काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढ्यो


 Mechikali 

बनेपा– काभ्रेली उद्योगी, व्यवसायीहरुको छाता संगठन काभ्रे उद्योग बाणिज्य संघमा चुनावी सरगर्मी बढेको छ । संघको ४१ औँ साधारण सभाले नयान नेतृत्व चयन गर्ने भएसँगै काभ्रेमा उद्योगी, व्यवासीहरुबीच ब्यापक चुनावी चहलपहल बढेको हो । काभ्रेली उद्योगी, व्यवसायीहरु दुई गुटमा विभाजित भएर चुनावी प्रक्रियामा अघि बढेका छन् । विगत २१ वर्षदेखि काभ्रे उद्योग बाणिज्य संघमा निरन्तर रुपमा रहँदै आएका संघका वर्तमान उपाध्यक्ष राजेन्द्र पसछे र बसन्तकुमार भोक्षिभोयाले छुट्टाछुट्टै समूह खडा गरी चुनावी मैदानमा उत्रिएका हुन् ।
पसछेको प्यानलबाट उपाध्यक्षमा स्वयम्भू शाक्य, महासचिवमा रविन्द्र बैदार, सह–सचिवमा विज्ञान धौभडा, कोषाध्यक्षमा रजित पलाञ्चोके, सह–कोषाध्यक्षमा सुविन राजभण्डारी, सह–मुख्य संयोजकमा रुसन श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यता भोक्षिभोयाको प्यानलबाट उपाध्यक्षमा ग्रुवेन तौजले, कैलाश पलाञ्चोके, महासचिवमा विकास शर्मा तिमल्सिना, कोषाध्यक्षमा कृष्णकुमार श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।
चुनावी माहोल र आफ्नो प्यानल विजयी गराउनका लागि पसछे प्यानले बनेपाको तरकारी बजारमा रहेको नमोबुद्ध पार्टी बैन्वेट र भोक्षिभोया प्यानलले बनेपामा रहेको बनेपा पार्टी भेन्यूमा आ–आफ्ना कार्यक्रमहरु राख्दै आएका छन् । अध्यक्ष पदका उम्मेदवार पसछेलाई संघका पूर्व अध्यक्षहरु कृष्णगोपाल भैल, पूर्ण पलाञ्चोके, लक्ष्मीलाल राजभण्डारी, दियशरत्न शाक्यको समर्थन रहेको छ भने भोक्षिभोयालाई वर्तमान अध्यक्ष प्रकाश मानन्धर र पूर्व अध्यक्ष सुरकृष्ण बैँद्यको समर्थन रहेको छ ।
अध्यक्षमा उम्मेदवार पसछेले आफ्नो प्यानल विजयी भएको खण्डमा जिल्लामा रहेका उद्योगी, व्यवसायीहरुलाई जानकारी नभएको कर, भ्याट तथा अन्य विषयमा सचेतना कार्यक्रमहरु अघि बढाउनुको साथै सबै व्यवसायीहरुलाई साथमा लिएर व्यवसायीहरुको हितमा काम गर्ने बताएका छन् । यसैबीच अध्यक्षका अर्का उम्मेदवार भोक्षिभोयाले कोभिडका कारण थिलथिलोमा रहेको उद्योग, व्यवासायलाई बलियो बनाउनका लागि आफ्नो प्रयास रहने बताएका छन् ।

प्रतिक्रिया



थप समाचारहरु