जनताको स्वास्थ्यमा असर गर्ने उद्योग राख्न दिइन्न– मेयर तिमल्सिना


 Mechikali 

भकुण्डे– काभ्रेको नमोबुद्ध नगरपालिकाले जनताको स्वास्थ्य र जीवनलाई असर हुने गरी कुनै पनि उद्योग स्थापना गर्न नदिने जनाएको छ । बिहिबार भकुण्डेमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले नमोबुद्ध नगरपालिका उद्योग बिरोधी नभएको बताउँदै नगरपालिका वातावरणमैत्री, उद्योगमैत्री रहेको बताए । उनले नगरलाई उद्योगमैत्री बनाउने नाममा जनताको स्वास्थ्यमा खेलवाड हुने र असर गर्ने कुनै पनि उद्योग स्थापना गर्न नदिने बताए ।
उनले नगरपालिकाको भकुण्डे क्षेत्रमा कुनैपनि हालतमा ईट्टा उद्योगहरु स्थापना हुन नदिने बताए । उनले पछिल्लो सयम नगरपालिकामा जनप्रतिनिधी नभएको र कर्मचारी नभएको समयमा सत्यनारायण ईट्टा उद्योगले ईट्टा पार्न र पोल्न सुरु गरेको आरोप लगाए । उनले आफुहरुले पटक÷पटक सूचना गरेर नगरभित्रको भकुण्डे क्षेत्रमा ईट्टा उद्योग स्थापना नगर्न निर्देशन दिएपनि रातारात उद्योग खडा गरिएको बताए । उनले सर्वोच्च अदालतले गर्ने निर्णय मान्न आफुहरु तयार रहेपनि अदालतले न्याय दिन ढिलाई गरेको बताए । उनले नगरपालिका र उद्योगीबीच भकुण्डे बजारभन्दा अन्तै उद्योग राख्न सहजीकरण गर्ने सम्झौता भएपनि उद्योगीहरुले उक्त सम्झौता कार्यान्वयन नगरेको आरोप लगाए । उनले ईट्टा उद्योगको बारेमा कार्यपालिकाभित्र छलफल गर्न समिति तय गरिएको बताउँदै चैत १८ गते बस्ने नगर सभाको म्याण्डेटपछि नगरपालिको अघि बढ्ने बताए ।
नगर प्रमुख तिमल्सिनाले नगरभित्र उद्योग कहाँ राख्ने, कृषि क्षेत्र कहाँ बनाउने, स्कुल, कलेज कहाँ राख्ने भन्ने विषय स्थानीय तहको क्षेत्राधिकारको विषय भएको बताए । उनले ईट्टा उद्योगको समस्या नमोबुद्ध नगरपालिकाको मात्रै नभई सिङ्गोमुलुकको वातावरण संरक्षणको विषय रहेको बताए । उहाँले नगरभित्र रहेको ईट्टा उद्योग हटाउने विषयको मुद्दाको बारेमा बोल्दा र वातावरण संरक्षणमा लाग्दा मानहानी हुने भए मानहानीको मुद्दा समेत बोक्न आफु तयार रहेको तिमल्सिनाले बताए ।
नगरपालिकाको वडा नम्बर २ र ३ मा स्थापना भएका ईट्टा उद्योगहरु बिस्थापन गर्ने विषयमा विभिन्न समयमा भएका वार्ता तथा सम्झौताहरु कार्यान्वयन नगरेपछि २०७६ भदौ ८ र ९ गते भकुण्डे क्षेत्रमा रहेका आठ वटा उद्योगको चिम्नी भत्काउने लगायका कामहरु गरेको थियो । नगरपालिकाले उद्योगको चिम्नी भत्काउने र उद्योग बिस्थापन गर्ने काम गरेपछि उद्योगीहरुले २०७६ भदौ १० गते रिट निवेदन दर्ता गरेका थिए ।
उद्योगीहरुले सर्वोच्च अदालतमा दायर गरेको रिट विचाराधिन रहेकै अवस्थामा सम्झौता र नगरपालिकाको निर्णय विपरित उद्योगहरुले पुनः ईट्टा उद्योग सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरेपछि नगरपालिकाले सर्वोच्च अदालतमा उद्योगीहरु बिरुद्ध रिट निवेदन दर्ता गराएको थियो । नगरपालिकाले दायर गरेको रिट निवेदन पनि हालसम्म पनि विचाराधिन नै रहेको छ । नगर प्रमुख तिमल्सिनाले ईट्टा उद्योग विस्थापन गर्दा लाग्ने रकम उद्योगीहरुले व्यहोर्ने सम्झौता भएपनि उक्त रकम नबुझाएपछि नगरपालिकाले जिल्ला अदालत काभ्रेमा फिराद पत्र समेत दर्ता गराएको र उक्त मुद्दा समेत विचाराधिन अवस्थामा रहेको बताए ।

 

प्रतिक्रिया



थप समाचारहरु