धमाधम निर्माण हुँदै ठुला सिञ्चाई आयोजना


 Mechikali 

काभ्रे– कृषि पेशामा आवद्ध भएका किसानहरुलाई सिञ्चाई सुविधा प्रदान गरी कृषि उत्पादकत्व बढाउने उद्देश्यले काभ्रेका विभिन्न स्थानमा ठुला सिञ्चाई आयोजनाहरुको काम धमाधम भईरहेको छ । सङ्घीय र प्रदेश सरकारको सहयोगमा सिञ्चाई आयोजनाको काम भईरहेको हो ।
सङ्घीय सरकारमार्फत एसियाली विकास बैँकको सहयोगमा काभ्रेको पाँचखाल नगरपालिका र धुलिखेल नगरपालिकामा समुदायमा व्यवस्थित सिञ्चित कृषि क्षेत्र आयोजना अन्र्तगत पाँचखालमा टटले मकले सिञ्चाई आयोजना र धुलिखेल नगरपालिका–११ मा धिताल खोला सिञ्चाई आयोजनाको काम भईरहेको हो । जलस्रोत तथा सिञ्चाई विकास डिभिजन कार्यालय काभ्रेका सूचना अधिकारी ई. बिनोद पन्तले बहुबर्षीय आयोजनाको रुपमा रहेका दुई आयोजनाको काम भइरहेको बताउनुभयो । उहाँले टटले मकले सिञ्चाई आयोजनाको कुल लागत चार करोड ७३ लाख ४५ हजार ८ सय रहेको र उक्त आयोजनाबाट एक सय ७३ घरधुरीको एक सय हेक्टर जमिन सिञ्चाई हुने र त्यसबाट ९०५ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो ।
यसैगरी धिताल खोला सिञ्चाई आयोजनाको कुल लागत तीन करोड २८ हजार रहेको र उक्त आयोजनाबाट १३२ घरधुरीको ७२ हेक्टर जमिनमा सिञ्चाई पुग्ने छ भने ८१६ जना लाभान्वित हुनेछन् । यसैगरी सङ्घीय सरकारको सहयोगमा मझौला सिञ्चाई आयोजना अन्र्तगतको सबैभन्दा ठुलो खहरे पाँग्ु सिञ्चाई आयोजनाले रोशी गाउँपालिका–१, २ का २१९ घरधुरीको ११५ हेक्टर जमिनमा सिञ्चाई हुनेछ भने त्यसबाट एक हजार ५३३ जनासङ्ख्या लाभान्वित हुनेछ । यस आयोजनाको कुल लागत ६ करोड ६२ लाख ७१ हजार रहेकोमा यस वर्ष एक करोड ५० लाख रकम विनियोजन भएको छ ।
त्यसैगरी सङ्घीय सरकारमार्फत सिञ्चाई पुर्नस्थापना आयोजना अन्र्तगत कुवेत फण्डको सहयोगमा धुलिखेल नगरपालिका–२ मा निर्माण भइरहेको सिस्नेखोला सिञ्चाई आयोजनाले पाँचखाल नगरपालिका–३, ४ र ७ का ३४१ घरधुरीको १५० हेक्टर जमिनमा सिञ्चाई हुनेछ भने त्यसबाट २ हजार ३१ जना लाभान्वित हुनेछन् । यो आयोजनाको कुल लागत नौ करोड ८८ लाख ७३ हजार रहेको छ । सञ्चालन हुन लागेकोमध्ये यो सबैभन्दा ठुलो योजना रहेको ई. पन्तले बताउनुभयो । उहाँले चालु वर्षका लागि सङ्घीय सरकारमार्फत २५ वटा योजनाको लागि १२ करोड ४२ लाख १० हजार रकम विनियोजन भएको बताउनुभयो ।
डिभिजन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि प्रदेश सरकारबाट आधा दर्जन ठुला योजना र अन्य साना गरी ३४ वटा सिञ्चाई योजनाको लागि १५ करोड ७२ लाख ३६ हजार रकम विनियोजन भएको छ । प्रदेश सरकारले रकम विनियोजन गरेकामध्ये चाखोला–किर्तेटार चौतारा सिञ्चाई योजना मण्डनदेउपुर, तेमाल ८ लिफ्ट सिञ्चाई आयोजना तेमाल गाउँपालिका–८, चाखोला मुहाने ढाइटार सिञ्चाई आयोजना मण्डनदेउपुर–३, ४ रहेका छन् ।
यस्तै चाखोला चिते सिङ्गे चैनपुर सिञ्चाई आयोजना मण्डनदेउपुर–३, ४, शिखर कटेरी सिञ्चाई आयोजना धुलिखेल नगरपालिका–२ र देविटार गल्टार सिञ्चाई आयोजना महाभारत गाउँपालिका–१ रहेको छ । कार्यालयका अनुसार प्रदेश सरकारले जिल्लामा रहेका अन्य एक दर्जन विभिन्न सिञ्चाई आयोजनाको मर्मतसम्भारका लागि करिब ७० लाख रकम समेत विनियोजन गरेको छ ।

प्रतिक्रिया



थप समाचारहरु