ब्लग : रेडियो !


 Mechikali 

-विनोद न्यौपाने
बच्चा बेलामा यति सानो भाँडोमा कसरी मान्छे पसेर बोल्यो होला !? भन्ने जिज्ञासाका बीच हुर्केको हाम्रो पुस्ता ! म जस्तै धेरैले पक्कै यही सोच्नुभएकै थियो होला ।
हामी सानो छँदा घरमा टिभी होइन रेडियो हुनु पनि शानको कुरा थ्यो । रेडियो नेपाल सुन्न छाडेको बर्षौं भइसक्यो, तर त्यसमा गुञ्जने धुन अझै पनि मनको कतै कुनामा अमीट छाप बनेर बसेको छ ।
कोमल वली र हरिशरण लामिछानेका समाचार सुन्दै, हरेक दिन बेलुका बज्ने घटना र बिचार सुन्दै दिन बित्थ्यो । उमेर बढ्दै जाँदा एफएम खुल्ने क्रम पनि बढ्यो । आठ-नौ कक्षामा पढ्दा दस ब्याण्डको रेडियोमा बल्लतल्ल टिप्ने कान्तिपुर एफएम सुन्नको सकस अहिले पनि याद आउँछन् । ५७-५८ तिर त्योबेलाको एचबिसी एफएम नटिपेर एरियलमा तार गास्दै घरको धुरीसम्म पुर्याएर सुनिन्थ्यो । अहो ! एचबिसी एफएम अहिले अस्तित्वमा छैन, तर लोकदोहोरी गीतका कार्यक्रम चलाउने प्रकाश थापा अझै सम्झनामा छन् (थाहा छैन उनी अहिले मिडिया क्षेत्रमै छन् या अन्त) ।
घरमा भएको रेडियो बिग्रेको बिग्रेई गर्ने ? कतिवटा रेडियो खोलेर आफै मिस्त्री बनेर बनाइयो गनिसाध्य नहोला, मामाघरमा हजुरबाले सुन्ने रेडियो ‘झ्याप हानेर’ लेराको पनि अस्ति जस्तै लाग्छ । अहिले न त्यो रेडियो साथमा छ न हजुरबा साथमा हुनुहुन्छ ?
अल इन्डिया रेडियोमा आउने नेपाली भाषाको कार्यक्रम, बिबिसी नेपाली सेवा (त्योबेला राती एघार बजेतिर पनि आउथ्यो) सुनेर मनोरञ्जन लिनु हाम्रो पुस्ताको रहर अनि बाध्यता दुबै थियो । अहिलेका केटाकेटी जन्मना साथ आमाबुबा होइन मोबाइलतिर हेर्छन् ।
२०५८ साल जेठ !
बिहान उठेर रेडियो बजाउन खोज्दा शोक धुनमात्रै बज्यो, कता के भयो कसो भयो थाहा पाउन न इन्टरनेट न सामाजिक सञ्जाल । अल इन्डिया रेडियो बल्लतल्ल टिपाउँदै दरबार हत्याकाण्डको सूचना थाहा पाइयो, त्यो पनि मध्यान्हतिर । अहिले पो कति सहज छ सूचना पाउन, डोनाल्ड ट्रम्प या बाइडेन अथवा पुटिनले पादेको पनि सेकेण्डमै विश्वभर भाइरल हुन्छ ।
एसएलसी पछि,
उच्च शिक्षाका लागि काठमाडौं बस्दा न फेसबुके साथी थिए, न ट्विटे (मार्क जुकरबर्ग कतै गुच्चा खेल्दै थियो होला त्योबेला?) साथी भनेकै रेडियो थियो । बिहान चार बजे नै हिट्स एफएममा बज्ने लोकगीत सुन्न राती चाँडै सुतिन्थ्यो पो ! अनि पाँच बजेपछि एचबिसी एफएममै बज्ने नारायण भण्डारीको त्रिवेणी सुनेर मुलुकका कति ठाउँ ओछ्यानबाटै घुमियो (अहिले गुगलबाट घुमेजस्तो?)
अनि दिउँसो बुद्धि विश्वकर्माको चक्रपथ नसुनेको दिन हुन्थेन, बेलुका सगरमाथा एफएममा बज्ने आजका कुराको नियमित स्रोतामात्रै बनिएन समसामयिक घटनाक्रम प्रती त्यसले त्यहिबेला हो चासो वृद्धि हुन थालेको ।
समय एकनास कहाँ हुन्थ्यो र है ! जानीनजानी साइन्स पढ्न थालेको मान्छे पत्रकारिता पढ्न एक बर्षको पढाइ माया मारेर त्रिचन्द्र छाडेर आरआर कलेज जाँदासम्म थाहा थिएन रेडियो जिन्दगीको अभिन्न अंग बन्छ भन्ने । २०६१ सालमा इमेज एफएम, अनि २०६४ सालमा नेपाल एफएमको जिल्ला संवाददाता हुँदाको फुर्ती सम्झँदा अझै रोमान्चित पो भइन्छ त !
२०६४ सालमा पहिलो संविधानसभाको चुनाव हुँदा नेपाल एफएममा मतपरिणाम अपडेट गराउन रातभर धुलिखेल नगरपालिकाको चौरमा बसेको अझै याद आउँछ । अनि एनालग रेकर्डरमा भक्सपप लिएर, फोनबाटै रिपोर्ट पढ्दै बीचबीचमा रेकर्डर बजाएर रिपोर्ट बनाएको हिजैजस्तो लाग्छ । अहिले पो मोबाइलबाटै दस मिनेटमा सबै रिपोर्ट तयार हुन्छ ।
मैले रेडियो छाड्न सकिन या रेडियोले मलाई ?? २०६७ सालमा लहैलहैमा अग्रज व्यक्तित्व अशोक व्याञ्जुको नेतृत्वमा साथीभाई मिलेर रेडियो स्थापना गरियो । दु:खले खोलेको रेडियो प्राइम एफएम अहिले ११ बर्षको उमेरमा हिडिरहेको छ । रेडियो खोल्दाका नियमित स्रोता आज पनि मनमा छन् रहिरहन्छन् । भलै अहिले पहिलेजस्तो रेडियोको क्रेज नहोला, तर सूचना समाचारकोअ अभरपर्दो माध्यम आज पनि रेडियो नै बनेको छ । समयसँगै सुन्नेमात्र होइन हेर्ने रेडियो पनि आइसके । समय अनुसार स्रोताको चाहना परिवर्तन भएको छ, हुने क्रम अझै जारी रहन्छ । हामी पनि समयसँगै हिड्न सकेनौं भने कुनैबेला रेडियोहरू इतिहासमा सीमित नहोलान् भन्न सकिन्न । तर आजको मितिसम्म शहरी क्षेत्रमा अलि कम भए पनि गाउँमा रेडियो सुन्नेको संख्या उस्तै छ (यो मेरो व्यक्तिगत दाबी होइन, लकडाउनको बेला भएका सर्वेक्षणले बताएको कुरा हो)
अन्तमा !
२००७ सालमा विराटनगर जुटमिलबाट प्रशारण भएको नेपालको पहिलो रेडियो, अनि अहिले मुलुकभर रहेका ६ सय भन्दा बढी रेडियो यी सबैले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा खेलेको भूमिका नभुलौं, जानी नजानी हामीले सिर्जना गरेका विकृति अन्त्य गर्दै आगामी कैयौं पुस्ताले रेडियो सुन्ने आधार खडा गरौं ।
विश्व रेडियो दिवसको अवसरमा रेडियो सुन्ने र सुनाउने सबैलाई शुभकामना ! ?
(तस्वीर : https://ramblingbog.wordpress.com)
प्रतिक्रिया



थप समाचारहरु

 

म सियो खोजीरहेछु

 

अनामिका सजलका तीन गजल

 

धर्म ठूलो कि विज्ञान?

 

कविता– रोईरहेको छ मेरो मेलम्ची

 

कोरोना : मेरो भोगाई !