भुतपूर्व सैनिक सम्मेलनमा ह्विलचेयर र बैशाखी हस्तान्तरण


 Mechikali 

धुलिखेल– नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको ब्यवस्थापनमा काभ्रे जिल्लामा बसोबास गर्ने भुतपूर्व सैनिकहरुको सम्मलेन धुलिखेलमा सुरु भएको छ । धुलिखेलमा रहेको कालीजङ्ग गणमा बुधबारदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनमा काभ्रेमा बसोबास गर्ने भुतपूर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिलाहरुको उपस्थिती रहेको छ । बुधबारबाट सुरु भएको सम्मेलन चैत २२ गतेसम्म दैनिक रुपमा चल्नेछ ।
सम्मेलनको पहिलो दिन बुधबार नेपाली सेनाको २६ नम्बर बाहिनी अड्डा भकुण्डेबेशीका बाहिनीपति सहायक रथी विष्णु राउतले अपाङ्गता भएका भुतपूर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिलालाई ह्विल चेयर, बैशाखी तथा नगद रकमको चेक हस्तान्तरण गर्नुभएको थियो । उक्त अवसरमा भुतपूर्व सैनिक नरहरी गौतम, लोनम तामाङ, ज्ञानी श्रेष्ठ, जुद्धमाया नेपाल, गेहेन्द्रकुमारी बस्नेत, कृष्ण कार्की र राधाकुमारी थापालाई ह्विल चेयर तथा भुतपूर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिला रामबहादुर तामाङ, सिता राउत, यज्ञबहादुर थापा र गणेश सिञ्जाली थापा मगरलाई बैशाखी हस्तान्तरण गर्नुभएको थियो ।
सम्मेलनमा ह्विल चेयर प्राप्त गर्ने अपाङ्गता भएका भुतपूर्व सैनिक तथा सैनिकका एकल महिलालाई नेपाल इन्भेष्टमेन्ट बैँकबाट सहयोग स्वरुप उपलब्ध गराइएको नगद पाँच हजार रुपियाँको चेक समेत हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सहायक रथी राउतले नेपाली सेनाको इतिहासमा भुतपूर्व सैनिकहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै सेनाले सञ्चालन गरेका कामहरुको बारेमा जानकारी आवश्यक भएको खण्डमा नजिकै रहेको सेनाको ब्यारेकमा गई सैनिक कल्याणकारी बोर्डले सञ्चालन गरेका गतिविधि तथा विभिन्न योजनाको बारेमा जानकारी लिन सक्ने बताउनुभयो ।
बुधबारबाट सुरु भएको सैनिक सम्मेलनको पहिलो दिन एक सय छ जना र बिहिबार करिब तीन सय जना भुतपूर्व सैनिक तथा सैनिकका एकल महिलाहरुको उपस्थिती रहेको काली जङ्ग गढ धुलिखेलका गणपति प्रमुख सेनानी मिलन थापाले जानकारी दिनुभयो । उहाँले काभ्रेका करिब दुई हजार सात सयको हाराहारीमा भुतपूर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिला रहेपनि गढमा दुई हजार ३३६ जनाले मात्रै नाम दर्ता गराएको बताउनुभयो । सम्मेलनमा सहभागि भुतपूर्व सैनिक तथा भुतपूर्व सैनिकका एकल महिलालाई एक थान ब्ल्याङकेट, प्राथमिक उपचारको समान (फस्ट एड किट) र नेपाली सेनाको क्याप टोपी प्रदान गरिएको थियो ।

प्रतिक्रिया



थप समाचारहरु