवासीहरूको इच्छा, आकांक्षालाई सम्बोधन गरी नयाँ–नयाँ प्रविधियुक्त विकास दिई नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन, सेवाप्रवाहमा पारदर्शिता कायम गर्न हामी हरदम तयार छौं । विकास–निर्माणका योजनाहरूमा सबैको पहुँच पुग्ने उद्देश्यका साथ योजना निर्माण, सञ्चालन भइरहेको छ । कतिपय योजना निरन्तर सम्पन्नको अन्तिम चरणमा रहेका छन् । नगरवासीहरू खुसी भए पनि हामी सन्तुष्टि छैनौं, किनकि विकास–निर्माण अन्त्य हुने विकास नभएको हुनाले निरन्तर हामी हाम्रो कर्ममा लागिपरेको अवस्थामा निराश हुने अवस्था पक्कै पनि हामी हाम्रा नगरवासीहरूलाई दिनेछैनौं ।

धार्मिक हिसाबमा नमोबुद्ध, ह्रेन्जेन दोर्जे, कुण्डलगायतलाई कसरी जोड्नुहुन्छ ?
विश्व सम्पदा सूचीमा समेत समावेश हुनुपर्ने नमोबुद्ध परिसर हाम्रो धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको एक सम्पदा हो । यहाँ वार्षिक लाखौं स्वदेशी तथा विदेशी धार्मिक पर्यटकहरू आउने हुँदा हामीले नमोबुद्ध विकास समितिमार्फत नमोबुद्ध परिसरको बृहत् गुरुयोजना तयार पारी अझ थप विकास गर्न योजनाहरू सञ्चालन भइरहेका छन् । नमोबुद्ध परिसरलाई केन्द्रबिन्दु बनाएर प्रत्येक वडामा एक बुद्ध पार्क स्थापना गर्ने क्रम जारी रहेको छ । नमोबुद्ध परिसरबाट प्रत्येक वडामा रहेका बुद्ध पार्कहरूमा पर्यटन क्षेत्र विकास गर्न बुद्ध सर्किट निर्माण गरिएको छ । नमोबुद्ध परिसर आएका धार्मिक पर्यटकहरू दाप्चा बजार हुँदै नेपाने बुद्ध पार्क, रजबम पोखरी बुद्ध पार्क, जगवैज्येश्वर मन्दिर, अमरअखण्ड मन्दिर, ह्रेन्जेन दोर्जे मार्ग हुँदै कानपुरमा रहेको ऐतिहासिक रक्तकाली मन्दिरसम्म समेत जान सक्ने सर्किट निर्माण गरिएको छ, साथै पर्यटकहरूका लागि सो सर्किट भएर आवतजावतका क्रममा सुविधाका लागि विभिन्न स्थानमा पार्क, होमस्टे सञ्चालन गरिने योजना छ । यसले नमोबुद्धमा पर्यटन विकासको क्षेत्रलाई मेरुदण्डका रूपमा महŒव गरी कार्यक्रमहरू सञ्चालनलाई निरन्तरता दिँदै आएका छौं । नमोबुद्ध नगरपालिका एक ऐतिहासिक क्षेत्र रहेको भूमि पनि हो । कैयौं इतिहास बोकेको सम्पदाको धनी नगरपालिका भएकाले यहाँ रहेका ऐतिहासिक मठमन्दिर, पाटीपौवा, गुम्बा, कुण्ड, पोखरी तथा अन्य सम्पदाहरूको हामीले संरक्षण तथा संवद्र्धन गरी पर्यटन विकास गर्ने लक्ष्य नगरपालिकाले लिएको छ ।

कारोबार दैनिकबाट

प्रतिक्रिया



थप समाचारहरु