चुनाव केन्द्रित भएर सङ्गठन बिस्तारमा लाग्न नेता बाँस्कोटाको निर्देशन


 Mechikali 

पनौती– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले तोकिएको समयमा नै निर्वाचन हुने भएकोले निर्वाचन केन्द्रीत भएर सङ्गठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल काभ्रेको आयोजनामा काभ्रेको पनौतीमा आयोजित बृहत युवा भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता बााँस्कोटाले यस्तो बताउनुभएको हो ।
उहाँले मुलुक चुनावतर्फ अघि बढेकोले काभ्रेका १३ वटै स्थानीय तह, १३५ वटा वडा तथा टोलटोलमा युवाहरुको भेला तथा सङ्गठन बिस्तारमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । उहाँले जिल्लामा रहेका युवा, विद्यार्थी, मजदुर, समाजमा पछि पारिएका व्यक्तिहरुलाई सङ्गठनमा गोलबद्ध गनुैपर्ने बताउनुभयो । उहाँले जनता समक्ष जाँदा केपी ओली नेतृत्वको सरकारले विकास निर्माण, कृषि, पर्यटन, यातायात, सञ्चार, स्वास्थ्यलगायतको क्षेत्रमा गरेका कामहरुको फेहरिस्त लिएर जनता समक्ष पेश गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले भारतलाई गाली गरेर र चीनलाई बोकेर हिँड्ने राष्ट्रवाद नेपालले नचाहेको बताउँदै नेपालीहरुका लागि नेपाली राष्ट्रवाद नै चाहिने बताउनुभयो । उहाँले बहुमत प्राप्त दलको नेताले संसद बिघटन गरेको भन्दै कुनैपनि हालतमा प्रतिनिधि सभा पुर्नस्थापित नहुने दावी गर्नुभयो । उहाँले आगामी निर्वाचनका काभ्रेका ६ वटै सिट ओली नेतृत्वको नेकपाले जित्ने दावी गर्नुभयो । उहाँले प्रचण्ड–माधव नेपालको मुहारमा हाँसो हराएको भन्दै चुनाव रोक्नको लागि निर्वाचन आयोग धाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रामहरि सुवेदी, नेकपा काभ्रे जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, नेकपा केन्द्रीय सदस्य रेशम लामा, केन्द्रीय सदस्य रामहरि सुवेदी, राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेश पौडेल, राष्ट्रिय युवा सङ्घ नेपाल काभ्रेका सहसंयोजक राजकुमार श्रेष्ठले वर्तमान राजनीतिक अवस्था तथा युवाहरुको भूमिकाको बारेमा आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया



थप समाचारहरु