व्यापारिक केन्द्र बन्दै काभ्रेको भकुण्डे


 Mechikali 

भकुण्डे(काभ्रे)– करिब दुई दशक अघिसम्म गाउँको रुपमा रहेको काभ्रेको हाल नमोबुद्ध नगरपालिकामा पर्ने भकुण्डे पछिल्लो समय व्यापारिक केन्द्रको रुपमा परिचित हुन थालेको छ । राजधानी काठमाडौँलाई पूर्व जिल्लाहरुसँग जोड्ने बैकल्पिक राजमार्गको रुपमा बिपी राजमार्ग निर्माण भएपछि भकुण्डे व्यापारिक केन्द्र बन्न पुगेको स्थानीयबासीहरु बताउँछन् ।
विशेष गरी बिपी राजमार्गको निर्माणपछि राजमार्गको आसपासमा घरहरु बनाउने क्रम बढेको थियो । राजमार्गमा सवारीको चाप बढ्दै गएपछि भकुण्डे क्षेत्रमा पसल, व्यवसाय पनि दिन प्रतिदिन थपिने क्रम बढेको हो । ‘२०५८ साल जेठ २ गते जापान सरकारले नेपाल सरकारलाई विपी राजमार्गको धुलिखेल–भकुण्डे खण्ड हस्तान्तरण गरेपछि भकुण्डेमा बसोबास गर्नेको सङ्ख्या थपिँदै गएको हो’ भकुण्डे उद्योग बाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले राजमार्गमा सवारी चाप बढ्दै गएपछि व्यवसायहरु समेत थपिँदै गएको बताउनुभयो । ‘राजमार्ग खुलेपछि भकुण्डे क्षेत्रमा मानिसको चहलपहल सुरु भयो साथै नगरपालिका घोषणा र भुकम्पपछि भकुण्डे क्षेत्रमा सर्वसाधारणहरु आकर्षित भए’ श्रेष्ठले थप्नुभयो ।
उहाँले भकुण्डेमा अहिले आधा दर्जन ठुला होलसेल पसहरु रहेको बताउनुभयो । ‘भकुण्डे बजारसँगै जोडिएका स्थानमा वालुवा प्रशोधन उद्योग, फर्निचर उद्योग छन्, यहाँ स्थापित ईट्टा उद्योग भने वातावरण प्रदुषण भएपछि हटाइएको छ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले बजार क्षेत्रमा सामान्य चियापसल, खाना तथा खाजा घर, कस्मेटिक पसल, मोबाइल, टिभी पसल, किराना पसलको सङ्ख्या दुई दर्जनभन्दा बढी रहेको बताउनुभयो । भकुण्डे क्षेत्रमा राजमार्गमा गुड्ने सवारी साधनमा यात्रा गर्ने यात्रुलाई खाना तथा खाजा खुवाउने उद्देश्यले दर्जनभन्दा बढी खाजा तथा खाना होटल समेत खोलिएका छन् ।
राजधानी काठमाडौँबाट करिब ५० किलोमिटरको दुरीमा रहेको भकुण्डेमा चिया र खाजा खाने स्टेशनको रुपमा समेत परिचित भएको स्थानीय होटल व्यवसायी बद्री अधिकारीले जानकारी दिनुभयो । उहाँले विगत केही वर्षदेखि भकुण्डे क्षेत्र व्यपारिक केन्द्रको रुपमा रहेको बताउनुभयो । उहाँले नमोबुद्ध नगरपालिकाको बुच्चाकोटदेखि नौबिसेसम्म होटल व्यवसाय सञ्चालनमा रहेको बताउनुभयो । उद्योग बाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले भकुण्डे बजारमा क वर्गका तीन वटा बैँक, ख वर्गका २ वटा बैक, ठुला सहकारी ४ वटा, लघुवित्त संस्था ५ वटा, अन्य सहकारी एक दर्जनको हाराहारीमा रहेको बताउनुभयो ।
‘भकुण्डे शहरको रुपमा विकसित हुँदै गएको र बजारको भविष्य राम्रो देखेर विभिन्न व्यवसायहरु खुलेका छन्, भकुण्डे क्षेत्रमा सबै किसिमका पसल, व्यवसाय गर्दा करिब पाँच सयको हाराहारीमा होलान्’ श्रेष्ठले थप्नुभयो । उहाँले भकुण्डेको बजार बढ्दो अवस्थामा रहेको बताउनुभयो । मान्छेको चाप बढेसँगै अहिले उक्त स्थानमा घरभाडा समेत महङ्गो भएको छ । ‘सानो बजार छ, भित्र जानको लागि व्यापारीहरु मान्दैनन्, व्यवसाय गर्ने व्यक्तिले एउटा सानो सटरको १५ हजार रुपियाँ भाडा तिर्नुपर्ने बाध्यता रहेको छ’ उद्योग बाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
भुकम्पपछि तेमाल, जिल्लाको महाभारत गाउँपालिकाको बुढाखानी, घर्तीछाप, सिपाली, शिसाखानीलगायतका मानिहरु आएर घर बनाएर बसेका छन् । नगरपालिकाको घोषणा र भुकम्पपछि भकुण्डे क्षेत्रमा जग्गाको मूल्य समेत आकाशिएको छ । राजमार्गको मापदण्ड यहि हो भन्ने यकिन नभएकोले राजमार्गसँग जोडिएका जग्गाको किनबेच समेत भएको पाँइदैन । कच्ची सडकले छोएको प्रति आना जग्गाको मूल्य अहिले न्यूनतम ८ लाख रुपैँया पुगेको छ भने खेत आनाको ४ लाख भन्दा माथि रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु