पहिलो चरणमा छ हजार सात सयलाई कोरोना विरुद्धको खोप


 Mechikali 

काभ्रे– काभ्रेमा पहिलो चरणको खोप कार्यक्रम अन्र्तगत पहिलो र दोस्रो प्राथमिकतामा परेका छ हजार ७८९ जनालाई कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जिल्लामा कोरोना सङ्क्रमणको समयमा अग्र भागमा रहेर काम गर्ने व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइएको जनाएको छ ।
कार्यालयका अनुसार पहिलो चरणको खोप कार्यक्रममा पहिलो प्राथमिकतामा रहेका तीन हजार ४९४ जनालाई कोरोना बिरुद्धको खोप लगाइको छ । जसमा जिल्लामा रहेका २ हजार २०२ जना स्वास्थ्यकर्मी, २२२ जना अन्य कर्मचारी, ५३३ महिला स्वास्थ्य स्वयम्सेविका, ९६ जना सरसफाईकर्मी, ३५ जना एम्बुलेन्स चालकहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइएको हो । यस्तै १६४ जना सुरक्षाकर्मी, २३० जना कैदीबन्दी र १२ जना जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको कोभिसिल्ड खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले कोरोनाको समयमा अग्र भागमा रहेर काम गर्ने तीन हजार ५८१ जनालाई कोरोना बिरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा तीन हजार ४९४ जनालाई खोप लगाएको थियो । कार्यालयका अनुसार पहिलो चरणको खोप कार्यक्रममा दोस्रो प्राथमिकतामा रहेका तीन हजार २९५ व्यक्तिलाई कोरोना विरुद्धको खोप लगाइको जनाएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार दोस्रो प्राथकिमतामा खोप पाउनेका पहिलो चरणमा छुट भएका ४६६ जना स्वास्थ्यकर्मी, ६१८ जना स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, ७२० जना निजामती सेवाका कर्मचारीलाई खोप लगाएको छ ।
त्यसैगरी ४७३ जनपथ प्रहरी, २०८ जना शसस्त्र प्रहरी (बोर्डरमा खटिएका), ५२३ जना बैँक तथा वित्तिय संस्थाका कर्मचारी, १७६ जना प्राधिकरण तथा संस्थानका कर्मचारीहरुलाई खोप लगाइएको छ । यसैगरी २४ जना न्याय सेवा समूहका कर्मचारी, ८१ जना सञ्चारकर्मी, दुई जना एम्बुलेन्स तथा शव वहान चालक तथा सहचालक र चार जना शव व्यवस्थापनमा प्रत्यक्ष खटिने व्यक्तिहरुलाई खोप लगाइएको छ । काभ्रेका पहिलो चरणको खोप धुलिखेल अस्पताल र मेथिनकोट प्रादेशिक अस्पतालमा लगाइएको हो ।

प्रतिक्रिया



थप समाचारहरु