कर्मचारीको काम गर्ने चिन्तनमा परिवर्तन आएन–मुख्यमन्त्री पौडेल


 Mechikali 

काभ्रे– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले कर्मचारीतन्त्रमा काम गर्ने चिन्तनमा कुनै परिवर्तन नआएको बताउनुभएको छ । काभ्रेको धुलिखेलमा आयोजितस्थानीय तहका प्रमुखहरुका लागि सार्वजनिक खरीद व्यवस्थापन तथा सुशासन प्रवर्धन विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले कर्मचारीमा सरकारलाई सहयोग गर्नुपर्छ, सरकारको लक्ष्य पुरा गरी सरकारलाई सफल बनाउनुपर्छ भन्ने सोच नै नरहेको बताउनुभयो ।
उहाँले बढुवाको लागि मात्रै प्रदेशमा कर्मचारी जाने गरेको बताउनुभयो । उहाँले बाध्यात्मक परिस्थितीमा प्रदेशमा जाने कर्मचारीमा कसरी राम्रो काम गर्ने भन्दा पनि कहिले वर्ष दिन पुग्ला र हिँडौ भन्ने सोच हावी रहेको आरोप लगाउनुभयो । मुख्यमन्त्री पौडेलले ९५ प्रतिशत मानिसमा परिवर्तनको आकाँक्षा नै नरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले संघीय सरकारले अघि सारेका लक्ष्यलाई सफलताको साथ पुरा गर्ने प्रत्यन्त गरेपनि विभिन्न संरचनागत, कानुनी जटिलताका कारण अवरोध श्रृजना भएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ५५ प्रतिशत कर्मचारी अभावमा पनि काम गरिरहेको बताउँदै पछिल्लो समय प्रदेश लोक सेवा आयोगले स्थानीय तहमा आवश्यक पर्ने कर्मचारी आपूर्ति गर्नको लागि लागिरहेको बताउनुभयो ।
उहाँले प्रदेश सरकार गठन हुँदा प्रदेश सरकारको लागि आवश्यक पर्ने पूर्वाधार, कानुन नभएको र सबै कुरा आफैले निर्माण गर्नुपर्ने भएकोले आफुहरुले अपेक्षा गरे अनुसार काम गर्न नसकिएको स्विकार गर्नुभयो । उहाँले सार्वजनिक खरिद ऐनका कारण देशका विकास निर्माण लगायतका काम गर्न समस्या भएको बताउनुभयो । उहाँले पटक÷पटक ऐन संशोधन गरिएपनि चुरो कुरा संशोधन नभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले सार्वजनिक खरिद ऐनमा भएका ब्यवस्थाका कारण स्थानीय सरकारहरुलाई काम गर्न समस्या भएको बताउनुभयो । उहाँले सरल प्रक्रियाबाट काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले संघीय सरकारले स्थानीय र प्रदेश सरकारको अधिकार खोसेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव चक्रवर्ती कंठले बागमती प्रदेशका स्थानीय तहका प्रमुखका साथै सार्वजनिक खरिदमा संलग्न हुने इन्जिनियर, लेखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरुलाई तालिम प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक बिमल पोखरेलले बागमती प्रदेशका १३ वटै जिल्लाका स्थानीय तहका प्रमुखहरुलाई सार्वजनिक खरिद ऐन, सुशासन र लेखा परीक्षणका हुने गरेका समस्याको बारेमा जानकारी दिइने बताउनुभयो । उहाँले दुई महिनामा बागमती प्रदेशका एक सय १९ स्थानीय तहमा पत्रचार गर्दा सार्वजनिक खरिद ऐन, महालेखाबाट हुने लेखा परीक्षणको विषयमा समस्या भएको पाइएको बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु