धुलिखेल अस्पतालले गर्यो कोरोना सङ्क्रमितको निःशुल्क उपचार


 Mechikali 

काभ्रे– काभ्रेको धुलिखेलमा रहेको धुलिखेल सामुदायिक अस्पतालले कोरोना सङ्क्रमणका कारण अस्पतालमा उपचारका लागि भर्ना भएका तीन सय भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । अस्पतालले कोरोना सङ्क्रमित सर्वसाधारण र अस्पतालमा कार्यरत कर्मचारी गरी मङ्सिर १३ गतेसम्म तीन सय ४७ जनाको निःशुल्क उपचार गरेको जनाएको छ । अस्पतालले कोरोना सङ्क्रमण सुरु भएयता असोज मसान्तसम्म निःशुल्क रुपमा दुई सय ५२ जना कोरोना सङ्क्रमितको उपचार गरेको छ । सरकारले कात्तिक १ गतेदेखि उपचार गर्न सक्ने कोरोना सङ्क्रमितले आफै उपचार गर्ने र नसक्नेको निःशुल्क उपचार गर्ने घोषणा गरेपछि उपचार वापतको रकम लिन सुरु गरेको अस्पतालले जनाएको छ ।

अस्पतालले कात्तिक १ गतेदेखि यता मंसिर १३ गतेसम्म अस्पतालमा एक सय ९९ जना कोरोनाका बिरामी अस्पताल भर्ना भएकोमा ३७ जना सर्वसाधारण र अस्पतालमा कार्यरत ५८ जना कर्मचारीको निःशुल्क उपचार गरेको जनाएको छ । जसमा विपन्न नागरिक २५ जना, जेष्ठ नागरिक ११ जना र एकल महिला एक जना रहेका छन् ।
धुलिखेल अस्पतालका प्रशासकिय निर्देशक डा. राजेन्द्र कोँजुले सरकारले तोकेको मापदण्डका आधारमा कोरोना सङ्क्रमितसँग उपचारको रकम लिएको बताउनुभयो । उहाँले कोरोना बिमा गरेका बिरामीले बिमाबाट आएको रकम दिने तथा उपचार गर्न सक्ने बिरामीसँग रकम लिन र उपचार गर्न नसक्ने विपन्न, जेष्ठ र एकल महिलालाई निःशुल्क रुपमा उपचार गर्ने निर्देशन अनुसार उपचार गरिएको बताउनुभयो । कोरोना सङ्क्रमण सुरु भएपछि धुलिखेल अस्पतालले सुरुमा सङ्क्रमित बिरामीको उपचारका लागि आठ बेडको अलग्गै उपचार कक्ष स्थापना गरेको थियो ।
चैत १६ गते कोरोनासँग लक्षण मिल्ने काभ्रेका दश जना र सिन्धुलीको एक जना अस्पतालमा भर्ना भएको र उनीहरुमा कोरोना भने पुष्टी नभएको अस्पतालले जनाएको छ । असार २६ गते अस्पतालमा पहिलो कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएको अस्पतालले जनाएको छ । देशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सरकारले असार महिनामा धुलिखेल अस्पताललाई तेस्रो तहको कोरोना अस्पतालका रुपमा घोषणा गरेको थियो । अस्पताललमा हालसम्म चार सय ५१ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । जसमा तीन सय ९८ जना कोरोना निको भई घर फर्केका छन् । अस्पतालमा भर्ना भएकामध्ये हालसम्म २९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया



थप समाचारहरु