मालपोतमा एकद्धार र टोकन प्रणाली लागु


 Mechikali 

धुलिखेल– मालपोत कार्यालय काभ्रेपलाञ्चोकले कार्यालयको कामलाई प्रभावकारी बनाउने उद्देश्यले काममा एकद्धार प्रणाली र टोकन प्रणाली लागु गरेको छ । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै कार्यालयको काममा एकद्धार र टोकन प्रणालीको सुरुवात गरिएको कार्यालयले जनाएको छ । कार्यालयले गत बुधबारदेखि यो प्रणाली लागु गरेको हो ।
काभ्रेका प्रमुख मालपोत अधिकृत लोकबहादुर भण्डारीले कार्यालय एउटै भएपनि जग्गा सम्बन्धी धेरै प्रकृतिका कामहरु हुने भएकोले कार्यालयमा सेवाग्राहीहरुको भिडभाड बढेकोले कार्यालयमा हुने भिडलाई नियन्त्रण गर्ने उद्देश्यले काममा एकद्धार र टोकन प्रणाली सुरु गरिएको बताउनुभयो । उहाँले एकद्धार प्रणाली र टोकन प्रणाली लागु गर्दा कार्यालयमा पहिला आउने पहिला सेवा प्राप्त गर्ने, कार्यालयको काममा व्यवस्थित र गुणस्तरीय बनाउन नयाँ प्रणाली सुरु गरिएको बताउनुभयो । ‘यो सेवा सुरु भएपछि कार्य सम्पादनका क्रममा हुने ढिलासुस्ती हट्नुको साथै सेवाग्राहीको जग्गा रजिष्ट्रेशन लगायतका कामहरु एकै कोठाबाट प्राप्त गर्ने भएकोले सेवाग्राहीले एउटै कामको लागि धेरै कोठा धाउनुपर्ने बाध्यता समेत हट्ने छ’ प्रमुख मालपोत अधिकृत भण्डारीले भन्नुभयो ।
मालपोत कार्यालयमा एकद्धारा प्रणाली लागु गर्नको लागि जग्गाको फाइलहरु सुरक्षित राख्नुपर्ने भएकोले तीन वटा रजिष्ट्रेशन शाखाहरुको लागि आवश्यक पर्ने वाल ¥याक निर्माणको लागि जिल्लाको धुलिखेल, बनेपा र नमोबुद्ध नगरपालिकाले पाँच÷पाँच लाख बराबरको सहयोग उपलब्ध गराएको कार्यालयले जनाएको छ । यसैगरी जिल्लाको रोशी गाउँपालिकाले चार लाख रुपियाँ बराबरको टोकन मेसिन सहयोग उपलब्ध गराएको प्रमुख मालपोत अधिकृत भण्डारीले बताउनुभयो । कार्यालयले तीन वटा रजिष्ट्रेशन शाखाबाट जग्गा रजिष्ट्रेशन, मोठको काम, जग्गा रोक्का, फोटो खिच्ने र त्यही एउटै कोठाबाट नै पुर्जा दिने काम समेत हुनेछ ।
एकद्धारा प्रणाली लागु गर्नुभन्दा पहिले जग्गा पास गर्ने अधिकृत एउटा कोठामा, जग्गा रजिष्ट्रेशन गर्ने कोठा छुट्टै, मोठ भिडाउने कोठा छुट्टाछुट्टै हुँदा सेवाग्राहीले ढिलो सेवा पाउने गरेको र एकद्धार प्रणाली लागु भएपछि सबै सेवा एउटै कोठााबाट उपलबध गराउने भएपछि सेवा प्रवाह समेत प्रभावकारी हुने भण्डारीले बताउनुभयो । उहाँले कार्यालयको क्यान्टिन ब्यवस्थापनको लागि पनौती नगरपालिकाले पाँच लाख रुपियाँ बराबरको सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभयो । एकद्धार प्रणाली र टोकन प्रणालीबाट दैनिक रुपमा कति जनालाई सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा लेखापढी व्यवसायीहरुसँग सल्लाह गरिने बताउनुभयो । कार्यालयबाट आजभोली दैनिक १५० देखि १६५ वटासम्म जग्गाको रजिष्ट्रेशन पास हुने गरेको छ ।
मालपोत कार्यालयले विभिन्न व्यक्ति र सङ्घसंस्थाको सहयोगमा सेवाग्राही मैत्री बनाउनका लागि कार्यालय परिसरभित्र प्रतिक्षालय निर्माण, परिसरभित्र सेवाग्राहीको लागि टिभी जडान, सेवाग्राहीको लागि हात धुने व्यवस्था, कार्यालय परिसरमा बगैँचा निर्माण र गमला राख्ने स्ट्याण्ड, सेवाग्राही बस्नको लागि मेचको ब्यवस्था समेत गरेको छ । उहाँले कार्यालयलाई समयसापेक्ष अघि बढाउनका लागि मन्त्रालय र विभागको अवधारणा अनुरुप प्रविधिमैत्री र सेवाग्राहीमैत्री भएर कामहरु अघि बढाएको प्रमुख मालपोत अधिकृत भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया



थप समाचारहरु