फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिँदै प्रहरी


 Mechikali 

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले फरार प्रतिवादी पक्राउ अभियानलाई तिव्रता दिएको छ । विभिन्न मुद्धामा संलग्न भई अदालतको फैसलापछि कैद सजाँय तथा जरिवाना नतिरी फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न अदालतले पत्राचार गरेपछि प्रहरीले अभियान नै सञ्चालन गरी प्रतिवादी पक्राउ गर्ने काम अघि बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भुपेन्द्रबहादुर खत्रीले प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेको र सोही अनुरुप काभ्रेमा समेत फैसला कार्यान्वयन अभियान अन्र्तगत फरार प्रतिवादी पक्राउ अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले जिल्लामा रहेका फरार प्रतिवादीलाई पक्राउ गर्नको लागि जुनियर अफिसरको कमाण्डमा टोली नै बनाएर पक्राउ अभियान अघि बढाइएको बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालयका साथै मातहतका प्रहरी चौकीहरुलाई फरार प्रतिवादी पक्राउ गर्न पत्राचार समेत गरिएको बताउनुभयो ।
‘हामीले काभ्रेमा फरार प्रतिवादीहरु पक्राउ गरी फरार रहेका प्रतिवादीको सङ्ख्या शुन्यमा झार्ने लक्ष्य लिएका छौँ’ प्रहरी उपरीक्षक खत्रीले भन्नुभयो । उहाँले जघन्य अपराधमा संलग्न भएका र धेरै जरिवान तथा कैद सजाँय तोकिएका प्रतिवादीहरुलाई प्राथमिकतामा राखेर पक्राउ अभियान चलाइएको बताउनुभयो । काभ्रेमा चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि फागुन १३ गतेसम्म ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार हालसम्म १८ वटा विभिन्न मुद्धामा संलग्न भई अदालतको फैसला तथा आदेशपछि फरार रहेका ३२ प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनसुार हालसम्म लागु औषध, जातीय छुवाछुत तथा भेदभाव, लेनदेन बिगो मुद्धामा संलग्न भइ फरार रहेका तीन÷तीन जना, जालसाजीमा पाँच जना, चोरी, लुटपिट, चेक अनादर, केही सार्वजनिक अपराध मुद्धामा संलग्न दुई÷दुई जना प्रतिवादीलाई पक्राउ गरेको हो । यसैगरी बैङ्किङ कसुर, करार, कर्तव्य ज्यान, कुटपिट, बनपैदावर हानी नोक्सानी, सवारी दुघर्टनाबाट अङ्गभङ्ग, ठगी, घर भत्काई पाउँ, सवारी ज्यान÷सरकारी छाप दस्तखत किर्ते र घरेलु हिंसामा एक÷एक जना फरार प्रतिवादी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वय गर्ने क्रममा सबैभन्दा बढी फागुन महिनामा १६ जना, मङ्सिर महिनामा आठ जना, असोज महिनामा छ जना, साउन र माघ महिनामा एक÷एक जनालाई पक्राउ गरेको हो । चालु आर्थिक वर्षमा फैसला कार्यान्वय गर्न अदालतले ९८७ जना फरार प्रतिवादी पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । गत वर्ष प्रहरीले फरार रहेका ५० प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयका लागि अदालतमा पेश गरेको थियो ।

प्रतिक्रिया



थप समाचारहरु