कार्यकर्ताहरु गलत प्रवृतिका बिरुद्धमा लाग्नुपर्छ– नेता बाँस्कोटा


 Mechikali 

बनेपा– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले पार्टीका नेता कार्यकर्ताहरु गलत प्रवृतिका बिरुद्धमा लाग्नुपर्ने बताउनुभएको छ । नेकपा बनेपा नगरपालिका ५ नम्बर वडा कमिटिले आईतबार बनेपामा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कम्यूनिष्ट पार्टीका नेता र कार्यकर्ताहरु गलत प्रवृतिका बिरुद्धमा सहीको पक्षमा लाग्नुपर्ने बताउनुभयो ।
नेता बाँस्कोटाले पार्टीका नेता कार्यकर्ताहरुले नेतृत्वको मुख भन्दा पनि देशको अवस्था हेर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । ‘हामी विकास हेर्ने की, विनाश, राष्ट्रियता वा बिखण्डन के रोज्ने हो’ उहाँले थप्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीले चुनावमा हार व्यहोरेको खण्डमा विकास र राष्ट्रिय स्वाधिनताको रक्षा अरु कसैले गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचन २०६४ सालको संविधान सभाको निर्वाचनमा भन्दा ६० करोड रुपियाँ कम बजेट खर्च हुने दावी गर्नुभयो ।
पूर्व मन्त्री समेत रहनुभएका नेता बाँस्कोटाले आगामी निर्वाचनका लागि ७ अर्ब १० करोड रुपियाँ खर्च लाग्ने भन्दै निर्वाचन आयोगले रकमको माग गरेको बताउनुभयो । उहाँले कालापानीमा विदेशी सैनिकहरुले मार्चपास गरेको हेर्ने प्रधानमन्त्री नचाहिएको बताउँदै रेल र तेलको सपना नदेख्ने प्रधानमन्त्री काम नलाग्ने बताउनुभयो । आफुहरुसँग विकासका विभिन्न सोचहरु रहेको र उक्त सोचहरु समेत पुरा हुँदै गएको दावी गर्नुभयो । उहाँले धुलिखेलदेखि बनेपाको बासुकीपार्कसम्म करिब १० हजार वटा सिँढी बनाउने कामको सुरुवात समेत भएको बताउनुभयो ।
उहाँले काभ्रे जिल्लामा दुई हजारभन्दा बढी मानिसहरु अट्ने सभा हल नभएकोले बनेपामा दुई हजारभन्दा बढी मानिस अट्ने क्षमताको नगर सभा हल समेत आवश्यक रहेको बताउनुभयो । उहाँले नगर सभा हल निर्माणको लागि जग्गाको खोजी गर्ने कार्य समेत सुरुवात गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले पार्टीले विपन्न, निमुखा वर्गलाई समेट्ने खालका कार्यक्रमहरु अघि बढाउने बताउनुभयो । उहाँले पार्टीलाई बलियो बनाउनका लागि पार्टी कमिटिहरु पुर्नगठन तथा बिस्तारको कामहरु अघि बढाएको बताउनुभयो । उहाँले युवा, महिला, किसान, दलितलगायतका जनवर्गिय संगठनहरु निर्मँण गर्ने काम भईरहेको बताउनुभयो । कार्यक्रममाा नेकपाका केन्द्रीय सदस्य तथा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिं बादेलगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु