सुनका गहना तथा नगद चोरी गर्ने पाँच जना काठमाडौँबाट पक्राउ


 Mechikali 

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिका–२ का गुञ्जमान तामाङको घरमा रहेको सुनका गहना तथा नगद चोरीमा संलग्ग्न व्यक्तिहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले महानगरिय प्रहरी बृत्त लैनचौर काठमाडौँसँग समन्वय गरी उनीहरुलाई आईतबार राती काठमाडौँका विभिन्न स्थानबाट चोरीएका गहना र नगदसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी कुमार बिक्रम थापाका अनुसार सुनका गहना तथा नगद चोरीमा संलग्न काभ्रेको धुलिखेल नगरपालिका– १ घर भई हाल काठमाडौँ बस्ने राजन तामाङ, ओखलढुङ्गाा जिल्ला सिद्धिचरण नगरपालिका– ५ घर भई हाल काठमाडौँ बस्ने देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ घर भई हाल काठमाडौँ बस्ने रामचन्द्र चालिसे धुलिखेल–७ घर भई हाल काठमाडौँ बस्ने गोयबहादुर तामाङ र धुलिखेल– १ घर भई हाल काठमाडौँ बस्ने राम तामाङ पक्राउ परेका हुन् । उक्त समुहले शनिबार दिउँसो गुञ्जमानको परिवार आफन्तको विवाहमा गएको मौका पारी ताला र दराज फोडी सुनका गहना तथा नगद चोरी गरेको डिएस्पी थापाले बताउनुभयो ।
उनीहरुले तामाङको घरबाट सुनको बाला तीन थान, बेरुवा बाला १ थान, जन्तर एक थान, चन्द्रमा दुई थान, हार दुई थान, बेरुवा रिङ्ग चार थान, चुरा दुई थान, औँठी तीन थान, मङ्गलसुत्र पाँच थान, तीन वटा दाना जोडिएका टुक्राहरु पाँच थान गरी कुल ४४७.८२ ग्राम सुन र अमेरिकी डलर दुई हजार १ र नेपाली एक हजार ५५० रुपियाँ चोरी गरेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । उनीहरुले चोरी गरेको सुनको मूल्य अन्दाजी ५४ लाख ५३ हजार रुपियाँ बराबरको रहेको छ ।
पक्राउ परेका पाँचै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को चोरी तथा डाँका सम्बन्धी कसुर मद्धामा सोमबार जिल्ला अदालत काभ्रेबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु