सङ्क्रमितको घरघरमा पुगेर निःशुल्क आर्युवेद औषधि वितरण


 Mechikali 

काभ्रे– जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका कोरोना सङ्क्रमित भई आइसोलेसनमा रहेका बिरामीलाई निःशुल्क रुपमा आर्युवेद औषधि वितरण गरेको छ । केन्द्रले सक्रिय कोरोना सङ्क्रमित बिरामीको घरमा नै पुगेर निःशुल्क रुपमा औषधि वितरण गरेको हो । बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको विपद् व्यवस्थापन कोषको कार्यक्रम अनुरुप औषधि वितरण गरिएको केन्द्रका प्रमुख कविराज डा. मनोजकुमार चौधरीले जानकारी दिनुभयो ।
केन्द्रले जिल्लाको धुलिखेल नगरपालिकाका ७० जना कोरोनाका बिरामी, पनौती नगरपालिकामा ६० जना, बनेपामा १५० जना, मण्डनदेउपुर नगरपालिकामा ४५ जना र पाँचखाल नगरपालिकामा १० जना कोरोना सङ्क्रमितलाई निःशुल्क रुपमा औषधि वितरण गरिएको हो । कोरोना भएका बिरामीमा थप जटिलता नहोस् र रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने उद्देश्यले निःशुल्क रुपमा आर्युवेद औषधि वितरण गरिएको डा. चौधरीले बताउनुभयो ।
सङ्क्रमित बिरामीलाई त्रिकटु चुर्ण, जेठीमधु चूर्ण र गुर्जोको धुलो तीन थरीका औषधि वितरण गरिएको हो । बिरामीलाई औषधिको प्रयोगको विधि समेत सिकाइएको केन्द्रले जनाएको छ । जिल्लाका १३ वटै स्थानीय तहमा रहेका सङ्क्रमितलाई निःशुल्क रुपमा औषधि वितरण गरिने केन्द्रले जनाएको छ । केन्द्रले कोभिड १९ सङ्क्रमण, नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धी जिल्लास्तरीय केन्द्र, स्वास्थ्य कार्यालय काभ्रे तथा स्थानीय तहसँग समन्वय गरेर औषधि वितरण गरिएको जनाएको छ ।

 

प्रतिक्रिया



थप समाचारहरु